बेलायतमा टिकाको साइत बिहान ९.२५ उत्तम

लन्डन । बेलायतमा यस वर्षको दशैं टिका साइत बिहान ९.२५ बजे उत्तम मानिएको छ । प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका पण्डित निलहरि घिमिरेका अनुसार शनिबार दशमीका दिन बिहान ९.२५ बजे पूर्व फर्केर टिका थाप्न शुभ हुनेछ ।

उक्त पशुपतिनाथ मन्दिरमा बिहान ७ बजेदेखि टिका जमरा वितरण कार्यक्रम राखिएको छ । बिहान ७ देखि मध्यान्ह १२ बजेसम्म श्रद्धालु भक्तजनहरुले टिका जमरा लिन सक्ने पण्डित घिमिरेले जनाए । मन्दिरमा घटस्थापनाका दिन जमरा राखेर त्यसयता प्रत्येक दिन नवदुर्गा भवानीको पूजा, बिहान चण्डी पाठ, बेलुका ६ देखि ८ बजेसम्म भजन किर्तन भइरहेको घिमिरेले जानकारी दिए । आज नवमीको दिन सांझ ५ बजे ९ कन्या पूजा भव्य रुपमा गर्न लागिएको पनि घिमिरेले बताए । उक्त मन्दिरमा फूलपाती भित्रयाउने कार्य पनि भएको थियो ।

त्यसैगरि, साउथहलस्थित विश्व हिन्दू केन्द्रमा पनि टिकाको दिन बिहान ८ देखि ११.१५ सम्म टिका जमरा र प्रसाद वितरण गरिने भएको छ । वेष्ट लन्डन नेपाली मन्दिर समितिका कोषाध्यक्ष पण्डित होमनाथ पौडेलका अनुसार आज नवमीको दिन सांझ साढे ७ बजे ९ कन्याको पूजा गर्ने कार्यक्रम छ । वेष्ट लन्डन नेपाली मन्दिर समितिले फूलपातीको दिन वाडफोर्ड कृष्ण मन्दिरबाट भजन कीर्तनसहित फूलपाती भित्रयाएको थियो । केन्द्रमा प्रत्येक दिन चण्डी पाठ, भजन कीर्तन, आरती र पूजा भइरहेको छ । अष्टमीका दिन कालरात्रीको विशेष पूजा गरिएको थियो ।

उता अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले पनि दशमीको दिन टिका कार्यक्रम गर्ने भएको छ । पण्डित शेखर काफ्लेले टिका जमरा प्रदान गर्नेछन् । शनिबार बिहान टिका थाप्न आउने सबैलाई स्वागत गरिने सेन्टरका अध्यक्ष रोहित गुरुङले बताए । त्यहां पनि सांझ बिहान नवदुर्गा पूजा, आरती जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री