काठमाडौँ, २२ फागुन – सर्वोच्च अदालतले वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज अवहेलना मुद्दामा डा केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेको हो । केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा दिएको अभिव्यक्ति अर्मादित, अशिष्ट, अशोभनीय भएको भन्दै आदेशमा भनिएको छ, ‘तँपाईले प्रयोग गरेका शब्द अदालतको अवहेलना हुने खालको छ कि छैन, तीनदिनभित्र अदालतमा उपस्थित भएर जवाफ दिनुस् ।’
डा केसीले प्रधानन्यायाधीशको राजीनामा माग्ने शव्द प्रयोग गर्दा अदालतको अवहेलना भएको उल्लेख गर्दै गोविन्द बोहोराले यही फागुन १६ गते अवहेलना मुद्दा दायर गर्नुभएको थियो ।
कान्तिपुर विरुद्धको मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा हुने
यसैगरी, सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुप विरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्ने भएको छ ।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यान दिँदै गहनतम छलफल गर्नुपर्ने भएको भन्दै बृहत् पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।
कान्तिपुर विरुद्धको मुद्दा माथिको सुनुवाइपछि अदालतले जारी गरेको आदेशमा भनिएको छ, ‘अदालतको अपहेलनासम्बन्धी विधिशास्त्रीय सिद्धान्त र यसको मान्यता एवम् व्यवहारमा यसको प्रयोग सम्बन्धमा बृहत् व्याख्याको यस इजलासले महसुश गरयो, गहनतम छलफल गर्नुपर्ने भएकाले मुद्दाको सुनुवाइ पूर्ण वा बृहत् पूर्ण इजलासबाट हुनुपर्ने देखिन्छ ।’
प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले अवहेलनाको मुद्दा दायर गर्नुभएको थियो । प्रधानन्यायाधीश पराजुलीको एकल इजालासले यही फागुन १३ गते अदालतको अपहेलना मुद्दामा कान्तिपुर ग्रुपलाई बयानका लागि ७२ घण्टाभित्र उपस्थित हुन आदेश दिएको हो ।
आदेशमा बयानका लागि म्याद नगुज्रने गरी ७२ घण्टाभित्र ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने पत्रकार कृष्ण ज्ञवालीलाई उपस्थित हुन भनिएको थियो । सोही विषयमा बयानपछि अदालतले बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने तय गरेको हो ।
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।