डा केसीको सुनुवाइ बुधबार

काठमाडौँ, २५ पुस – सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग बयान लिने काम सम्पन्न भएपनि समय अभावका कारण आज सुनुवाइ हुन सकेन ।

डा केसीलाई अदालतको अवहेलना मुद्दामा आज बिहान ९ बजे उपस्थित गराउन भनिए पनि उहाँलाई प्रहरीले हिरासतबाट ८.४५ बजे नै अदालतमा उपस्थित गराएको थियो ।

अदालतमा डा केसी उपस्थिति भए पनि बयान लिने प्रक्रिया भने निकै अवेला शुरु भयो । बयान लिन शुरु गर्दा करिब २ बजेको थियो । बयान लिँदालिँदै अदालतको समय सकिएपछि सुनुवाइ भोलिका लागि तय भएको छ । केसीलाई अदालतको आदेशअनुसार समयभन्दा अगाडि नै उपस्थिति गराए पनि बयान ढिलो हुँदा उहाँको स्वास्थ्यलाई ध्यान दिँदै प्रहरीको एम्बुलेन्समा अदालत परिसरमा राखेर आराम गराइएको थियो ।

बयान सकेपछि सुनुवाइका लागि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा तोकिएको थियो । तर बयान सक्दा नै समय सकिएको हुनाले आज सुनुवाइ हुन सकेन ।

डा केसीसँग अदालत प्रशासनले बयान सकेपछि डा केसीका पक्षका अधिवक्ता सुरेन्द्र भण्डारीले केसीलाई पक्राउ गरी अदालतमा उपस्थिति गराउँदा के विषयको मुद्दामा पक्राउ पुर्जी जारी गरिएको हो भन्ने नभएको हुँदा मुद्दा खारेज गर्न इजलाससमक्ष माग गर्नुभयो ।

डा केसीले अवहेलना मुद्दामा सात पेज बयान दिनुभएको छ । उहाँको पक्षमा वकालत गर्नका लागि सयभन्दा बढी कानून व्यवसायीले वकालतनामा भर्नुभएको छ । वरिष्ठ अधिवक्ताहरु कृष्ण भण्डारी, दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, ओम अर्याल, लेखनाथ पौडेललगायतका अधिवक्ताहरु हुनुहुन्छ ।

डा केसीको सुनुवाइप्रति चासो लिने अधिवक्ता र सर्वसाधारणको पनि अदालत परिसरमा निकै घुइँचो लागेको थियो । अदालतमा केसीलाई उपस्थिति गराएदेखि दिनभर केसीका शुभेच्छुकहरुको अदालत परिसरमा बाक्लो उपस्थिति थियो ।

डा केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिनमा प्रा डा शशी शर्मालाई पुनःबहाली गराउने सर्वोच्च अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी हिजो अनशन शुरु गर्नुभएको थियो । उहाँलाई सोमबार साँझ अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट नै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

प्रा डा केसीको सुनुवाइ बुधबार हुने भएपछि अदालतबाट आदेश के आउँछ भन्ने निकै चासो देखिन्छ । अदालतको अवहेलनाअन्तर्गत एक वर्ष जेल सजाय वा रु १० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ ।

केसीलाई सुविधानजनकरुपमा राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदातलले वरिष्ठ चिकित्सक केसीलाई निजको स्वास्थ्य स्थिति विचार गरी अनुकूल हुने गरी सुविधाजनकरुपमा राख्न आदेश दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले आज प्राडा केसीको स्वास्थ्यलाई ध्यानमा राखी सुविधाजनकरुपमा राखेर बुधबार बिहान १० बजे अदालतमा उपस्थिति गराउन आदेश दिएको हो ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा बयानका लागि सर्वोच्च अदालतमा उपस्थित हुनुभएका प्राडा केसीको बयान लिने काम सम्पन्न भएको छ । बयानका क्रममा प्राडा केसीले सर्वोच्च अदालतले चिकित्सा क्षेत्रमा दिएको आदेशले माफियालाई थप सहयोग पुगेको बताउनुभएको छ ।

सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सोधेको १४ प्रश्नको जवाफमा केसीले अदालतले दिएको फैसलाले सुधार भन्दा पनि विकृति ल्याउने देखेर अनसन सुरु गरेको बताउनुभयो ।

आफ्नो लडाइँ गलत निर्णय दिने न्यायाधीशविरुद्ध भएको तर न्यायलयविरुद्ध नभएको बयानमा उल्लेख छ । अदालतका आदेशमा निजी मेडिकल कलेजले प्रश्रय पाउने, गुणस्तरहीन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा विकृति आई तीन करोड नेपालीको स्वास्थ्य र जिउधनप्रति खेलवाड भइरहेको बयान छ ।

आफूले जारी गरेको प्रेस विज्ञप्तिमा अदालतको अवहेलना हुने गरी अमर्यादित र अशिष्ट तरिकाले प्रकाशित गरेको नभई अदालतप्रति सम्मान रहेको उहाँले बयानमा बताउनुभएको छ ।

त्यसैगरी बयानमा अदालतलको अवहेलनामा सजाय हुन्छ भन्ने आफूलाई राम्ररी थाहा भएको र सही न्याय सम्पादन गर्ने न्यायाधीशलाई आफूले सम्मान गर्ने उल्लेख छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री