
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव काभ्रे पलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत सम्मिलित निर्वाचन सञ्चालन र व्यवस्थपन तालीमसम्बन्धी समापन कार्यक्रममा बोल्दै । तस्बिर – पेमा लामा, धुलिखेल, रासस
धुलिखेल, काभ्रे, २५ असोज (रासस) – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेकाले उच्चस्तरको सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलसँग आग्रह गर्नुभएको छ ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत सम्मिलित निर्वाचन सञ्चालन र व्यवस्थापन तालीम समापन समारोहमा उहाँले निर्वाचन हुनुपर्छ भन्ने सन्दर्भमा कतैबाट पनि विचलनको अवस्था नदेखिएकाले निर्वाचनका बारेमा आशंका नगर्न सबैसँग अनुरोध गर्नुभयो ।
स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको पूर्ण पालना गर्न- गराउन राजनीतिक दल र सरकारलाई सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई पनि निर्वाचन आयोगले कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गर्नुभयो ।
निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र प्रहरी प्रशासनलाई सहयोग र समन्वय गरेर काम गर्न सुझाव दिँदै उहाँले निर्वाचनका विषयमा भरसक आयोगबाट आदेश दिन नपर्नेगरी जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो ।
आयुक्त सुधीरकुमार शाहले विगतका निर्वाचनको जस्तो कमीकमजोरी र त्रुटि दोहोरिन नदिन समन्वय र सहयोगी भावनाले मिलेर काम गर्न निर्देशन दिनुभयो ।
मुख्य निर्वाचन अधिकृतकोतर्फबाट जिल्ला न्यायाधीश हेमन्त रावलले नेपालको संविधान र संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा हुन लागेको निर्वाचनमा कसैसँग सम्झौता, दबाब र प्रभावमा नपरी इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निर्वाचन अधिकृत हरिशंकर ज्ञावलीले निर्वाचनको महायज्ञको जिम्मेवारीलाई हरतरहले सफल तुल्याउन कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो ।
प्रशिक्षणमा उहाँहरुलाई निर्वाचनमा आउनसक्ने समस्या र समाधानको उपायका बारेमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा निर्वाचनमा खटिने ७७ जिल्लाका जिल्ला न्यायाधीश, जगेडामा राखिएका नौ जना न्यायाधीश र न्याय सेवाका उपसचिवको सहभागिता थियो ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]