घाटबेसी बस दुर्घटनामा मृतक संख्या ३०, २० को सनाखत

पृथ्वीराजमार्ग अन्तरगत धादिङको घाटबेसी बाङ्गेबाटा शनिबार बिहान त्रिशुली नदीमा खसेर दुर्घटना ग्रस्त ना ६ ख १४६७ नम्बरको यात्रु बसका मृतक यात्रुको शव सङ्कलन तथा घाइते यात्रुको उद्धार कार्यगर्दै सुरक्षा निकाय र राजमार्ग उद्धारकर्मीहरु । तस्वीर – सीताराम अधिकारी, रासस

मलेखु (धादिङ), ११ कात्तिक (रासस) – धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीको बांगेको घुम्तिमा आज बिहान भएको दुर्घटनामा मृतकको संख्या ३० पुगेको छ

अहिले साँझसम्म उद्धार कार्य जारी रहेको मृतकमध्ये २० जनाको सनाखत भएको धादिङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ की ३५ वर्षकी सिसिपीकुमारी झा, वडा नं ३ का ३८ वर्षका रञ्जितकुमार झा, वडा नं १ का ३३ वर्षीय अञ्जितकुमार झा, बोदेबर्साइन गाउँपालिका–२ का छ वर्षीय आदित्य यादव, सोही गाउँपालिका वडा नं ३ की चन्द्ररेखा प्रणामी, सप्तरी नेरेयाका २४ वर्षीय रामान्द यादव, २५ वर्षीय पार्वती यादव र तीन वर्षीय सुशन चौधरी हुनुहुन्छ ।

दुर्घटनामा मृत्यु भएका गाडी सहचालक सप्तरी देउरीमरुवाका नरेश मुखिया, राजविराज नगरपालिका–१६ का ७४ वर्षीय चन्द्रावती झा, सिरहा गोलबजार–८ का ५० वर्षीय राजकुमार यादव, भारत मधुवनीका ममतादेवी ठाकुरको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिनुभयो ।

यसैगरी सप्तरी जिल्ला कृष्णबसरन गाउँपालिका–४ का २८ वर्षीय सुधिरा यादव, सोही स्थानका पाँच वर्षीया सदीक्षा यादव, सप्तरी बसेजका ३० वर्षीय सुरेन्द्र चौधरी, बोदेबर्सान गाउँपालिका–२ का अस्कीकुमारी यादव, राजविराज नपा–१३ का ऋषि आनन्ददेव, सिरहा नपाका ३० वर्षीय उदय मण्डल, सप्तरी महादेवा गाउँपालिका–९ की प्रमोद इसार, राजविराज नगरपालिका–१४ का २० वर्षीय आदित्य झाको सनाखत भएको छ ।

दुर्घटनापछि अहिले साँझसम्म उद्धार कार्य भइरहेको छ । दुर्घटनाका मृतकको संख्या ३० जना पुगेको छ । १० जनाको अझै सनाखत भएको छैन ।

सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको यात्रु बस नदीमा खसेर हराएपछि १५ जनाको उद्धार गरिएको थियो । घाइतेमध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अत्याधिक गतिका कारण बस दुर्घटनामा परेको बताइएको छ । घाइते यात्रु मनोजकुमार ठाकुरले भन्नुभयो, ‘तीव्र गतिका कारण बसेको सिटमा अडिएर बस्न समेत समस्या भएको थियो ।’

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना, स्थानीयवासी र नेपाल रेडक्रस परिचालन भएका छन् ।

बस दुर्घटना छानबिन गर्न समिति गठन

काठमाडौँ- सरकारले धादिङमा आज भएको बस दुर्घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार उक्त छानबिन समितिमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी बलका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक सम्मिलित समिति गठन गरेको हो ।

मन्त्रालयले दुःखद् घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यात्रा गर्दा यात्रु वर्ग र सम्बद्ध सबै निकायले आ–आफ्नोतर्फबाट सावधानी अपनाउन र ट्राफिक व्यवस्थापनमा उचित ध्यान दिनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

राजविराजबाट काठमाडौँ आउँदै गरेको ना६ख १४६७ नं को यात्रुवाहक बस आज बिहान ५ बजेर ५५ मिनेटमा गजुरी गाउँपालिका–५ पोखरे खोलास्थित बांगेमोडमा अनियन्त्रित भई राजमार्गबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

गृह मन्त्रालयले हालसम्म ३० जनाको घटानस्थलमै मृत्यु भएको र १६ जना घाइते भएको जानकारी प्राप्त भएको जनाएको छ ।

गम्भीर घाइतेमध्ये दुई जनालाई ट्रमा सेन्टर काठमाडौँमा र अन्य घाइतेलाई गजुरीस्थित अस्पतालमा उपचारका लागि पठाइएको छ । खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र घाइतेको उचित उपचारको प्रबन्ध गर्ने व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री