नयाँ शक्तिका प्रवक्ता देवकोटा माओवादी केन्द्रमा

काठमाडौँ-नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा मंगलबार आयोजित कार्यक्रममा प्रवक्ता देवकोटालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले रातो टीका लगाएर पार्टी प्रवेश गराए ।

सो अवसरमा अध्यक्ष दाहालले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताए । राजनीतिक स्थायित्व, समृद्धि र विकासको जनचाहना बुझेर एउटै शक्तिशाली कम्युनिष्ट केन्द्रको स्थापना गर्ने अभियान शुरु गरिएको उनको भनाइ थियो ।

दाहालले भने, ‘संविधानले नै व्यवस्था गरेको समाजवाद प्राप्तिका लागि सबै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली, सक्कली बनेर हुँदैन । पार्टीभित्रै बहस गरेर पार्टीलाई थप परिस्कृत गर्न सकिन्छ ।’

सो अवसरमा अध्यक्ष दाहालले नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलाई माओवादीमा फर्कन आग्रह गरे । अध्यक्ष दाहालले जनताले एकताको पक्षमा आदेश दिएको उल्लेख गर्दै भने, ‘पार्टी एकताका बारेमा तर्क गर्न खोज्दा के भनौ, के भनौ भयो भने जनताले एकता गर्न भनेका छन्, जनताको आदेश मान्नुपर्छ भन्नुहोला ।’

सो अवसरमा नवप्रवेशी नयाँ शक्तिका प्रवक्ता देवकोटाले डा भट्टराईको मनसाय राम्रो भए पनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री