प्रधानमन्त्रीद्वारा शहीदमा श्रद्धाञ्जलि

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय लैनचौरस्थित शहीद स्मारकमा मंगलबार शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । तस्वीर – रोशन सापकोटा, रासस

काठमाडौँ, १६ माघ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय लैनचौरस्थित शहीद स्मारकमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

बिहान ८ बजे शान्तिबाटिका रत्नपार्कबाट शुरु भएको प्रभातफेरि प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोलीको सहभागितामा बिहान ९ बजे शहीद स्मारक पुगेको थियो ।

कार्यक्रममा रक्षामन्त्री, कामपाका प्रमुख, उपप्रमुख र वडाध्यक्षलगायतको सहभागिता थियो । सभाका एक सहभागी रेश्मा शाक्यले जुन कारणले शहीदले आफ्नो शरीरलाई बलिदान गरे त्यस किसिमको भावना बुझ्न नसकेसम्म उनीहरुप्रतिको सच्चा सम्मान नहुने बताउनुभयो ।

शहीद सप्ताहअन्तर्गत माघ १० गते टेकु खरीबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी भएको थियो । त्यस्तै माघ १३ गते धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा तथा माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभाभगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो ।

विसं १९९७ मा शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, माथेमालाई सिफलमा तथा माघ १३ गते र श्रेष्ठ एवं चन्दलाई माघ १५ गते शोभाभगवतीमा नागरिक आवाज उठाएवापत राणाशासकले मृत्युदण्ड दिएको थियो ।

शहीद दिवशमा ओलीको सन्देश

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध राष्ट्र निर्माणको महाभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान गर्नुभएको छ ।

शहीद दिवशका अवसरमा आज एक वक्तव्य जारी गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ ।

शहीदको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, संविधानसभाले संविधान जारी गरेर नेपालीलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक, सामाजिक, न्यायिक अधिकार प्राप्तिका लागि शहीदले गरेको बलिदानीको स्मरण गर्नु भएको छ । ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य प्राप्त गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने कुरा पनि व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले वाम गठबन्धनलाई जनताले नयाँ युगको जिम्मेवारी दिएको बताउँदै भन्नुभएको छ, ‘वाम गठबन्धनप्रति जनताको यस विश्वासप्रति हामी आभार प्रकट गर्न चाहन्छौँ र यहाँहरुको विश्वासको उच्च सम्मान र कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।’

अध्यक्ष ओलीले राजनीतिक स्थायित्व, सामाजिक न्याय र समानता, राष्ट्रिय स्वाधीनता तथा स्वाभिमान, सामाजिक सद्भाव एवं समृद्धि जस्ता जनताका चाहनालाई सम्बोधन गर्न आज एमाले र नेकपा (माओवादी केन्द्र) गठबन्धनमा आबद्ध भएको पनि बताउनुभएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री