विवादकाबीच कार्यक्रम गर्न लन्डन आइपुगे आले

लन्डन । यूके आउन एक आयोजकलाई वचन दिएर अर्को आयोजकसंग सम्झौता गरेपछि विवादमा तानिएका नेपाल आइडल टप फोर सागर आले मंगलबार सांझ लन्डन उत्रिएका छन् । आले, उनका दाई बीग आइकन साजन आले र लोकगायिका माया (इन्द्र) गुरुङ बेलायत ओर्लिएका हुन् ।

नेपाल आइडल टप फोरबाट बाहिरिंदा आलेलाई ठूलो आर्थिक सहयोग गरेको बेलायतस्थित जातीय संगठन 
मगर संघ यूकेले यहां बोलाउने तयारी गरिरहंदा आलेले 
अर्कै आयोजकसंग पहिल्यै आउने सम्झौता गरेपछि विवादमा तानिएका थिए ।

मगर संघ यूकेले ‘सागर आले सांझ’ मा संस्थागत सहभागिता र सहयोग नगर्ने बताइसकेको छ । मंगर संघ यूके अध्यक्ष नेम थापाका अनुसार, स्वतन्त्र रुपमा जसले सहयोग गरेपनि उक्त कार्यक्रममा संस्थाको संलग्नता रहने छैन् । ‘आयोजकहरु केही मगर भएपनि उनीहरुको व्यक्तिगत रुपमा संलग्नता हो, संस्था आवद्ध हुने छैन्’, थापाले प्रष्टयाए । त्यसो त यसअघि संघले विज्ञप्ति नै जारी गरेर आलेको कार्यक्रममा आफूहरुको सम्बन्ध नरहने उल्लेख गरेको थियो ।

बेलायतमा ठूलो सञ्जाल रहेको संघको प्रत्यक्ष सहयोग नहुंदा कलाकारत्रयको कार्यक्रम फिक्का हुने कतिपयको आशंका छ । महंगो पारिश्रमिक डिमाण्ड गरेको, कहिले यूके नआए पनि मलाई फरक पर्दैन भन्ने, कहिले मेरा अरु साथी पनि शोमा आउन पाउनु पर्छ भन्दै शर्त राखेको, घमण्ड प्रदर्शन गरेको जस्ता आरोप लगाएर इन्द्र घोताने, निरा पिजीहरुको समूह पनि आलेसंग रुष्ट छन् । इन्द्र, निरा लगायत सम्मिलित समूहले जितु नेपाल, सुरज थापा र केन्जल मेहर श्रेष्ठको शो गरिसकेको छ । यसअघि बेलायतका विभिन्न शहरमा नेपाल आइडल विजेताहरु बुद्ध लामा, निशान भट्टराई, प्रताप दास, प्रमिला राई आदिको कार्यक्रम भइसकेको छ । एकपछि अर्को कार्यक्रम हेरेर थाकिसकेका बेलायतस्थित नेपाली दर्शकलाई आलेले कति आकर्षित गर्ने हुन् सबैको चासो छ ।

केही आयोजकले मिडियातिर ‘प्रपोगाण्डा’ का रुपमा कार्यक्रमको टिकट ‘सोल्ड आउट’ भइसकेको दाबी गरेपनि टिकट बिक्री हुन बांकी रहेको कार्यक्रम सहयोगी एवं एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङले जानकारी दिए । उनको दाबीमा अल्डरसटमा ८० प्रतिशत, केन्ट ६५ प्रतिशत र लन्डन शोको ८० प्रतिशत टिकट बिक्री भएको छ ।

डिसेम्बर १ मा अल्डरसटस्थित एम्पायर हल, दोश्रो शो २ डिसेम्बर सांझ हकिन्ज कम्युनिटी सेन्टर फोकस्टन केन्ट र तेश्रो शो ३ डिसेम्बर सांझ लन्डनस्थित आर्क एल्भिन एकेडेमी एभिन्यू वेम्ली (पहिलेको कोपल्याण्ड स्कुल) मा हुने तयारी छ । लन्डन प्लमस्टिडमा समेत बेग्लै कार्यक्रम गर्न लागिएको छ ।

३२ बक्स इन्टरटेनमेन्टको प्रस्तुतिमा शारदा गुरुङ, रुक आले, ज्योति रजाली मगर, इन्द्र आले थापा, ज्ञान गुरुङ लगायतले संयुक्त रुपमा कार्यक्रम गर्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री