त्रिशुली दुर्घटनामा आठको मृत्यु, चारको सनाखत

दुर्घटनाकी घाइते । तस्विर- इकान्तिपुर

चितवन, १३ मंसिर – काठमाडौँबाट अर्घाखाँची जान नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङटारमा आज बिहान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २१ जना घाइते भएका छन् । तीन जना बेपत्ता रहेको प्रहरीको अनुमान छ ।

सात जनाको घटनास्थलमै र एकको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृत्यु हुनेमा अर्घाखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १ का ५० वर्षीय कृष्ण ढकाल रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

उपचारका लागि काठमाडौँको बिएण्डबी अस्पताल पुरयाइएकी सन्धिखर्क नगरपालिका– ४ अर्घाखाँची बस्ने ४३ वर्षीया लक्ष्मी पौडेलको उपचारका क्रममा मृत्यु भएको छ । अन्य चार जनाको भने सनाखत हुन सकेको छैन ।

थापाका अनुसार लु२ख २९१ नंको उक्त बस काठमाडौँतर्फ जाँदै गरेको ना६ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो । ट्रकका चालक र सहचालक पनि सामान्य घाइते भएका छन् । सामान्य उपचारपछि उनीहरुलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।

घाइतेमध्ये नौ जनाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा र १२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र ११ जनालाई एम्बुलेन्सबाट काठमाडौँ पठाइएको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका– १ बस्ने ३४ वर्षीय सूर्य भट्टराई, अर्घाखाँची जिल्ला बुद्धिभूमि नगरपालिकाका ३२ वर्षीय कमल सुनार, अर्घाखाँची जिल्ला सन्धिखर्क–१ बस्ने ३५ वर्षीया तिलसा घर्तीमगर, अर्घाखाँची जिल्ला सिद्धिगंगा– ३ बस्ने २८ वर्षीय पदम रायमाझी र बाणगंगा–९, कपिलवस्तुका १८ वर्षीया सविना थारुको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

यसैगरी, अर्घाखाँची जिल्लाका ३४ वर्षीय ध्रुव दमासे, १५ वर्षीया निशा थापा, २४ वर्षीय पवन महत, ४० वर्षीय दधिराम गैरे, सरिता न्यौपाने, रामबहादुर विक र केशरमणि न्यौपानेको बिएण्डबी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बसका सहयोगी चालक प्यूठान बागेमोड– २ का १९ वर्षीय सुनील क्षेत्री, अर्घाखाँची जिल्ला भूमिकास्थान– ४ की २१ वर्षीया इन्दिरा दमासे, अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकाका ३० वर्षीय गोविन्दबहादुर सुनारको भरतपुर शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।

त्यसैगरी, बसका चालक कपिलवस्तु भृकुटी नगरपालिका– ९ का ४० वर्षीय थमबहादुर क्षेत्री, अर्घाखाँची नुवाकोट– ७ बस्ने २१ वर्षीय राजेन्द्र रायमाझी, बाँके जिल्ला कोहलपुर– ३ बस्ने ४० वर्षीया उमा पोखरेल, अर्घाखाँची जिल्ला भूमिस्थान– ४ का सन्दीप दमासे, अर्घाखाँची जिल्ला खनदह– ४ का ४२ वर्षीय माधव खनाल र छ महिनाका एक बच्चाको पनि पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामान्य घुमाउरो सडकमा ट्रकमा बस ठोक्किएर अनियन्त्रित भई नदीमा खसेको हो । बस त्रिशूली नदीमा पूरै डुबेको छ । बस नदीको करिब २५ मिटर गहिराइमा फेला परेको गोताखोरलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बस नदीबाट निकाल्ने प्रयास थालिएको छ । काठमाडौँबाट क्रेन मगाइएको भए पनि आज साँझ करिब ५.०० बजे मात्रै क्रेन आइपुगेकाले भोलि बिहानदेखि बस निकाल्ने काम शुरु हुने प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल मुग्लिनबाट करिब १६ किलोमिटर काठमाडौँतर्फ पर्दछ । घटना बिहान ९.१५ बजे भएको हो । सो बस काठमाडौँबाट बिहान ५.४० बजे हिँडेको हो । बसका सहयोगी चालक सुनील क्षेत्रीका अनुसार बसले काठमाडौँको काउन्टरबाट २६ जना यात्रुको चलानी लिएको थियो भने र कलंकीमा चार जना चढेका थिए ।

चालक र सहयोगी चालक गरी बसमा ३२ जना सवार रहेको क्षेत्रीको भनाइ छ । थप तीन जना बेपत्ता भएको आशंकामा प्रहरीले नदीमा खोजी कार्यलाई जारी राखेको छ ।

उद्धारपछि उपचारका लागि भरतपुरतर्फ पठाइएका तीन जना घाइतेका आफन्तले बीचबाटोबाटै फर्काएर काठमाडौँ उपचार गर्न लगेपछि सञ्चारमाध्यममा घाइतेको संख्या फरकफरक आएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री