लन्डन दूतावासमा पर्यटन सांझ, नेपालको प्राकृतिक सौन्दर्यको वर्णन

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा मंगलबार सांझ नेपाल पर्यटन प्रवर्धन कार्यक्रम गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपाने कार्यक्रमका प्रमुख अतिथी थिए । उक्त प्रवर्धनात्मक कार्यक्रममा करिब दुई सय सहभागी भए ।

कार्यक्रममा स्थानीय मेयरहरु, काउन्सिलहरु, लन्डनमा जारी विश्वभरका ट्राभल व्यवसायीहरुको मेला वल्ड ट्राभल मार्केट (डब्लुटिएम) मा सहभागिता जनाउन नेपालबाट आएका करिब तीन दर्जन कम्पनीका प्रतिनिधि, बेलायतस्थित नेपाली र बेलायती ट्राभल व्यवसायी, गैर आवासीय नेपाली संघ बेलायतका प्रतिनिधि र अन्य शुभचिन्तकहरुको उत्साहजनक सहभागिता थियो ।

कार्यक्रममा प्रमुख अतिथी पर्यटन सचिव न्यौपानेले बेलायत नेपालबीच गाढा दौत्य सम्वन्धबारे चर्चा गर्दै बेलायत नेपालको पर्यटन विकासमा महत्वपूर्ण सहयोगी मुलुक रहेको उल्लेख गरे । उनले गत वर्ष सन् २०१६ मा ४६ हजार २९५ बेलायती पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिंदै यस वर्षको जुनसम्म नेपाल भ्रमण गर्ने बेलायती पर्यटकको संख्या २६ हजार नाघेको बताए । सन् २०१८ मा पर्यटकसंख्या झन् बढ्ने उनको अपेक्षा थियो । सचिव न्यौपानेले नेपालमा भूकम्पपछि क्षतिग्रस्त पुरातात्विक सम्पदा, ट्रेकिङ रुट र अन्य भौतिक संरचनाहरु पुनर्निर्माण भइसकेको अवगत गराउंदै नेपाल भ्रमणका लागि सुरक्षित रहेको विश्वास दिलाए । नयां संविधानपछि सरकारको स्थायित्व भएको र नेपाल सरकारले पर्यटन विकास र पर्यटकका लागि सेवा, सुविधा अझ विस्तार गरिरहेको उल्लेख गरे । उनले नेपालको निजगढ, भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधिन रहेको जानकारी दिंदै नेपाल भ्रमण गर्न आग्रह गरे । नेपालमा पर्यटकलाई भगवान सरह मान्ने गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालको प्राकृतिक सौन्दर्यको चर्चा गरे । उनले १८ औं शताव्दीदेखि नै बेलायतीले नेपाल भ्रमण गर्न थालेको स्मरण गर्दै बेलायत नेपालको पर्यटन क्षेत्र विकासमा भरपर्दो श्रोत भएको जनाए । राजदूतले यस वर्ष झण्डै ६० हजार बेलायती पर्यटकले नेपाल भ्रमण गर्ने आशा व्यक्त गरे । नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताबारे उल्लेख गर्दै राजदूतले साहसिक पर्यटन जस्तै हिम शिखर आरोहण, ट्रेकिङ, जंगल सफारी, रयाफटिङ आदिका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको समेत बताए । लोन्ली प्लानेटले सन् २०१७ मा घुम्न उत्कृष्ट देशमा नेपाललाई ५ औं स्थानमा राखेको समेत उनले जानकारी दिए । उनले ट्रिप एडभाइजर, न्यूयोर्क टाइम्स लगायत अन्तर्राष्ट्रिय मिडियाले नेपाल होलिडेका लागि उत्कृष्ट गन्तव्यमा राखेको बताए ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा स्लाइड शो प्रिजेन्टेसनमार्फत नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले नेपालको प्राकृतिक सौन्दर्य, भौगोलिक तथा सांस्कृतिक विविधता, भाषा, धर्म, हिम श्रृंखला आदिबारे जानकारी दिंदै नेपाल भ्रमण गर्न सबैमा आग्रह गरे । उनले बीबीसी जस्तो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मर्नु अघि एकपटक नेपाल घुम्न जानै पर्ने उल्लेख गरेको बताउंदै बेलायती राजकुमार हयारीले नेपालको सौन्दर्य देखेर भ्रमण अवधि लम्ब्याएको स्मरण पनि गरे ।

उक्त अवसरमा रोयल बोटानिकल गार्डेन एडिनबराका डा. मार्क वाट्सनले नेपालको वनस्पति, जैविक विविधता र हालै एडिनबरामा नेपाली उद्यान स्थापनाबारे जानकारी दिए । उनले रोयल बोटानिकल गार्डेनले नेपालमा वनस्पति संरक्षणका बारेमा गरेका गतिविधिबारे समेत उल्लेख गरेका थिए ।

कार्यक्रममा नेपालको कला संस्कृति झल्कने मौलिक नाच, खस नाच, मन्जुश्री नाच, तामाङ सेलो, धिमे बाजा आदि प्रस्तुत गरिएको थियो । गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई र अमृता गिरीले डांफे झैं नाच्ने हिमाल झैं हांस्ने… बोलको गीतमा उत्कृष्ट नाच देखाएर अतिथीहरुको मन जिते । यो नेपाली शीर उचाली…गीतमा समेत नाच प्रस्तुत गरियो । सो अवसरमा नेपालको पर्यटन सम्वन्धि वृत्तचित्र देखाइएको थियो ।

स्विरः शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री