महासचिवमा डा. केसीले पुनः उम्मेदवारी दिने

मस्को- गैर आवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा डा. बद्री केसीले पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । अक्टोवर दोस्रो साता हुने संघको आठौ अन्तराष्ट्रिय महाधिबेशनमा केसीले पुनः उम्मेदवारी दिन लागेका हुन् ।
बर्तमान कार्यसमितिका महासचिव केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दोस्रो कार्यकालको लागि सोही पदमा उम्मेदवारी घोषणा गरेका छन्। केसी अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत नीति निर्माण समिति कार्यदलका अध्यक्ष समेत हुन् । सन् २०१३ -२०१५ मा उनले कोषाध्यक्षको जिम्मेबारी सम्हालेका थिए । उनी सन् २००७ मा राष्ट्रिय समन्वय परिषद रसियाको महासचिव हुँदै सन् २००९ मा अन्तराष्ट्रिय समन्वय परिषद सदस्य बनेका थिए । संघका बिभिन्न कार्यदलमा रहेर काम गरेका केसी नेपाल भवन,कालुगा रुसका कार्यकारी निर्देशक समेत हुन्।
डा. केसीले बिज्ञप्तिमा भनेका छन् ,’मेरो दुई बर्षको महासचिवको कार्यकाल सहज रहेन । संस्थाको सङ्ख्यात्मक विकाससंगै गुणात्मक विकास हुन सकेको छैन । सचिवालयलाई मजबुत र साधन सम्पन्न बनाउनु जरुरी छ, विभिन्न विषयमा विनियमहरु अझै बनाउन भ्याइएको छैन । हरेक देश र क्षेत्रका भिन्न-भिन्न समस्याहरु छन्, यिनको समाधान पनि भिन्न-भिन्न खालका छन् । मैले महासचिव पदमा रहेर आफ्नो दुई बर्षको कार्यकालमा गर्न नभ्याएका थुप्रै कामहरु छन् । त्यसैले फेरि महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’
बिज्ञप्तिको पूर्ण पाठ –
गैरआवासीय नेपालीसंघको महासचिव पदमा उम्मेदवारीको लागि मेरो घोषणा पत्र
आदरणीय अग्रजहरु, गैरआवासीय नेपाली संघका सहकर्मी मित्रहरु तथा प्रवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा
हार्दिक नमस्कार ।

आफ्नो देश आफैंले बनाउनुपर्दछ र संसारको जुनसुकै कुनामा बसेपनि परदेशमा बस्ने नेपालीको देशप्रतिको कर्तव्य र दायित्व अझ बढी हुनुपर्छ भन्ने अभिप्रायले प्रेरित भएर देश संक्रमण कालमा गुज्रेकै बेला सन् २००३ अक्टोबरमा विश्वका १४ देशका प्रतिनिधिसहित पहिलो अधिवेशन सम्पन्न भएको थियो।

नेपालीका लागि नेपाली भन्ने मूलमन्त्रका साथ स्थापना भएको गैरआवासीय नेपाली संघले १४ वर्ष पार गरिसकेको छ । १४ वर्षको यो यात्रामा ७८ देशमा राष्ट्रिय समन्वय परिषद स्थापना गर्न सफल भएको हाम्रो संगठन संसारभरि छरिएर रहेका नेपालीहरुलाई आफ्नो पहिचान, मातृभूमिको समृद्धि र प्रगतिको लागि एकजुट हुने साझा चौतारीको रुपमा स्थापित भएको छ । राजनीतिक तटस्थताको अनुशरण हुनु, वर्ण, रंग, लिंग, जात, समुदाय जस्ता सांघुरो परिधिबाट माथि उठ्न सक्नु र ७८ देशमा छरिएर रहेका नेपालीलाई साझा सञ्जालमा समेटेर एकताको विकास गर्न सक्नु नै हाम्रो विशेषता तथा आकर्षण रहेको छ ।

गत १४ वर्षको कार्यकालमा हाम्रो संगठनले गैरआवासीय नेपालीहरुको माझमा आफ्नो गरिमामय परिचय दिई आफ्नो औचित्य तथा अपरिहार्यता प्रदर्शन गर्न सफल भएको छ । देशमा महाभूकम्पको बेला होस् अथवा बाढी पहिरोले क्षति पुरयाएको अवस्थामा होस्, देश विपतमा पर्दा संसारको विभिन्न कुनाबाट तत्कालै उपस्थित भएर प्रत्यक्ष रुपमा राहत कार्य तथा स्वास्थ्य शिविरमा हाम्रो संलग्नतालाई नेपाली जनता तथा नेपाल सरकारले उच्च मुल्यांकन गरेको छ ।

आदरणीय मित्रहरु !

