काठमाडौं, २३ मङसिर – तीन बर्षअघि नेपालमा सम्पन्न अठारौँ शिखर सम्मेलनले संशोधन गर्नुअघि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कको बडापत्रमा यसको शिखर सम्मेलन प्रत्येक वर्ष र आवश्यकता परेमा त्यो भन्दा चाँडो आयोजना गर्न सकिने प्रावधान थियो । तर आयोजना गर्ने भनिएका देशहरुका आन्तरिक कारण या सदस्य राष्ट्रहरुकै विवादका कारण शिखर बैठक नै समयमा सम्पन्न हुन सकेको छैन ।
सार्कको उमेर ३२ बर्ष पुगेको छ । यसरी हेर्दा बडापत्रअनुसार सरासर भइदिएको भए सार्कका कम्तीमा पनि तीस वटा शिखर बैठक भइसक्नुपर्दथ्यो । तर अहिलेसम्म १८ मात्र भए । तीन बर्षअघि नेपालमा सम्पन्न पछिल्लो अर्थात् १८ औँ शिखर सम्मेलनपछि यसको बैठककै भविश्य समेत अन्योलमा परेको छ । यसको काम र अरु प्रभावकारिताको त कुरै भएन ।
दक्षिण एसियाली क्षेत्रबाट अभाव, अशिक्षा एवम् गरिबी हटाई यस क्षेत्रका नागरिकमा सामुहिक आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले सन् १९८५ को डिसेम्बर ८ मा सार्कको औपचारिक रुपमा स्थापना भएको हो । यस क्षेत्रका सात राष्ट्र नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भूटान र मालदिभ्स संस्थापक रहेको यस संगठनमा पछि यसै क्षेत्रको अर्को देश अफगानिस्तान पनि सदस्य बनेको छ । हाल सार्कमा आठवटा सदस्य राष्ट्र रहेका छन् ।
शुक्रबार मात्र सार्कको ३३ औँ स्थापना दिवस नेपालमा मनाइएको छ । दक्षिण एसियाली नागरिकको आशाको केन्द्रका रुपमा स्थापित यस संगठनले स्थापनाको समयमा लिएका उद्देश्य र अपेक्षा तीन दशकको उमेर पुगिक्दासम्म कत्तिको पूरा गर्न सक्यो त भन्ने विषय महत्वपूर्ण हो । तर पनि यसले लिएको कार्यदिशा र नेतृत्वको कार्यकुशलताको अभावका कारण आज यसको उपलब्धिको चर्चा गर्नुको सट्टा यसले बैठक नै किन गर्न सकेन भन्ने बारेमा चर्चा गर्नुपर्ने अवस्था छ ।
गत बर्षको नोभेम्बर १५–१६ मा यसको १९ औँ सम्मेलनको मिति तय भएको थियो । तर लगभग सबै तयारी पूरा भएको भनी आयोजक राष्ट्र पाकिस्तानले जानकारी गराएको केही दिनमा नै यो स्थगित भएको अर्को सूचना जारी गर्नुपरेको थियो । त्यसपछि भने सम्मेलन गर्ने वातावरण अझै तय हुन सकेको छैन । यसका लागि पहल गरिदिन आयोजक राष्ट्र पाकिस्तानले अध्यक्षलगायत अन्य सदस्य मुलुकहरुसँग आग्रह गर्दै आएको छ । तर यसको सुनुवाईको बाटो भने अझै कतैबाट निस्किन सकेको छैन ।
