छठमा राष्ट्रपति, अस्ताउँदो सूर्यको पूजा आराधना

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार छठ पर्वको अवसरमा गुहृेश्वरी मन्दिर अगाडि बागमती नदीमा राखिएको छठी माताको पूजा गर्नुहुँदै । तस्बिर – रत्न श्रेष्ठ, रासस

काठमाडौँ, ९ कात्तिक (रासस) – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइएको छ ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा स्थापित छठी माताको मन्दिरमा पूजा गरी वाग्मती नदीमा अस्ताउँदो सूर्यलाई अर्घ दिनुभयो । उहाँले कमलपोखरीमा पनि स्थापित छठी मातालाई पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ दिनुभयो ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यस पर्व मंगलबारदेखि शुरु भएको हो । छठको मुख्य दिन आज बेलुकी वर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । ‘महाभारत’मा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डवबाट अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट् राजाको दरबारमा आश्रय लिएको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणानुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको विश्वास गरिन्छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यविना रुख, बिरुवा, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त भएको उल्लेख छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य प्रसन्न भई वर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्काबाट व्रत गराउने गर्छन् । अर्थ अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

छठ पर्वको अवसरमा बिहीबार गुहृेश्वरी मन्दिर अगाडि बागमती नदीमा छठी माताको पूजाआजाका साथ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालुहरु । तस्बिर – रत्न श्रेष्ठ, रासस

व्रतविधि 

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति वर्तालुले प्रसादस्वरुप खाने र नून नखाई एक छाक फलाहार गरिन्छ । यस पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआरधाना गरी अर्घ दिने विधिविधान रहेको स्थानीयवासी जीतेन्द्र झाले बताउनुभयो ।

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ दिएपछि पर्व समापन हुन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । विसं २०४६ अघि तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । सरकारले यस पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ । यस वर्ष भने छठको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिइने दिन पनि सार्वजनिक बिदा दिइएको छ ।

छठ पर्वका लागि राजधानीका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका वर्तालु कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिइएपछि छठ पर्व सम्पन्न हुन्छ ।

छठ पर्वमा जातीय विभेद !

– सञ्जय मिश्रा

रौतहट ९ कात्तिक, (रासस) – परापूर्वकालदेखि तराई मधेशमा मनाइँदै आइएको लोकपर्व छठ पछिल्लो समय लोकप्रियता बढेर देशव्यापी बनेको छ ।

अहिले राजधानी काठमाण्डौं र पोखरामा मात्र नभई कतिपय ठाउँका मुस्लिम समुदायले पनि उत्साहका साथ छठपर्व मनाउन थालेका छन् । तर तराई मेधशमै छठपर्वमा जातीय विभेद भने कायमै रहेको देखिएको छ ।

सरकारबाट छुवाछूत अन्त्यको घोषणा भइसकेको अवस्थामा पनि शहरी क्षेत्रबाहेक ग्रामीण स्थानमा भने छठपर्वमा अहिलेसम्म पनि जातीय विभेद कायमै छ ।

कटहरिया नगरपालिकाको कटहरियागाउँ, बजारटोल, बहादुरपुरटोल, टोलापुरका करिब पाँचसय परिवारका व्रतालु लालबकैया नदी छेउमा दशकौंदेखि छठीपर्व मनाउँदै आएका छन् । परम्पराअनुसार लगानी सानो ठूलो भए पनि पर्व भन्ने सबैले एउटै ढंगबाट मनाउँदै आएका छन् ।

वर्षैभर अथवा सधैं एकैस्थानमा बस्ने भए पनि छठपर्व मनाउन छुुटाछुट्टै ठाउँको प्रयोग गर्ने गरिन्छ । पानी नचल्ने भनिएका दलितमध्येका जातजातिको छुट्टाछुट्टै मण्डप रहेको छ भने अल्पसंख्यक, पिछडा वर्ग र बहुसंख्यकको छुट्टै पर्व मनाउने मण्डप देखिएको छ ।

त्यसैगरी, बजारटोलको भने त्यसभन्दा फरक अर्थात् सबै व्रतालुको एउटै मण्डप रहेको छ । संयुक्त मण्डपमा बजारका व्रतालुु सबै एकैठाउँमा बसेर छठपर्व मनाइरहेका छन् भने दलित र अल्पसंख्यक छुट्टाछुट्टै मण्डपमा बसेर पर्व मनाइरहेका छन् ।

कटहरिया–४ चमारटोलका भुटा महरा चमारका छोरा रामाशंकर आफ्ना जातिका व्रतालुहरू धेरै समयअघिदेखि नै अलग मण्डप बनाएर पर्व मनाउँदै आएकाले सोही परम्परालाई कायम राखेको बताउनुहुन्छ ।

दलितमध्येका बिन्दादेवी धनकारले अन्य जातिसँग बसेमा छुवाछूत हुने भएको कारण आफूहरू थोरै संख्यामा भए पनि छुट्टै बसेर पर्व मनाउँदै आएको बताउनुभयो ।

कटहरियामा तीन कार्यकाल गाविस अध्यक्ष रहिसकेका पूर्व गाविस अध्यक्ष जादोलाल महतोले छठपर्वमा जातीय विभेद प्रजातन्त्रपछि आएको बताउनुहुन्छ ।

उहाँका अनुसार पञ्चायतकालमा कटहरियाका सबै जातजातिका व्रतालु एकै मण्डपमा छठपर्व मनाउँथे तर, प्रजातन्त्रपछि छुवाछूतको कुरा चलेकाले सबै अलग अगल मण्डप बनाएर पूजा गर्ने चलन सुरु भएको हो ।

लालबकैया नदी किनारमा अलग अलग जातिले १० वटा मण्डप बनाएर पर्व मनाइरहेका छन् ।

आठ-दश फिटको दूरीमा दलित सरभंग, चमार, धनखार, धोबी, तत्मा, डोम, कुम्हार जस्ता जातिले अलग अलग मण्डप बनाएका छन् भने कोइरी, नुनिया, सोनार, कलवार, तेली, यादव, बाहुन, बनियालगायतका जातजाति एउटै मण्डपमा बसेर पूजा गरिरहेका छन् ।

कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा छठपर्व लोकपर्व रहेको र परम्परादेखि सबै जातजाति अलग अलग बसेर मनाइँदै आइएकाले त्यसले कतै न कतै जातीय विभेदलाई झल्काएको स्वीकार्नुहुन्छ ।

पूर्व शहरी विकासमन्त्री प्रभु साह छठ पर्वमा देखिएको जातीय विभेद क्रमशः शहरबाट हट्दै गएको र आउँदा दिन ग्रामीण भेगबाट त्यो समस्या हट्ने विश्वास व्यक्त गर्नुहुन्छ ।

कटहरिया नगरपालिकामा मात्र यस्तो जातीय विभेद कायम रहेको नभै मधेशको रौतहट, बारा, पर्सालगायत प्रायः सबै जिल्लाका ग्रामीण भेगमा यो समस्या छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री