संघको अवधारणा तैयार पार्दादेखि नै संस्थाका अग्रजहरुसंगको संगत तथा  विभिन्न पदमा रहेर काम गर्न पाउनु मेरो लागि सबभन्दा ठूलो सौभाग्य हो । मैले अहिलेसम्म पाएको जिम्मेवारी यस प्रकार छ ।

२०१५-२०१७-  महासचिव, अन्तर्राष्ट्रिय समन्वय परिषद
२०१५-२०१७-  कार्यसमिति अध्यक्ष , नीति निर्माण समिति, अन्तर्राष्ट्रिय समन्वय परिषद
२०१३-२०१५-  कोषाध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद
२०१३-२०१५-  कार्यसमिति अध्यक्ष, आर्थिक सुदृढतासमिति, अन्तर्राष्ट्रिय समन्वय परिषद
२०११-२०१३-  केन्द्रीय सदस्य, अन्तर्राष्ट्रिय समन्वय परिषद
२०११-२०१३- कार्यसमिति अध्यक्ष राष्ट्रिय उत्पादन प्रवर्धन समिति, अन्तर्राष्ट्रिय समन्वय परिषद
२००९-२०११- केन्द्रीय सदस्य, अन्तर्राष्ट्रिय समन्वय परिषद
२००९-२०११- कार्यसमिति अध्यक्ष राष्ट्रिय उत्पादन प्रवर्धन समिति, अन्तर्राष्ट्रिय समन्वय परिषद
२००९-२०११- निर्देशक, नेपाल भवन निर्माण समिति, मस्को रुस
२००९- हालसम्म कार्यकारी निर्देशक नेपाल भवन, कालुगा रुस
२००७-२००९- महासचिव राष्ट्रिय समन्वय परिषद, रुस
२००३-२००७- साधारण सदस्य राष्ट्रिय समन्वय परिषद, रुस
शैक्षिक योग्यता
१९९६-  इन्जिनिएर (बायो-टेक्नोलोजिस्ट), मस्को रुस
२००१-  पी. एच. डी. (बायो-टेक्नोलोजी), मस्को रुस
२००९ – EXECUTIVE MBA, मस्को स्टेट युनिभर्सिटी अफ म्यानेजमेन्ट

मित्रहरु,

गैर आवासीय नेपाली संघको स्थापनाकाल सन् २००३ देखि नै यस संघको विभिन्न पदहरुमा कार्यरत रही सातौं विश्व सम्मेलनबाट महासचिव र छैटौं विश्व सम्मेलनबाट कोषाध्यक्ष पदमा यहांहरुले सुम्पनु भएको दुई – दुई वर्षे जिम्मेवारी अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकारी समितिमा सफलतापूर्वक निर्वाह गर्न सकेकोमा म गौरवान्वित छु । मेरो उपरोक्त सबै कार्यकालहरुमा मलाई सल्लाह सुझाव दिनुहुने, मार्गदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति आभार व्यक्त गर्न चाहन्छु ।

कोषाध्यक्षको कार्यकालमा संघलाई आर्थिक पारदर्शी एवं सशक्त बनाउन मैले अथक प्रयास गरें, जसको फलस्वरूप बर्सौं देखि नउठेको अन्तरास्ट्रिय समन्वय समितिको सदस्यता शुल्क चुक्ता भयो, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय भेला तथा सम्मेलनको हिसाब समयमा नै फरच्योट गराई संघको आम्दानी बढन थाल्यो । संघमा संचित रकमलाई टेन्डर मार्फत बढि ब्याज आउने बैंक खातामा जम्मा गराई ब्याजमा उल्लेखनीय कमाई भयो । मेरो कार्यकालमा संघको आर्थिक सम्बृद्धिको दीर्घकालीन रुपरेखा तयार गरी सोही मार्ग अन्तर्गत संघले उल्लेखनीय प्रगति गर्न सकेकोमा गौरवान्वित छु ।