आपसी अविश्वासका बाबजुत पनि एउटै मञ्चमा जम्मा हुनुपर्ने बाध्यतामा रहेका दक्षिण एसियाका दुई ठूला राष्ट्र भारत र पाकिस्तानका कारण नै विशेषगरी सार्कमा बढी नै समस्या उत्पन्न हुने गरेको छ । यो अवस्थाले के साँच्चिकै यस क्षेत्रमा आपसी सहयोग, समृद्धि र सुमधुरता ल्याउन सक्ला भन्ने आशङ्का यो जन्मिएदेखि नै गरिँदै आएको हो । यही अविश्वासको घेराले घेरिँदै सार्कले स्थापनापछि तीन दशकको फन्को भने लगाइसकेको छ । तर क्षेत्रीय सहयोग संगठनको विश्वव्यापी संस्कार र उपलब्धिका रुपमा मापन गर्ने हो भने यो तीन दशकलाई सार्कको उमेरका रुपमा मात्र मापन गर्न सकिन्छ ।
पहिले पहिले सार्कलाई एउटा कान्छो र आर्थिक, सामाजिक एवम् धेरै कुरामा पछि परेको दक्षिण एसियाली क्षेत्रको संगठनका रूपमा लिने गरिन्थ्यो । तर, अब भने त्यो अवस्था रहेन । किनभने तीस वर्षको समयलाई थोरै भन्न मिल्दैन । फेरि यस अवधिमा यसले गरेका कामलाई यो चाहिँ राम्रो अथवा उल्लेखनीय भनेर औँला भाँच्न मिल्ने अवस्था पनि रहेन । एकाध सामाजिक आर्थिक क्षेत्रका काम त यसले गरेको छ । तर त्यसलाई विश्वमा संयुक्त राष्ट्रसंघको स्थापना र त्यसपछिका अरु क्षेत्रीय संगठनहरुको प्रगति र उन्नतिका रुपमा हेर्ने हो भने यो निकै थोरै हो ।
सार्कले यस क्षेत्रमा शिक्षा, गरिबी निवारण, स्वास्थ्य, वातावरण, सञ्चार, महिला सशक्तिकरण बाल विकासलगायतका धेरै क्षेत्रमा काम नगरेको होइन । सार्क दक्षिण एसियाली क्षेत्रको सामुहिक सङ्गठनका साथै यस क्षेत्रका देशहरुलाई विश्वमञ्चमा उपस्थित गराउने एउटा साझा थलो पनि हो । यस सङ्गठनमार्फत दक्षिण एसियाका राष्ट्रहरुले सहकार्य र पारस्परिक सहयोगको राम्रो अभ्यास पनि गर्न सक्दथे । दक्षिण एसियाका नागरिकका बीचमा जनसम्पर्क स्थापित गर्नका लागि यो भन्दा प्रभावकारी अर्को मञ्च हुन पनि सक्दैन ।
पछिमात्र सदस्य बनेको सार्कको सदस्य राष्ट्र अफगानिस्तानले बाहेक सार्कका सबै देशले कम्तीमा एकपटक सार्क सम्मेलन सम्पन्न गरिसकेका छन् । अहिलेसम्ममा सार्कको एउटामात्र शिखर सम्मेलन गर्ने देश भूटान हो र उसले सन् २०१० मा राजधानी थिम्पूमा सोह्रौं शिखर सम्मेलन गरेको थियो । सो सम्मेलनकै क्रममा सार्कले आफ्नो स्थापनाको रजत वर्ष पनि मनाएको थियो । नेपालले पनि सार्कका तीन वटा सम्मेलन आयोजना गरिसकेको छ । सार्कको तेस्रो, एघारौँ र अठारौँ सम्मेलन राजधानी काठमाडौँमा सम्पन्न भइसकेका छन् । नेपालले पछिल्लो सम्मेलनका रुपमा सार्कको अठारौँ सम्मेलन सन् २०१४ मा काठमाडौँमा गरेको थियो ।
सार्कलाई सबैले प्रतिबद्धता र आश्वासनको पोकोका रुपमा पनि हेर्ने गर्दछन् । सार्कका सम्मेलनका क्रममा सबै शीर्ष नेताहरुका बीचमा यस क्षेत्रका प्रमुख समस्याका बारेमा बहस हुन्छ र सबै नेताको सर्वसम्मतिमा घोषणा पत्र जारी हुन्छ । तर त्यसको कार्यान्वयन निकै गाह्रो काम हो । हुनत सार्क जन्मिएपछि किन गरिबी हट्न सकेन भनेर सोधिने प्रश्नको जवाफमा कतिपय कूटनीतिज्ञले त्यसो भए के राष्ट्रसंघको स्थापना भएपछि विश्वमा युद्ध रोकियो त भनेर पनि प्रतिप्रश्न गर्ने गर्दछन् । अनि पछिल्लो समयका इराक एवम् अफगानिस्तान युद्धलाई नै हेर्ने हो भने पनि तिनले दोस्रो विश्वयुद्ध नै बिर्साइदिने छन् । तर पनि स्वीकार्नुपर्ने एउटा पक्ष के छ भने सार्कले गर्न खोज्ने वा प्रतिबद्धता अघिसार्ने गरिए पनि यो प्रयास मात्रमा सीमित छ र यीनको कार्यान्वयनका लागि आफूसँगको बजेट अभाव यसले झेल्दै नै आएको छ ।
यस संगठनका दुई प्रभावशाली र ठूला देश भारत पाकिस्तानबीचको तिक्तताकै कारण १९ औं शिखर सम्मेलन तयारीको अन्तिम समयमा स्थगित भएको थियो । सबै तयारी भएर सबै सदस्य मुलुकमा शिखर सम्मेलनको विभिन्न विषयमा वहस समेत सुरु भएको थियो । तर भारतको एक सैनिक शिविरमा भएको आतंककारी हमलामा भारतले पाकिस्तानको संलग्नताको आरोप लगाउँदै भारत, बंगलादेश, श्रीलंका र अफगानिस्तानले अहिलेको अवस्थामा शिखर सम्मेलनमा भाग लिन पाकिस्तान जान नसक्ने जानकारी पाकिस्तानलाई दिएपछि सम्मेलन स्थागित भएको थियो ।
यस क्षेत्रको साझा समस्या गरिबी, अशिक्षा र सामाजिक पछौटेपन हुन् । यिनै समस्यालाई सामूहिक रूपमा मिलेर हटाउने उद्देश्यले सार्कले जन्म लिएको हो । तर, अहिले पनि यो भूगोल अफ्रिकापछिको गरिबहरू धेरै बस्ने क्षेत्रमा पर्छ । यसको आफ्नै स्रोत छैन । सार्कले आफ्नै सांगठनिक खर्च धान्न पनि वैदेशिक सहयोगको मुख ताक्नुपर्ने स्थिति भएपछि यसप्रतिको जनताको आशामा तुषारापात हुनु पनि स्वभाविकै हो । दोस्रो विश्वयुद्धको अन्त्यसँगै जन्मिएको संयुक्त राष्ट्रसंघमा आ–आफ्नो दरिलो उपस्थिति दर्साउन जन्मिएका अन्य क्षेत्रीय संगठनसँगै जन्मिएको हो सार्क । तर त्यसरी आएका आसियन, युरोपियन युनियन, अरब लिगलगायत अन्य क्षेत्रीय संगठनहरूले आफ्नो अस्तित्व र आवश्यकतालाई पुष्टि गरिसक्दा पनि यसले भने अझै पनि सदस्य राष्ट्रबीचकै आपसी विश्वासमा ढुक्क हुन सकिरहेको छैन । आपसी अविश्वास नै सार्कको अहिलेको पहिलो समस्या हो ।
यसरी एकातर्फ यो अवस्था रहँदा अर्कातर्फ पछिल्लो समयमा भारतले सार्कबाट पाकिस्तान र माल्दिभ्सबाहेक अन्य सदस्य राष्ट्र रहेको बिम्स्टेकलाई सार्कको भन्दा बढी महत्व त दिने होइन भन्ने अर्को अविश्वास थपिएको छ । यदि त्यसो भयो भने सार्कको भविश्यमा अर्को प्रश्नचिन्ह थपिन सक्छ । अनि यसैगरी मात्र अघि बढ्ने हो भने पनि शिखर सम्मेलन गर्न र सकी नसकी ठूल्ठूला शब्दजालले भरिएको घोषणापत्र जारी गर्ने मात्र यसको काम हुनेछ र तीन दशकलाई पछि फर्केर हेर्दा भोलिको आशा गर्ने ठाउँ पनि नभेटिनसक्छ ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार