
काठमाडौँ, १३ फागुन – पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले एकीकृत पार्टीको सैद्धान्तिक प्रस्ताव लेखन सोमबारदेखि शुरु गर्ने भएका छन् ।
एमाले नेता माधवकुमार नेपाल संयोजकत्वको वैचारिक दस्तावेज निर्माणसम्बन्धी कार्यदलको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले सो निर्णय गरेको हो । दुवै पार्टीको सैद्धान्तिक तथा वैचारिक पक्षलाई मिलाएर एकीकृत दस्तावेज बनाउन चार सदस्यीय उपसमितिसमेत गठन गरिएको माओवादी केन्द्रका प्रवक्ता एवं कार्यदल सदस्य पम्फा भुसालले जानकारी दिनुभयो । सो उपसमितिमा एमाले उपाध्यक्ष भीमबहादुर रावल र सचिव प्रदीपकुमार ज्ञवाली तथा माओवादी केन्द्रका तर्फबाट नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ सदस्य हुनुहुन्छ ।
एमालेले आत्मसात् गर्दै आएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले अंगीकार गर्दै आएको ‘माओवाद’ र एक्काइसौं शताब्दीको जनवाद’का साझा र आधारभूत विषयका आधारमा सैद्धान्तिक प्रतिवेदन तयार पारिनेछ । पार्टी एकताका लागि तयार पारिएको सातबुँदे सहमतिपत्रमा माक्र्सवाद र लेनिनवादलाई अंगीकार गर्ने विषय समेटिएकाले पनि कार्यदललाई सैद्धान्तिक प्रतिवेदन तयार पार्न सहज हुने बताइएको छ ।
आजको बैठकमा दुवै पार्टीको राजनीतिक दस्तावेज प्रस्तुत गरिएको बताउँदै प्रवक्ता भुसालले अन्तर्राष्ट्रिय र नेपालका कम्युनिष्ट आन्दोलन, भावी कार्ययोजना तथा समग्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाका बारेमा केन्द्रित रहेर प्रतिवेदन तयार पारिने जानकारी दिनुभयो ।
एमाले सचिव ज्ञवालीका अनुसार दुवै पार्टीको राजनीतिक दस्तावेज अध्ययन तथा संयोजन गरेर संयुक्त प्रतिवेदन तयार पारिनेछ । उहाँका अनुसार दुवै पार्टीको राजनीतिक प्रतिवेदन अध्ययन गरेर सोमबारदेखि दस्तावेज लेखन शुरु गरिने छ । दुवै पार्टीका सबै दस्तावेजलाई एकीकृत गरेर अध्ययन गर्ने र साझा धारणा बनाउने योजनामा कार्यदल छ । यही फागुन ७ गते दुई पार्टीले पार्टी एकताको सातबुँदे आधारपत्रमा हस्ताक्षर गरेका थिए । आधारपत्रमा हस्ताक्षरसँगै सैद्धान्तिक कार्यदल र विधान तथा संगठनात्मक कार्यदलसमेत गठन गरिएको थियो ।
सैद्धान्तिक प्रतिवेदन तयार पार्ने कार्यदलमा एमाले नेता नेपाल, उपाध्यक्ष रावल, सचिव ज्ञवाली र नेता सुवास नेम्वाङ र रघुजी पन्त तथा माओवादी केन्द्रका तर्फबाट नेता श्रेष्ठ, देवप्रसाद गुरुङ, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल र प्रवक्ता भुसाल सदस्य हुनुहुन्छ ।
यसैगरी एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनात्मक कार्यदलले संविधानप्रदत्त नेपालको संघीय संरचनानुसार नै पार्टीको संरचना तयार पार्ने तयारी गरेको छ । कार्यदलले केन्द्रमा स्थायी समिति वा पदाधिकारी, पोलिटब्यूरो, केन्द्रीय समिति, प्रदेश समिति, गाउँ वा नगर समिति र वडा समिति रहने प्रस्ताव गरेको छ । शनिबारदेखि नै सो कार्यदलले काम शुरु गरिसकेको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।
सो कार्यदलमा एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, नेता सुरेन्द्रप्रसाद पाण्डे, वेदुराम भुसाल र रघुजी महासेठ तथा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र मातृका यादव सदस्य हुनुहुन्छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा यही फागुन २५ गतेभित्र दुवै कार्यदललाई आफ्नो जिम्मामा परेको काम सक्न संयुक्त रुपमा नै निर्देशन दिनुभएको छ । दुवै कार्यदलले तोकिएको अवधिभित्रै काम सकेर प्रतिवेदन बुझाउने र यही फागुनको अन्तिम साताभित्रै एकीकृत पार्टीको घोषणा गर्ने तयारी गरिएको छ ।
सकेसम्म राष्ट्रपतिको निर्वाचनअगावै एकीकृत पार्टी घोषणा गर्ने तयारीमा दुई दल लागेका छन् । निर्वाचन आयोगले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचनको मिति तोकेको छ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न