काठमाडौँमा वाम गठबन्धनको घरदैलो पूरा

Madhab K Nepal

एमालेका नेता माधवकुमार नेपाल लगायत नेताहरु । तस्बिर – प्रदीपराज वन्त, रासस

काठमाडौँ, ६ मंसिर – वाम गठबन्धनका काठमाडौँका उम्मेदवारले आफ्नो चुनावी प्रचारका लागि अधिकांश स्थानमा घरदैलो कार्यक्रम सकाएका छन् ।

पार्टी एकताको उद्घोषसहित चुनावी तालमेलमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले हालसम्म १० वटै निर्वाचन क्षेत्रमा करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेको (एमाले)का केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सावित्रा भुसालले जानकारी दिनुभयो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल क्रमशः क्षेत्र नं २ र ५ का उम्मेदवारसमेत रहनुभएका कारण उहाँहरु र अन्य उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त बन्नुभएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं २ अन्तर्गत नेता नेपाल आज बिहान कोटेश्वरको घरदैलो कार्यक्रममा सहभागी हुनुभएको थियो ।

काठमाडौँ क्षेत्र नं १ मा गठबन्धनका उम्मेदवार अनिल शर्मा आज अनामनगर र घट्टेकुलोमा प्रचारमा निस्कनुभएको थियो ।

एमाले प्रदेश नं ३ का प्रचार विभाग प्रमुख एवं काठमाडौँ क्षेत्र नं २ प्रदेश (क) का उम्मेदवार सानुकुमार श्रेष्ठले यही मंसिर १७ सम्म घरदैलो कार्यक्रमलाई जारी राख्ने बताउनुभयो ।

क्षेत्र नं ३ का उम्मेदवार तथा काठमाडौँ जिल्ला कमिटी अध्यक्ष कृष्ण राईले कोठे भेला, बैठक र सभालाई निरन्तरता दिएको जनाउँदै भन्नुभयो, ‘मतदाताको घरदैलोमा जाने, उहाँहरुसँग भेटघाट गर्ने, समस्या बुझ्नेजस्ता कामलाई हामीले तीव्रता दिएका छौँ, यो काम करिब ७० प्रतिशत पूरा भएको छ ।’ क्षेत्र नं ४ मा आज बूढानीलकण्ठ नगरपालिकामा कार्यक्रम भएको थियो ।

क्षेत्र नं ६ मा वाम गठबन्धनका उम्मेदवार झक्कु सुवेदी, प्रदेशका उम्मेदवार काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापित घरदैलोमा हुनुहुन्छ ।

क्षेत्र नं ८ का उम्मेदवार जीवनराम श्रेष्ठ र एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य विभिन्न भेला, बैठक र घरदैलो कार्यक्रम सहभागी हुनुहुन्छ ।

क्षेत्र न ९ प्रदेश नं १ का उम्मेदवार डा अजय क्रान्ति शाक्यले भीमढुंगा, दहचोक, पुरानो नैकाप, स्युचाटारलगायतका स्थानको ६० प्रतिशत चुनावी प्रचार सकिएको जानकारी दिनुभयो । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभामा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ र क्षेत्र नं १० मा हीतमान शाक्य उम्मेदवार हुनुहुन्छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री