प्रदेश नं ५ को राजधानी बुटबल, दाङ बनाउनुपर्ने माग

बुटबल

पाल्पा, २ पुस – यहाँका बासिन्दा, राजनीतिक दल र जनप्रतिनिधिले प्रदेश नं ५ को राजधानी रुपन्देही जिल्लाको बुटवलमा बनाउनुपर्नेमा जोड दिएका छन् ।

पाल्पाका जननिर्वाचित सांसद, राजनीतिक दल, पूर्वसांसद र बासिन्दाले प्रदेशको राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई ध्यानमा राखी बुटवलमा नै राजधानी बनाउन उपयुक्त रहेको जनाएका छन् ।

पूर्वाधारको विकास, अन्तर्राष्ट्रिय विमानस्थल, प्रशासनिक पहुँच र सुगमता, पर्यटकीय क्षेत्र लुम्बिनी र शान्तिका अग्रदूत गौतम बुद्ध जन्मस्थल नजिकको शहर भएकाले पनि ५ नं प्रदेशको केन्द्र बुटवलमै हुनुपर्ने पाल्पालीको माग रहेको नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले बताउनुभयो ।

“देशको सन्तुलित विकास, जनताको हित र सुविधालाई सम्बोधन गर्न केन्द्र, प्रदेश र स्थानीय तहको व्यवस्था गरिएको केन्द्र तोक्दा सबैलाई पायक पर्छ”, उहाँले रासससँग भन्नुभयो ।

नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा नवनिर्वाचित प्रदेश सांसद तुलाराम घर्तीले प्रदेश राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई हेर्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य दलबहादुर राना, प्रदेशसभा सदस्य पुरनमान बज्राचार्य, युवराज खनाल र नारायण आचार्यले प्रदेशको राजधानी बुटबल सबैलाई पायक पर्ने जिकिर गर्नुभयो ।

एमालेका धनेन्द्रराज घिमिरे, माओवादी केन्द्रका चक्रब्यू थापा, राप्रपा(प्रजातान्त्रिक)का डुलबहादुर कुँवर, नेकपा (माले)का धनराज पौडेल, सरोकार भएका टीकाराम पौड्याल, जिल्ला समन्वय समितिका सभापति दयाराम बस्याल, तानसेन नगरपालिका प्रमुख अशोक शाहीले पनि बुटबललाई राजधानी तोक्नुपर्ने माग गर्नुभयो ।

४१ को धरौटी जफत

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अधिकांश दलका उम्मेदवारको धरौटी रकम जफत भएको छ । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा खसेको मतको १० प्रतिशत मत ल्याउन नसक्ने दलका उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्थानुरुप नै प्रतिनिधिसभा र प्रदेशसभामा दल तथा तथा स्वतन्त्र उम्मेदवार गरी ४१ जनाको धरौटी रकम फिर्ता हुन सकेन ।
दुई प्रतिनिधिसभा रहेको पाल्पामा २१ जनाको उम्मेदवारी परेको मध्ये नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक दलका धरौटी जफत भएको हो ।

दश प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौती जफत भएको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिनुभयो । पाल्पामा प्रतिनिधिसभासर्फ १७ र प्रदेशसभा २३ उम्मेदवारको धरौटी जफत भएको हो । दुई प्रतिनिधिसभामा एमाले तथा चार प्रदेश क्षेत्रमध्ये तीनमा एमाले र एकमा माओवादी केन्द्र विजयी भएका छन् ।

प्रदेशको राजधानी कपिलवस्तु बनाउन सांसदको माग

जितपुर, कपिलवस्तु, २ पुस – प्रदेशको राजधानी कपिलवस्तु बनाउन यहाँबाट नवनिर्वाचित प्रतिनिधिसभाका सांसद तथा प्रदेशसभाका विधायकले माग गरेका छन् ।

शनिबार तौलिहवामा राखिएको सम्मान तथा स्वागत कार्यक्रममा सांसद तथा विधायकले हरेक दृष्टिले प्रदेशको राजधानी कपिलवस्तु नै उपयुक्त हुने भन्दै राजधानी बनाउन जोडदार माग गरेका हुन् ।

भगवान् गौतम बुद्धका पिता शुद्धोधनको राजधानी तिलौराकोट रहेको र बुद्धसँग सम्बन्धित सयबढी पुरातात्विकस्थल यस जिल्लामा रहेकाले प्रदेश नं ५ को राजधानी कपिलवस्तु नै अति उत्तम हुनेमा सबैको जोड थियो ।

कपिलवस्तु क्षेत्र नं १ का नवनिर्वाचित सांसद चक्रपाणि खनाल (बलदेव) ले भौगोलिकरुपमा पनि ५ नं प्रदेशको केन्द्र कपिलवस्तु नै पर्ने र सांस्कृतिक, पुरातात्विक दुवै हिसाबले राजधानीका लागि उपयुक्त ठाउँ भएको विचार व्यक्त गर्नुभयो ।

त्यस्तै अर्का सांसद बृजेशकुमार गुप्ताले पनि बौद्धकालीन संघीय राज्य कपिलवस्तु रहेको र गणतन्त्रको संघीय राजधानी पनि कपिलवस्तुमै हुनुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा प्रदेश विधायक विष्णु पन्थी, दीर्घनारायण पाण्डे, धर्मबहादुरलाल श्रीवास्तव, अर्जुन केसी लगायतले पनि प्रदेश राजधानी कपिलवस्तु बनाउन सदन तताउन परे पनि तयार भएको उद्घोष गर्नुभयो ।

पूर्वाधार अध्ययनका लागि प्रधानमन्त्री कार्यालयबाट खटिएको सरकारी टोलीले बुटवलमा पर्याप्त पूर्वाधार भेटिएकाले तत्काल प्रदेश राजधानीका रुपमा बुटवल नै उपयुक्त हुने निष्कर्ष निकालेकै दिन कपिलवस्तुका सांसदको भने यस्तो भनाइ आएको हो ।

उता संविधानको धारा २८८ को उपधारा २ मा भने संविधानबमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुनेछ भन्ने कुरा उल्लेख छ ।

प्रदेश नं ५ को राजधानी दाङमा हुनपर्ने माग गर्दै प्रदर्शन

दाङ, २ पुस – प्रदेश नं ५ को राजधानी दाङमा हुनुपर्ने माग गर्दै आज प्रदर्शन भएको छ । बुटवल क्षेत्रका जनताले त्यहाँ राजधानी बनाउन लबिङ थालेको भन्दै दाङमा त्यसको विरोधमा प्रदर्शन भएको हो ।

तुलसीपुरमा आज जनदबाब भन्दै रयाली निकाली कोणसभासमेत भएको छ । कोणसभालाई सम्बोधन गर्दै उच्च अदालत तुलसीपुरमै रहेको, प्रदेश प्रहरी प्रमुखको कार्यालय तुलसीपुरमै रहेको, रेडियो नेपालको प्रदेशस्तरीय रिले स्टेशन तुलसीपुरमै रहेको, पहिलो बैठकका लागि भवनसमेत तयार भएको अवस्थामा यसविपरीत बुटवल राजधानी बनाइने हल्ला चलाएकाले त्यसको पछाडि नलाग्नसमेत स्थानीयवासीलाई सचेत गराइएको छ ।

कोणसभालाई सम्बोधन गर्दै नागरिक समाज, दाङका संयोजक टीकाराम रेग्मीले दाङ राजधानी भएन भने त्यो घोषणा भएको दश मिनेटमै नागरिकले आन्दोलन छेड्ने र केन्द्रमा घेर्नेसम्म बताउनुभयो ।

त्यस्तै, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले दाङ राजधानी बनाउन आफूहरू जस्तोसुकै कदम चाल्नसमेत तयार भएको बताउनुभयो ।

महिला अधिकारकर्मी सुष्मा गिरीले दाङ प्रदेश नं ५ को केन्द्रमा रहेको, सबैभन्दा ठूलो भूगोल भएको हुँदा वैदेशिक सीमा क्षेत्रमा राजधानी राख्नु उपयुक्त नहुने तर्क गर्नुभयो । “दाङ राजधानी भएन भने जस्तोसुकै मूल्य चुकाउन दाङ पछि पर्नेछैन,” उहाँले भन्नुभयो ।

त्यस्तै, सहभागीहरुले सबै क्षेत्रको केन्द्र र सबै किसिमले उपयुक्त जिल्ला दाङ रहेको तर्क गरेका थिए ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री