निर्वाचन बिथोल्ने एक हजार नियन्त्रणमा

काठमाडौँ, २० मंसिर (रासस) – नेपाल प्रहरीले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो । नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई नियन्त्रणमा लिइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपाने निर्र्वाचनलाई स्वच्छ र भयरहित बनाउँदै उम्मेदवार तथा मतदाताको सुरक्षाका लागि नेपाल प्रहरी लागेको बताउनुहुन्छ । ‘निर्वाचनका लागि हामीले बुथ सुरक्षा टोलीका अलावा पैदल टोली, मोबाइल टोली, सादा पोशाक टोलीलगायत रिजर्भ टोली खटाएका छौँ,’, उहाँले भन्नुभयो ।

नेपाल प्रहरीले निर्वाचनका देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जनाएको छ । प्रवक्ता न्यौपानेले पहिलो चरणमा निर्वाचन भएका जिल्लाबाट पनि दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा प्रहरी टोली खटाइसकेको जानकारी दिनुभयो ।

सेनाले बम निस्क्रिय तुल्यायो

हेटौँडा, २० मंसिर – हेटौँडा उपमहानगरपालिका–८ कमानेस्थित औद्योगिक क्षेत्रदेखि राईगाउँ जाने सडकमा अज्ञात समूहले आज बिहान नै राखेको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

भैंसेस्थित सुपारेटार ब्यारेकबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय बनाउँदा कुनै मानवीय र आर्थिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका ३२४ मतदान केन्द्रमा कुनै अप्रिय घटना भएको छैन ।

नक्कली बम आतंक

रत्ननगर, चितवन, २० मंसिर – निर्वाचन विरोधी तत्वले नक्कली बम राखेर तर्साउने गरेका छन् । बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । ‘करिब ९-१० स्थानमा यस्ता तर्साउने काम भए’, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, ‘सबै नक्कली मात्रै भेटिएका छन् ।’

उहाँका अनुसार अहिलेसम्म राखिएकामा तीन वटा स्थानमा केही बारुद रहेको पाइए पनि ठूलो क्षति गर्ने खालको नभएको जनाइएको छ । चितवन प्रहरीले शान्तिसुरक्षा चुस्त रहेकाले ढुक्क भएर निर्वाचनमा भाग लिने वातावरण मिलाएको थापाले बताउनुभयो ।

मुख्यगरी नेकपाका कार्यकर्ताले तर्साउने गरेको यस्ता गतिविधि नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ‘स्पेशल अपरेशन टिम’ परिचालन भएको छ । अहिलेसम्म करिब एक दर्जन ठाउँमा यस्ता शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

तीमध्ये केही ठाउँमा मात्रै बारुदसहित राखिएको भए पनि अन्य ठाउँमा नक्कली (होक्स बम) पाइएको छ । अन्य क्षेत्रमा कहीँ घरकै सिलिण्डर लगेर जलाइएको, कहीँ माटो, ढुंगा भरेर राखिएको तथा बम जस्तो बनाएर बेरेर राखिएको मात्रै पाइएको प्रहरीको भनाइ छ ।

यस्ता गतिविधि राप्ती नगरपालिकामा दुई स्थान, खैरहनीमा दुई स्थान एवं रत्ननगर र कालिका नगरपालिकामा एवं माडी तथा भरतपुर क्षेत्रमा पाइएको प्रहरीले जनाएको छ । ३-४ स्थानमा घरबाटै सिलिण्डर लगेर आगो लगाएको भन्दै उहाँले सिलिण्डरमा आगो लगाएपछि पड्किनु स्वभाविक भएको भन्दै त्यहीँ पनि खुला क्षेत्रमा देखिएको बताउनुभयो ।

प्रहरीको विशेष टोलीले अहिलेसम्म शंकास्पद २०० स्थानमा खोजी गरेको केही ठाउँबाट सामान्य विस्फोटक पदार्थ र त्यसमा प्रयोग हुने अन्य सामग्री बरामद गरेको छ । अहिलेसम्म यस्ता गतिविधि गर्ने २६ जनासहित आपराधिक क्रियाकलापमा लाग्ने ४६ जना नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री