
काठमाडौँ-तराई-मधेश द्रुतमार्गका लागि बाराको बागदेवमा डोजर र स्काभेटर प्रयोग गरी डाँडा कटान गरिँदै । तस्वीर – नारायण न्यौपाने, रासस
लेनडाँडा, मकवानपुर, २० माघ – नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ ।
काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको द्रुतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले इतिहास रच्ने ठूलो अवसरका रुपमा लिएको छ । पाँच स्थानबाट एकैसाथ काम अघि बढाइसकिएको प्रमुख सेनानी धर्मेन्द्रकुमार झाले जानकारी दिनुभयो । मक्खुबेंसी, कुलेखानी, लेडडाँडा, बुदुने र निजगढमा शिविर खडा गरेर रुख कटान गर्ने र हटाउने, सडकको रेखाङ्कन गर्ने र सडक निर्माण गर्ने कार्यलाई अघि बढाइएको छ । त्यस क्रमममा निजगढमा सात किमी क्षेत्रमा २७ मि फराकिलो द्रुत मार्गले एउटा आकार लिइसकेको छ ।
दर्जनौँको संख्यामा स्काभेटर, डोजर, लोडर र टिपर प्रयोग गरी सडकको रेखाङ्कन गरिएको क्षेत्रमा माटो कटान गर्ने, हटाउने, बाहिरबाट ल्याएर पुर्ने र सम्याएर त्यसको परीक्षण गर्ने काम अघि बढाइएको अर्का प्रमुख सेनानी भरतलाल श्रेष्ठले बताउनुभयो ।
प्रत्येक सात किमी क्षेत्रमा शिविर खडा गरेर कामलाई अघि बढाउने सन्दर्भमा निकट भविष्यमै थप पाँच स्थानमा अन्य शिविर खडा गरिने जनाइएको छ । राष्ट्रिय गौरवको द्रुतमार्ग आयोजना निर्माण अघि बढाउन २०० जनशक्ति खटाएर सहायकरथी भरतबहादुर खड्कालाई रुख कटाको जिम्मेवारी दिइएकामा टोलीले हालसम्म १५ हजार कटान गरी व्यवस्थापनसमेत गरिसकेको छ । झण्डै ११ किमी क्षेत्रमा रुख कटान भएको र अबको तीन महिनाभित्र रुखसम्बन्धी सबै काम पूरा हुने सहायकरथी खड्काले जानकारी दिनुभयो ।
द्रुतमार्ग निर्माण गर्न कसलाई दिने भन्ने विषयमा प्रमुख राजनीतिक दलबीच निकै ठूलो विवाद र बहसपछि सरकारले सेनालाई दिएको हो । उक्त राजमार्गको निर्माण लागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ । ललितपुरको खोकनाबाट शुरु भई बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने उक्त द्रुतमार्गको ट्रयाक पनि यसअघि सेनाले नै खनेको हो । उक्त राजमार्गमा साना ठूला गरी करिब १०० पुल निर्माण गरिनेछ ।
द्रुतमार्गमा निर्माण हुने पुलको लम्बाइ मात्र जोड्दा पनि नौ किमीभन्दा बढी हुने तथा मकवानपुरको ठिङ्गनमा १.४ किमी लामो सुरुङ निर्माण गर्नुपर्ने सेनानी विनोद श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको सहयोग लिएर सडक निर्माणलाई तीव्रता दिइनेछ ।’
निर्माण छिटो गर्न २४ क्षेत्रमा सडक विभाजन गरेर विदेशी तथा स्वदेशी निर्माण व्यवसायीका लागि बोलपत्र आह्वान गर्ने क्रममा नौ वटाको प्रक्रिया अघि बढिसकेको छ । उक्त आयोजना अघि बढाउने सन्दर्भमा सुरुङ निर्माण र अग्ला सात पुल निर्माणलाई भने सेनाले चुनौतीका रुपमा लिएको छ । ती पुल ८० मिसम्म अग्लो हुने अनुमान गरिएको छ । सडक निर्माणका लागि मात्रै पनि ३०० टन विस्फोटक पदार्थ आवश्यक पर्ने देखिएको छ । दायाँबायाँ ५० मि दिएर जग्गा अधिग्रहण गरिएको २७ मि चौडाइ हुने उक्त राजमार्ग चार लेनको हुने उक्त राजमार्गको निर्माणले नेपालको बृहत्तर विकासमा ठूलो योगदान पुग्नेछ । निजगढमा बन्ने अन्तरराष्ट्रिय विमानस्थलले सो सडकको महत्वलाई अझ उजागर गर्नेछ ।
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न