
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा चितवन–३ बाट मनोनयन दर्ता गर्दै । तस्वीर – नारायण अधिकारी, चितवन, रासस
काठमाडौँ, १६ कात्तिक – नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरणका रुपमा मानिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा देशभरि नै उल्लासमय वातावरणमा मनोनयन दर्ता भएको छ ।
प्रमुख राजनीतिक दलदेखि साना राजनीतिक दलका नेताले आआफ्नो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर १० र २१ गते हुन लागेको निर्वाचनलाई भव्य र सभ्य बनाउन लगाउने लक्ष्यका साथ आफूहरु प्रतिस्पर्धामा होमिएको उनीहरुको टिप्पणी छ ।
नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका शेरबहादुर देउवाले वारेशनामा गणेश पन्तमार्फत डडेल्धुरामा आफ्नो मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनका तर्फबाट खगराज भट्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै काँग्रेसकै अर्का नेता गोविन्दराज जोशीले समेत सोही क्षेत्रबाट प्रतिस्पर्धी हुनुहुन्छ । वाम गठबन्धनका तर्फबाट किसान श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउन जाने क्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरु । तस्बिर – सुर्यचन्द्र बस्नेत, रासस
काँग्रेसका महामन्त्री शशांक कोइराला नवलपरासी–१ बाट उम्मेदवार बन्नुभएको छ । काँग्रेसका अर्का नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ बाट उम्मेदवार हुनुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनले रामसिंह यादवलाई प्रतिस्पर्धामा उतारेको छ भने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसमेत सोही क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ ।
यसैगरी काँग्रेस नेता कृष्ण सिटौला झापा–३, विजयकुमार गच्छदार सुनसरी–३, मीनेन्द्र रिजाल मोरङ–२ बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
त्यस्तै काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौँ– १ बाट उम्मेदवारी दिनुभएको छ । उहाँका प्रतिस्पर्धीमा वाम गठबन्धनबाट विद्यार्थी नेता अनिल शर्मा र विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र चुनावी मैदानमा हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं ४ मा काँग्रेसका युवा नेता गगन थापा र वाम गठबन्धनका तर्फबाट राजन भट्टराई प्रतिस्पर्धी हुनुहुन्छ ।
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा काँग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । अधिकारी त्रिचन्द्र क्याम्पसको प्राध्यापकबाट राजीनामा दिएर उम्मेदवार बन्नुभएको हो ।
यस्तै इलाम क्षेत्र नं १ बाट एमालेका वरिष्ठ नेता झलनाथ खनाल र सोही जिल्लाको क्षेत्र नं २ बाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेता खनालको प्रतिस्पर्धीका रुपमा काँग्रेसले भूपेन्द्र कट्टेललाई उम्मेदवार बनाएको छ भने पूर्वसभामुखसमेत रहनुभएका नेम्वाङको प्रतिस्पर्धीका रुपमा काँग्रेसले केशव थापालाई उम्मेदवार बनाएको छ ।
यस्तै काठमाडौँ क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री माधकुमार नेपालले आफ्नो उम्मेदवारी दिनुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा काँग्रेसले दीपक कुइँकेललाई उम्मेदवार बनाएको छ । काठमाडौँ क्षेत्र नं ५ बाट वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा एमाले महासचिव ईश्वर पोखरेल र काँग्रेसका तर्फबाट डा प्रकाशशरण महत उम्मेदवार हुनुहुन्छ ।
एमालेका उपाध्यक्ष वामदेव गौतमले बर्दिया क्षेत्र नं १ बाट उम्मेदवारी दिनुभएको छ । गौतमको प्रतिस्पर्धीका रुपमा काँग्रेसले सिँचाइ मन्त्रीसमेत रहनुभएका सञ्जय गौतमलाई उम्मेदवार बनाएको छ । वाम गठन्धनका तर्फबाट एमाले उपाध्यक्ष भीम रावल अछाम १ बाट उम्मेदवार हुनुहुन्छ भने उहाँको प्रतिस्पर्धीका रुपमा काँग्रेसबाट भरतकुमार स्वाँर चुनावी मैदानमा हुनुहुन्छ ।
एमालेका उपमहासचिव विष्णु पौडेल रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवार हुनुहुन्छ भने उहाँको प्रतिस्पर्धीका रुपमा युवराज गिरीलाई काँग्रेसले उम्मेदवार बनाएको छ ।
यसैगरी पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँका प्रतिस्पर्धीका रुपमा काँग्रेसको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डेले उम्मेदवारी दिनुभएको छ ।
नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले पहिलो चरणको निर्वाचनका लागि गोरखा क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराईसक्नुभएको छ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा रहनुभएका महराको प्रतिस्पर्धीका रुपमा काँग्रेसले राजु खनाललाई मैदानमा उतारेको छ । यस्तै माओवादी केन्द्रका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अर्घाखाँचीबाट उम्मेदवार बन्नुभएको छ । उहाँका प्रतिस्पर्धीका रुपमा रामबहादुर विसी हुनुहुन्छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल ललितपुर क्षेत्र नं ३ बाट, सोहि पार्टीका नेता गिरिराजमणि पोखरेल महोत्तरी– १ बाट, हितमान शाक्य काठमाडौँ– १० बाट र झक्कु सुवेदी काठमाडौँ– ६ बाट उम्मेदवार हुनुहुन्छ । माओवादी केन्द्रका अर्का नेता मातृकाप्रसाद यादव धनुषा क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको छ भने उहाँको प्रतिस्पर्धीका रुपमा काँग्रेसका आनन्दप्रसाद ढुंगाना हुनुहुन्छ । धनुषा–२ बाट वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा रामचन्द्र झा उम्मेदवार हुनुहुन्छ । उहाँका प्रतिस्पर्धीका रुपमा कृषि विकासमन्त्रीसमेत रहनुभएका काँग्रेसका नेता रामकृष्ण यादव हुनुहुन्छ । पूर्वसूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की झापा क्षेत्र नं १ बाट उम्मेदवार हुनुहुन्छ । उहाँका प्रतिस्पर्धीका रुपमा काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा हुनुहुन्छ ।
माओवादी केन्द्रका नेत्री उर्मीला अर्याल पर्सा– ४ बाट र नेता प्रभु साह रौतहट– ३ बाट उम्मेदवार बन्नुभएको छ ।
यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनका तर्फबाट उमेशकुमार यादव, काँग्रेसबाट सकलदेव सुतीहार र स्वतन्त्ररुपमा राजपाका तर्फबाट जयप्रकाश ठाकुरले उम्मेदवारी दिनुभएको छ ।
सोही पार्टीका अर्का नेता अशोक राई काँग्रेसको समर्थनमा सुनसरी क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले काँग्रेससहितको समर्थनमा मकवानपुर क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनले कृष्णप्रसाद दाहाललाई उम्मेदवार बनाएको छ ।
राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर महोत्तरी– ३ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । उहाँका प्रतिस्पर्धीका रुपमा सोही दलका सांसद चन्द्रेश्वर झा स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा