
वरिष्ठ चिकित्सक डा गोविन्द केसीको पक्राउको विरोधमा मङ्गलबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनी गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तथा विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलगायत समर्थकहरु । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २५ पुस – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
अदालतको अवहेलना मुद्दामा प्रा डा केसी पक्राउ पर्नुभएपछि उहाँको समर्थनमा विभिन्न राजनीतिक दलका नेता र सर्वसाधारण माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् ।
‘सोलिडारिटी फर डा केसी एलायन्स’ को अगुवाइमा बिहान ८.०० बजेदेखि प्रदर्शनमा उत्रिएका समर्थकले ‘डा केसी एक्लो छैन’, ‘हामी तिम्रा साथ छौँ’, ‘म पनि गोविन्द केसी मलाई पनि पक्राउ गर’, ‘केसीलाई कष्ट माफियालाई अनिष्ट’, ‘सर्वोच्च अदालतलाई सम्मान भ्रष्टलाई दण्ड’ लगायतका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।
प्रा डा केसीलाई तुरुन्त रिहाइ गर्नुपर्ने भन्दै माइतीघर पुग्नुभएका नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रासससँग कुरा गर्दै निष्ठाको लडाईं लडिरहेका सादगी व्यक्तिलाई पक्राउ गर्नु आपत्तिजनक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समग्र स्वास्थ्य र शिक्षाको सुधारमा लागेका व्यक्तिलाई यसरी हठात्मा पक्राउ गर्नुपर्ने कुनै कारण देखिँदैन, गिरफ्तार गरेर कारबाहीतिर जानुभन्दा उहाँबाट उठाइएका मागका सम्बन्धमा छानबिन गर्नु नै उपयुक्त हुन्छ, उहाँ आफैँ पनि सत्याग्रहमा हुनुहुन्छ त्यसैले उहाँलाई दण्डित गर्नुको अर्थ रहँदैन ।’
सत्य र सत्ताको लडाईंमा तत्काल सत्ताले जिते पनि अन्ततः सत्यको जित हुने भएकाले आफू डा केसीको साथमा रहेको उहाँले बताउनुभयो ।
पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले केसीलाई जे आरोप लगाएर पक्राउ गरिएको छ , माइतीघरमा उपस्थित सबैलाई सोही आरोपमा पक्राउ गर्न चुनौती दिनुभयो । उहाँले भन्नुभयो, ‘श्रीमान् यदि सत्यका लागि बोल्दा डा केसीलाई मानहानी मुद्दा लाग्छ भने हामीलाई पनि मानहानी मुद्दामा पक्राउ गरियोस्, सबैभन्दा बढी सम्मान अदालतप्रति हुनुपर्छ भन्ने मान्यतामा धावा बोलिएकाले विरोध गरिएको हो, जुन अदालतको विरोधमा होइन, सम्मानका लागि हो ।’
प्रा डा केसीलाई तत्काल रिहा गर्न माग गर्दै थापाले भन्नुभयो, ‘डा केसीले उठाएका मागबारे गम्भीररूपले छानबिन गर्न आग्रह गर्दछु ।’ सम्मानित अदालतप्रति सम्मान रहे पनि बेलाबखत भएका विवादास्पद निर्णयका कारण न्यायालयमाथि जनताको आस्था घटदै गएको उहाँको भनाइ थियो ।
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सर्वोच्च अदालतले तत्काल कारबाहीका लागि आदेश जारी गरेका कतिपय मुद्दा राजनीतिका कारण कारबाही अघि बढाउन नसक्नु तर स्वच्छ छविका डा केसीलाई भने कारबाही गर्नु स्वीकार्य नहुने बताउनुभयो ।
‘उहाँलाई रिहा गर्नै पर्छ, उहाँले लगाएका आरोपका बारेमा छानबिन हुनैपर्छ, अदालतबारे सबैलाई यही लागेको हो जुन डा केसीले बोल्नुभयो’– उहाँले भन्नुभयो ।
उक्त संस्थानको चार वर्षअघिको डिन पुनःबहाली सम्बन्धी सर्वोच्च अदालतले गत आइतबार गरेको आदेश न्यायसंगत नभएको भन्दै प्रा डा केसीले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सोमबारबाट अनिश्चित आमरण अनशन शुरु गर्नुभएको थियो ।
प्रधानन्यायाधीशको राजीनामा र उहाँले गरेका कामबारे छानबिन गर्न माग गरेपछि उहाँलाई अदालतको अपहेलना गरेको आरोपमा पक्राउ गरिएको थियो । डा केसीले चार वर्षअघि बर्खास्तमा परेका संस्थानका डिन डा शशि शर्मालाई सर्वोच्चले पुनःबहाली गरेपछि सोको विरोध गर्नुभएको हो ।
माइतीघरमा भएको भेलामा मुटु शल्यचिकित्सक डा रामेश कोइराला, नसासम्बन्धी सल्यचिकित्सक डा बसन्त पन्त, डा रवीन्द्र पाण्डे (समीर), नेपथ्यका गायक अमृत गुरुङ, हास्यकलाकार निर्मल शर्मा (गैडा) लगायत सर्वसाधारण सहभागी हुनुहुन्थ्यो । आफ्ना मागसहित आमरण अनशन शुरु गर्नुभएका प्रा डा केसीले प्रहरी हिरासतमा पनि अनशन जारी राख्नुभएको छ भने अहिले उहाँलाई सर्वोच्च अदालतको मानहानीका विषयमा अदालतमा बहसका लागि उपस्थित गराइएको छ ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