काठमाडौँ र पोखरामा पनि छठ पर्व समापन

छठ पर्वको अन्तिम दिन शुक्रबार भक्तपुरको कमलपोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालु महिला । छठ कार्तिक शुक्ल चतुर्थीदेखि शुरु भई सप्तमीको दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्व समापन भएको छ । तस्बिर – लक्ष्मी गारु, भक्तपुर, रासस

काठमाडौँ, १० कात्तिक (रासस) – उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दान गरी आज बिहान यहाँ यस वर्षको छठ पर्व समापन गरिएको छ ।

कार्तिक शुक्ल चतुर्थी अर्थात् मंगलबारदेखि शुरु भएको छठ पर्वको मुख्य दिन बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो । अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रर्तालु छठ घाटमा जाग्राम बसी आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिए ।

उपत्यकामा पशुपति क्षेत्रस्थित गुह्श्वरी मन्दिरअगाडिको वाग्मती नदी किनार, कमल पोखरी, नाग पोखरी, गहना पोखरी, थापाथली, कुपण्डोललगायत वाग्मती, विष्णुमती र नख्खु खोला किनार गरी २० स्थानमा छठ पर्व मनाइएको छठ पूजा समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिनुभयो ।

यस वर्षदेखि सरकारले उदाउँदो सूर्यलाई अर्घ दिइने कार्तिक शुक्ल सप्तमी अर्थात् आज शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । छठ वर्तालुले आज पनि सार्वजनिक बिदा दिने सरकारको निणर्यको स्वागत गरेका छन् ।

सूर्यलाई अर्घ दिइ छठ सम्पन्न 

यसैगरी, पोखराबाट प्राप्त समाचार अनुसार यहाँ पनि आज बिहानको उदाउँदो सूर्यलाई अर्घ दिइ यहाँ आज छठ पर्व सम्पन्न भएको छ । छठ पर्व सम्पन्न भएपछि श्रद्धालु भक्तजनलाई प्रसाद वितरण गरिएको थियो ।

पोखराको फेवातालको किनार, केदारेश्वर मन्दिर, नदीपुरको नारायणस्थान मन्दिर र कालीखोलाको संगमस्थल रिठाघाट त्रिवेणीधाममा बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिई भक्तजन निराहार बसी रातभरि नै पूजापाठ गरी पर्व मनाएका थिए ।

छठ पर्व स्थललाई रङ्गीविरङ्गी ध्वजापताकाबाट सिँगारिएको र वर्तालु रातभरि नै जाग्राम बसी भजन कीर्तन, नाचगानसमेत गरेका थिए । छठ पर्वले परिवारको सुख, शान्ति, समृद्धि एवं सधैँ निरोगी हुने हुनाले यसको महत्व बढ्दै गएको रिठाघाट त्रिवेणी धाम मेला व्यवस्थापन समितिका संयोजक एवं प्राध्यापक देवनारायण सुतिहारले जानकारी दिनुभयो ।

केही वर्षअघिसम्म तराईमा मात्रै मनाइने छठ पर्व पछिल्ला दिनमा पहाडका मुख्य शहरमा पनि धुमधामसँग मनाउन थालिएको छ ।

विभिन्न व्यापार व्यवसायका लागि पोखरा आएका तराई मूलका मानिस र पहाडी मानिस एकै ठाउँमा भेला भई संयुक्तरुपमा पर्व मनाउन थालेका छन् ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मंगलबार अरबा–अरबाइन, दोस्रो दिन बुधबार खरना, तेस्रो दिन बिहीबार अस्ताउन लागेको सूर्य र चौथो दिन आज उदाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व सम्पन्न भएको हो ।

उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन

—हिमांशु चौधरी 

जनकपुरधाम, १० कात्तिक (रासस) – आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले यहाँ आज उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् ।

मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा छ ।

व्रतालुहरु यहाँका इतिहासवर्णित सरोवर गंगासागर, धनुषसागर, अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएका विशेष प्रकारको पकवानसहित सूर्यलाई अर्घ अर्पण गरेका थिए ।

अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ ।

सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जुन यसको महत्वपूर्ण पक्ष हो ।

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुखदुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोका रूपमा लिइनु हो । धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नुले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिकता विशेषता हो, जो आडम्बरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धनप्राप्ति हुने जनविश्वास छ ।

छठ पर्व मनाउनुका पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।

छठका अवसरमा बेहुली झैँ सिँगारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुको भीड पनि दर्शनीय रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री