काठमाडौँ, २६ मंसिर – आन्तरिक विभाजनसँगै संवैधानिक राजतन्त्र वा लोकतान्त्रिक गणतन्त्रबारेको नीति र व्यवहारमा एकरुपता नहुँदा पुरानो शक्ति मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पराजय भोगेको छ ।
यही मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले सो पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक सिद्धान्तलाई कार्यान्वयन नगरिएकाले जनताले अनुमोदन गरेको पाइएन ।
निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राप्रपाले नेपाली काँग्रेससँग तालमेल गरी कुल पाँच स्थानमा उम्मेदवारी दिएकामा एक स्थानमा मात्र जित हासिल गरेको छ ।
विजयी एक स्थानमा पनि वाम गठबन्धनसँगको तालमेलका कारण सो पार्टीलाई सफलता मिलेको हो । पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट नेकपा एमालेका कृष्णप्रसाद दाहालसँग छ हजार ७२ मतान्तरले पराजय भोग्नु परेको छ । दाहाललाई ४० हजार ६३० मत प्राप्त हुँदा थापाको ३४ हजार ५५८ मत आएको थियो ।
राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले वाम गठबन्धनको समर्थनका कारण झापा–३ मा काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई १३ हजार ४५५ मतान्तरले पराजित गर्नुभयो ।
यही वर्ष राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर जबरा सिन्धुपाल्चोक–२ मा आठ हजार ३२ मतको फरकमा एमालेका नेता शेरबहादुर तामाङसँग पराजित हुनुभयो ।
काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सहभागी भएको उक्त पार्टीले प्रत्यक्षतर्फ देशभरबाट चार सिटका लागि तालमेल गरे पनि एक सिटसमेत जित्न सकेन ।
राप्रपा एकीकरण भएलगत्तै पुन विभाजित डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीले कुनै गठबन्धनसँग तालमेल नगरी निर्वाचनमा होमिएकोमा कुनै पनि सिट जितेन ।
मुलुकमा हिन्दूराष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक शासन व्यवस्थाको पक्षमा वकालत गर्दै आएको थापा नेतृत्वको राप्रपाले फरक मतसहित संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा हस्ताक्षर गरी त्यसपछिका सरकारमा सहभागी हुँदै आएको थियो । तर सो पार्टीले निर्वाचनको घोषणापत्रमा पुन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा आफूलाई प्रस्तुत गरेको थियो ।
राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले हिन्दूराष्ट्रको आवश्यकतामा जोड दिँदै परम्परागत शक्तिलाई समेत मान्ने विषयलाई चुनावी घोषणापत्रमा उल्लेख गरेको छ । डा लोहनी नेतृत्वको दल पाँच हजार वर्ष पुरानो वैदिक सभ्यतासहितको हिन्दूराष्ट्रको पक्षमा उभिएको छ । उसले राष्ट्रिय चरित्रसहितको संस्थाका रुपमा राजसंस्था र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री राख्नुपर्ने घोषणापत्रमा माग गरेको छ ।
तीन दशक लामो पञ्चायती व्यवस्थामा सक्रिय राजनीति गरेका नेतामध्ये तीनवटै पार्टीका अध्यक्ष अबका राजनीतिमा हावी हुने सम्भवना न्यून हुँदै गएको छ । राप्रपाका प्रवक्ता भुवन पाठक चुनावको मुखमा पार्टी विभाजन हुनु नै आफूहरुको परिणाम निराशाजनक हुनुको कारण भएको बताउनुहुन्छ । उहाँले निर्वाचन परिणामका बारे चाँडो केन्द्रीय समितिको बैठकमा समीक्षा गरिने जानकारी दिनुभयो ।
राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजाराम श्रेष्ठले पार्टी विभाजनका अतिरिक्त लोकतान्त्रिक गठबन्धनका नाममा कम स्थानमा उम्मेदवार उठाइएकाले पनि पराजय भोग्न परेको विचार व्यक्त गर्नुभयो । उहाँ पार्टीका नीति तथा कार्यक्रम तल्लो तहसम्म पुरयाउन नसकेको समेत स्वीकार्नुहुन्छ ।
डा लोहनी नेतृत्वको दलका केन्द्रीय सदस्य सुन्दर पाण्डेले पार्टी विभाजन भएपछि संगठन निर्माणका लागि समय कम हुनुका साथै दुई पार्टीको चुनाव चिह्न गोलाकारभित्र र चारकुनाभित्र हलो दुईवटा भएका कारण पनि सफलता प्राप्त हुन नसकेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाको नेतृत्वमा विसं २०४७ जेठ १५ गते एकै दिन राप्रपा स्थापना भएको थियो । राप्रपा थापा र राप्रपा चन्द एक वर्षभित्र पुनः एकीकृत भएपनि करिब २६ वर्षको यात्रामा धेरै पटक विभाजित हुँदै आएका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी