बाम गठबन्धनको जित संख्या थपिंदै

म्याग्दीको प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई वटै सिटमा बाम गठबन्धनका उम्मेदवार विजयीभएपछि बेनीमा शुक्रबार आयोजना गरेको विजय जुलसमा सहभागी एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरु । तस्विर- सन्तोष गौतम, रासस, म्याग्दी

बाजुरा, २२ मंसिर- प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका लालबहादुर थापा २८ हजार ५९ मत ल्याएर विजयी हुनुभएको छ ।
नेकपा (एमाले)का थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कविराज पण्डितले २३ हजार १८१ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो । यसअघि प्रदेश कमा वाम गठबन्धनकै विश्वराज रेग्मी र खमा प्रकाश शाह विजयी भइसक्नुभएको छ ।

प्रदेशसभा खमा वाम गठबन्धनका सिंखडा विजयी

मलेखु, धादिङ, २२ मंसिर – प्रतिनिधिसभा – २ अन्तर्गतको प्रदेशसभा खमा वाम गठबन्धनतर्फबाट नेकपा(माओवादी केन्द्र)का जगत सिंखडा विजयी हुनुभएको छ । प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाका अनुसार सिंखडाले १७ हजार ६०५ र उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका डम्बर तामाङले १५ हजार ७७४ मत ल्याउनुभएको छ ।

धादिङ क्षेत्र नं १ को (क) मा पाण्डे र (ख) मा जम्मरकट्टेल विजयी

मलेखु, धादिङ, २२ मंसिर – धादिङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३३२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मधुकुमार श्रेष्ठले १३ हजार ६८५ मत प्राप्त गर्नुभयो ।

यसैगरी सोही क्षेत्रको प्रदेशसभा (ख) मा वाम गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मरकट्टेल २३ हजार ३८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत प्राप्त गर्नुभयो ।

बझाङबाट प्रतिनिधी सभा र प्रदेश सभाका सबै सिटमा विजयी हुनुभएका बाम गठबन्धनका उम्मेदवारहरु सामूहिक तस्वीर खिचाउँदै । तस्विर- ललित सिंह, बझाङ, रासस

जाजरकोट (ख) मा शाही विजयी

जाजरकोट, २२ मंसिर – प्रदेशसभा (ख) का वाम गठवन्धनबाट नेकपा (एमाले) का करवीर शाहीले १५ हजार १८५ मत ल्याएर विजय हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गर्नुभयो ।

जुम्ला (क) मा माओवादीका भण्डारी विजयी

जुम्ला, २२ मंसिर – जुम्ला प्रदेश (क) मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का नरेश भण्डारी १२ हजार ५७४ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुसिंह कठायतले आठ हजार ५३७ मत प्राप्त गर्नुभयो ।

प्रदेशसभामा राष्ट्रिय जनमोर्चा विजयी

बागलुङ, २२ मंसिर – जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (ख) मा साझा वाम उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी हुनुभएको छ ।

घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जित शेरचनले आठ हजार ६२४ मत प्राप्त गर्नुभएको छ ।

बाँकी दुई प्रतिनिधिसभा र तीन प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि साझा वाम उम्मेदवारले फराकिलो मतसहित अग्रता हासिल गरेका छन् । सबै क्षेत्रको अन्तिम मत परिणाम भोलि बिहानसम्म आइसक्ने जनाइएको छ । जिल्लामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी मैदानमा थिए । काँग्रेसले भने एक्लै चुनाव लडेको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री