राष्ट्रियसभाको चुनावपछि सरकारबाट बाहिरिने प्रधानमन्त्री देउवाको भनाइ

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताएका छन् । सात नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरी धाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आज उद्घाटन गर्दै उनले राष्ट्रियसभाको चुनावपछि आफू सरकारबाट बाहिरिने स्पष्ट गरे ।

उनले आफ्नो व्रतबन्ध भएको ठाउँ कैलालीको गोदावरीधामको विकासका लागि आफ्नो सक्दो सहयोग रहने बताउँदै सो क्षेत्रको पवित्रता र धार्मिक महत्व बढ्दै जानुपर्ने बताए ।

सो अवसरमा कैलाली निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित सांसद नारदमुनि रानाले चुनावमार्फत आएको नयाँ जनादेशबमोजिम मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

गोदावरीधाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्र राशी दर्शन मकर मेला गर्ने योजनाअनुसार यस वर्ष बाह्र राशी दर्शन मकर मेला गरिएको आयोजक समितिले जनाएको छ ।

प्रत्येक वर्ष कुनै एक राशीमा कुम्भमेलाको योग पर्ने भएको शास्त्रीय मान्यतानुसार प्रत्येक वर्ष कुम्भमेलाको प्रतीकका रुपमा १२ दिवसीय बाह्र राशी दर्शन मेलाको आयोजना गरिएको आयोजक समितिका संयोजक पदमराज जोशीले बताए ।

गोदावरी धाममा बाह्रराशीको स्थापना गरी प्रत्येक राशिका व्यक्तिलाई दर्शन एवं पूजाको व्यवस्था मिलाइएको छ । त्यहाँ स्थापना गरिएको कुम्भबाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवं पूजाको व्यवस्थासमेत गरिएको छ । मेला माघ १ देखि १२ गतेसम्म लाग्ने जनाइएको छ ।

हरेक वर्ष मकर सङ्क्रान्तिका दिन गोदावरीमा मेला लाग्दै आएको छ । सप्त गोदावरीमध्येको प्राचीन गोदावरी धामस्थित गोदावरी नदीमा भगवान् श्रीकृष्णले स्नान गरेको जनविश्वास छ ।

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउद, मकर मेला आयोजक समितिका संयोजक जोशी, सहसंयोजक मदनराज पाण्डेय, हरिलाल गिरीलगायतले धामको विकासका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री