रसुवागढी भएर रेलमार्ग सञ्चालनमा ल्याइने

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंगलबार नेपाल–चीनसीमा स्थल रसुवागढी नाकामा । उहाँ लगायत अन्य नेताहरुले रसुवागढी भन्सार, लाङटाङ, रसुवागढी–त्रिशूली–गल्छी सडकखण्ड लगायत क्षेत्रको अवलोकन गर्नुभएको हो । तस्वीर सौजन्य – नेकपा एमाले, रासस, नुवाकोट

रसुवा, ४ पुस – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज रसुवाको लाङटाङ र रसुवागढीको अवलोकन भ्रमण गर्नुभएको छ ।

अध्यक्ष ओलीले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको अवलोकनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे गाउँ कमिटीको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ सरकार चाँडै गठन हुने बताउनुभयो ।

अध्यक्ष ओलीले रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय मार्ग व्यवस्थित गरिनुका साथै आउँदो चैत–वैशाखसम्ममा बेत्रावती–स्याँफ्रुवेंसी मार्ग सञ्चालनमा ल्याइने बताउनुभयो । हाल त्यहाँ नेपाली सेनाले काम गरिरहेको छ ।

गल्छी–रसुवागढी राजमार्ग दुई लेनको बनाइने अध्यक्ष ओलीको भनाइ थियो । ‘अर्को मार्ग पनि चाँडै निर्माण गरिनेछ,’ उहाँले भन्नुभयो ।

रसुवा भन्सार कार्यालयको व्यवस्थापन छिट्टै गरिने तथा रसुवागढी अन्तर्राष्ट्रिय नाका व्यवस्थित गरिने अध्यक्ष ओलीले बताउनुभयो । गोसाइँकुण्ड तीर्थस्थल, लाङटाङ पर्यटकीय क्षेत्रको संरक्षण गरिने उहाँको भनाइ थियो । उहाँले रसुवागढी भएर रेलमार्ग सञ्चालनमा ल्याइने बताउनुभयो ।

सो अवसरमा टिमुरे गाउँ कमिटीका अध्यक्ष कामी नोर्वु तामाङले अध्यक्ष ओलीलाई मागपत्र पेश गर्नुभएको थियो ।

अध्यक्ष ओलीका साथमा एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी स्थायी समिति सदस्य सुवास नेम्बाङ, शंकर पोखरेल, जनार्दन ढकाललगायत नेता रहनुभएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री