लोकतन्त्र समाप्त पार्ने तत्वहरु एकजुट भए – प्रधानमन्त्री

भक्तपुर, ३ कात्तिक (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं विमोचन कार्यक्रमलाई सम्बोद्धन गर्दै उहाँले भन्नुभयो – ‘लोकतन्त्रलाई जोगाउने चुनौती अहिले खडा भएको छ ।’

काँग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले ‘लोकतन्त्र, प्रजातन्त्र र जनताको अधिकारलाई कुनै पनि हालतमा अक्षुण्ण राख्न जरुरी छ, लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएका छन्’, भन्दै  ‘लोकतन्त्रको खतरा टार्न आसन्न निर्वाचनमा काँग्रेसको विजयी जरुरी छ’,  बताउनुभयो ।

वाम गठबन्धनले प्रजातन्त्र खतरामा परेको उल्लेख गर्दै उहाँले प्रजातन्त्र नमान्नेहरु एकमत भएकाले प्रजातन्त्रमाथि खतरा आएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री देउवाले कम्युनिस्ट अधिनायकवाद ल्याएर जनतामा डर, त्रासको शासन गर्न खोजेको बताउँदै ‘कम्युनिस्ट साम्राज्य ल्याएर अधिनायकवाद लाद्दै राणा शासनभन्दा पनि डरलाग्दो शासन चलाउन खोज्दैछन्’, भन्नुभयो ।

राष्ट्रवादको कुरा गर्ने कम्युनिस्टहरु कुनै हालतमा राष्ट्रवादी हुनै नसक्ने भन्दै उहाँले प्रजातन्त्र विरोधी शक्तिलाई परास्त गर्न नेपाली काँग्रेस एकढिक्का भएर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसले आन्तरिक मतभेदलाई अन्त्य गर्दै एकढिक्का भएर बढे काँग्रेसलाई कसैले परास्त गर्न नसक्ने बताउँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराएर पूर्णरुपमा संविधान कार्यान्वयन गराई स्थायीरुपमा लोकतन्त्रलाई अगाडि बढाउनेतर्फ सरकार लागेको छ भन्नुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले वाम गठबन्धनबाट नेपाली काँग्रेस आत्तिएको छैन भन्दै राणा, पञ्चायत, एमाले र माओवादीसँग लड्दै आएको काँग्रेस अझै लड्न तयार भएको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले ‘जय नेपाल भक्तपुर’ नामक स्मारिकाको विमोचन पनि गर्नुभयो ।

काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव उद्धव सिलवाल, काँग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति नारायण खायमली, क्षेत्र नं २ का सभापति जीवन खत्रीलगायतले आसन्न निर्वाचनमा काँग्रेस मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

निर्धारित मितिमा निर्वाचन हुन्छ – देउवा

प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि निर्धारित मितिमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।

‘स्थानीय तहको निर्वाचन सम्पन्न भएका छन्, अब प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नका लागि आगामी मंसिरमा मिति तय भइसकेको छ, सोहि मितिमा निर्वाचन सम्पन्न हुन्छ र देशले राजनीतिक स्थायित्व प्राप्त गर्छ, अब यस कुरामा कसैले शंका नगरे हुन्छ’, उहाँले भन्नुभयो ।

नेपाल संवत् ११३८ का अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिद्वारा ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजनीति स्थायित्व र आर्थिक समृद्धि निर्वाचनले ल्याउने छ भन्नुभयो ।

उहाँले नेपाल संवत् मौलिक संवत्का रुपमा रहेको चर्चा गर्दै यसको संरक्षण, संवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गरिबी र असमानता अन्त्य गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाले नेपाल संवत्को शुरुवात गर्नुभएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले नेपाल संवत् मनाउन रु १० लाख सरकारका तर्फबाट प्रदान गरिने छ भन्नुभयो ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गराउनुभएको थियो । यसैको खुशियालीमा विशेष गरी काठमाडौँ उपत्यकालगायत देश विदेशमा बसोबास गर्ने नेवार समुदायले भव्यरुपमा विविध कार्यक्रम गरी नयाँ वर्षको शुरुवातका रुपमा मनाउने गर्छन् ।

यस वर्षको नेपाल संवत् नयाँ वर्षको नारा ‘नेपाःया म्हसीका, नेपा या गौरव राज्य हे छ्यलेमा- नेपाल संवत्’ रहेको छ ।

सामारोह समितिका संयोजक चित्तरञ्जन नेपालीले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा मान्यता दिएपनि सरकारले सोअनुरुपका व्यवहार गर्न नसकेको चर्चा गर्दै आर्थिक कारोबार गर्दा चेक बुकमा नेपाल सवत्लाई मान्यता दिन, राष्ट्रिय प्रतिष्ठान स्थापना गर्न र नेपाल संवत्का विषयमा पाठ्यक्रम तयार गर्न माग गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानलाई जीवन्त बनाइराख्न महानगरपालिकाले थप विविध कार्य गर्न लागेको जानकारी दिनुभयो ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।

समारोहमा विभिन्न नेवारी परम्परागत झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री