लन्डन । बेलायतस्थित जेष्ठ साहित्यिक संस्था ‘नेपाली साहित्य विकास परिषद यूके’ ले आइतबार १०८ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती विभिन्न कार्यक्रमसहित मनायो । वेष्ट लन्डनस्थित एबीआइ कलेज एक्टनमा आयोजित समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि परिषदका पदेन संरक्षक राजदूत एवं वरिष्ठ साहित्यकार डा. दुर्गाबहादुर सुवेदी (दुबसु) ले साहित्यिक सिर्जनात्मक क्षमता र कृतिहरुका आधारमा देवकोटाको स्थान विश्वस्तरका विशिष्ठ साहित्यकारहरुकै पंक्तिमा रहेको गर्वकासाथ भन्न सकिने बताए । उनले महाकवि देवकोटा सरल, दानी र असिमित प्रतिभाका धनी रहेको बताउंदै परिषदले महाकविको जन्मजयन्ती लगायत साहित्यिक गतिविधि निरन्तर गरेर महाकविप्रति सच्चा सम्मान पुरयाएको चर्चा गरे ।
समारोहका परिषद्का वरिष्ठ सल्लाहकार यती संस्थाका पूर्व अध्यक्ष डा. राघव प्रसाद धिताल (ओबीइ) ले महाकवि देवकोटा सामाजिक चिन्तनका योद्धा कवि भएको स्मरण गरे । उनको मुनामदन कृतिले नेपाली समाजमा समानान्तर र समावेशीको आवाज उति बेला नै उठाएको उल्लेख गर्दै धितालले देवकोटा नेपाली साहित्यका प्रेरणाका श्रोत र गर्वका शिखर भएको बताए । परिषद्ले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै देवकोटा, भानु जयन्ती लगायतका साहित्यिक गतिविधि गर्दै आएर बेलायतमा धेरै साहित्यकार जन्माउन प्रेरणादायी र नेतृत्वदायी भूमिका खेलेको पनि डा. धितालले जनाए ।
कार्यक्रमका सभापति एवं परिषदका संस्थापक तथा अध्यक्ष साहित्यकार सुरेशजंग शाहले नेपाली साहित्यलाई फराकिलो बनाउने र समाजलाई हेर्ने सोच बदल्ने महाकविका कृतिहरुले तत्कालिन अवस्थामा एउटा सामाजिक क्रान्तिको उजागर गरेको धारणा राखे । शाहले लन्डनमा कूटनीतिक सेवामा रहंदा परिषद्का कार्यक्रमहरुमा सकृय सहभागिता जनाउने लेखक हरिकुमार श्रेष्ठको कृति विमोचन गर्न पाउंदा परिषदलाई गर्व लागेको पनि बताए ।
कार्यक्रममा परिषद्का सह-अध्यक्ष कवि डा. गोपाल पौड्यालले स्वागत मन्तव्य दिएका थिए । वरिष्ठ सह-अध्यक्ष कोमल मल्ल र महासचिव डा. सुधा श्रेष्ठले कार्यक्रम उद्घोषण गर्दै नेपाली साहित्य आकाशका चम्किला तारा महाकवि देवकोटाको जन्मजयन्ती मनाएर परिषद्ले प्रवासमा साहित्यको प्रेरणा जगाउने काम मात्र नगरि नेपाली भाषा, साहित्य र राष्ट्रियतालाई समेत फैलाउने कार्य गरेको बताए ।
समारोहको आरम्भमा महाकविको तस्विरमा प्रमुख अतिथि तथा सहभागीहरुबाट माल्यापर्ण गरी श्रद्धासुमन अर्पण गरिएको थियो । उक्त अवसरमा कोशेली संस्थापक अध्यक्ष कलाकार मदन थापाले सुमधुर मंगल धुन प्रस्तुत गरेका थिए भने ‘मुनामदन’ को संगीतवद्ध केही अंश गीत वरिष्ठ कलाकार मदन थापाका साथमा परिषदका पूर्व अध्यक्ष कवि हरिसिंह थापा, गायिका सितु खरेल र कोशेली अध्यक्ष शर्मिला सिंहद्वारा प्रस्तुत गरिएको थियो ।
समारोहमा बेलायतमा कूटनीतिज्ञ भएर काम गरिसकेका पूर्वराजदूत हरिकुमार श्रेष्ठको ‘मैत्री एक्सप्रेस’ संस्मरण पुस्तकको लोकार्पण प्रमुख अतिथि राजदूत सुबेदी, परिषदका संस्थापक तथा अध्यक्ष शाह, परिषदका निवर्तमान अध्यक्ष खगेन्द्र नेपाली, वरिष्ठ सहअध्यक्ष मल्ल, महासचिव डा. श्रेष्ठद्वारा संयुक्त रुपमा गरियो ।
कार्यक्रममा परिषदका वरिष्ठ सहअध्यक्ष कोमल मल्लले विमोचित पुस्तक र सर्जक हरिकुमार श्रेष्ठबारे संक्षिप्त प्रकाश पारेका थिए ।
कार्यक्रमको दोश्रो चरणमा कविता वाचन गरियो जसमा वसन्त रायक्षेत्री, वीरेन्द्र कुंवर, वाल कवयित्री जुनी लामिछाने, खगेन्द्र नेपाली, लक्ष्मी भुषाल, घनबहादुर थापा, डा.गोपाल पौड्याल, प्रेरणा थापा, डा. सुधा श्रेष्ठ, हरिसिंह थापा, कोमल मल्ल र सुरेशजंग शाहले आफ्ना रचना बाचन गरेका थिए ।
अन्त्यमा कार्यक्रम सफल बनाउन आर्थिक एवं भौतिक सहयोग गर्ने डा. राघव प्रसाद धिताल, डा. जनक कुमारी धिताल, मदन थापा, घन बहादुर थापा मगर, हरिसिंह थापा, श्रीमती देवकुमारी थापा, कृष्ण भट्ट, वीरेन्द्र कुंवर, वसन्त रायक्षेत्री, कोहिनुर मल्ल श्रेष्ठ र डा. गोपाल पौड्यालप्रति धन्यवाद ज्ञापन गरिएको थियो ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न