देशमा महाभूकम्प जांदा संयोगवस म नेपालमा नै थिएं । हामीले संघको तर्फबाट बिपतमा परेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई प्रत्यक्ष्य रुपमा सहयोग गर्ने निर्णय कार्यान्वयन गर्दा पहिलो दिनदेखि करिब एक महिनासम्म सामाग्री व्यवस्थापन एवं स्वयंसेवक व्यवस्थापनमा संलग्न हुन पाउनु ठूलो मौका ठानेको छु । हालै मात्र देशमा भएको असिम वर्षापछि घरबारविहीन नेपालीहरुलाई विश्वभरबाट रकम संकलन गरी राहत वितरण कार्यक्रममा तपाईंहरुको प्रतिनिधि भई प्रत्यक्ष रुपमा संलग्न हुन पाउनु अर्को उल्लेखनीय विषय हो ।

दुई वर्ष अगाडि संघको आर्थिक सम्बृद्धिको दीर्घकालीन रुपरेखा कोरिसकेपछि मैले फेरि संघको प्रशासनिक जिम्मा लिने निर्णय गरें। आदेशले हैन, विधि र विधानबाट संगठन चलाउनुपर्छ, नेतृत्ववर्गले विधानमा रहेको कमजोर पक्षलाई प्रयोग गरेर आफ्नो अनुकूलको निर्णय गर्ने हैन, विधानमा भएका कमजोरीलाई पहिल्याई सच्याउनुपर्छ, एकल नेतृत्वले हैन, सामूहिक नेतृत्व र टिमवर्क हुनुपर्छ । यदि विधान मिचेमा साधारण सदस्य मात्र हैन, नेतृत्ववर्ग पनि अनुशासन कमिटीमा हाजिर हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमा परिणत गर्न मैले बितेको दुई वर्षभित्र धेरै संघर्ष गरें ।

हाम्रो कलिलो संस्थाको इतिहास जम्मा १४ वर्षको छ । यही छोटो इतिहासलाई पनि आफ्नो अनुकुल पुनर्लेखन गर्नमा पनि रोक लगाएं । जसरी कोषाध्यक्ष हुंदा एकपक्षका साथीहरु म प्रति रुष्ट हुनुहुन्थ्यो, त्यसै गरी महासचिव हुंदा पनि अर्का तर्फका साथीहरु रुष्ट बन्नुभएको छ । अन्तत मैले गरेको प्रयास व्यक्तिगत स्वार्थको लागि नभई संस्थाको हितको लागि हो र यस प्रयासले संस्थाले अग्रिम गति लिएको छ।

गैरआवासीय नेपालीसंघ जस्तो सामाजिक संस्थामा व्यक्तिको कार्यदक्षता, विगतका अनुभव, संस्थाप्रतिको लगाव तथा संस्थालाई दिनसक्ने योगदान तथा क्षेत्रीय सन्तुलनको आधारमा केन्द्रीय परिषद्का सम्पूर्ण पदहरुमा चयन गरिनुपर्छ भन्ने मेरो दृढ विचार छ । मेरो दुई वर्षको महासचिवको कार्यकाल सहज रहेन । हाम्रो संस्थाको संख्यात्मक विकाससंगै गुणात्मक विकास हुन सकेको छैन् । राष्ट्रिय समन्वय परिषद र अन्तर्राष्ट्रिय समन्वय परिषदबीचको समन्वय अझ प्रगाढ हुनु आवश्यक छ, सचिवालयलाई मजबुत र साधन सम्पन्न बनाउनु जरुरी छ, विभिन्न विषयमा विनियमहरु अझै बनाउन भ्याइएको छैन् ।

हरेक देश र क्षेत्रका भिन्न भिन्न समस्याहरु छन्, यिनको समाधान पनि भिन्न भिन्न खालका छन् । मैले महासचिव पदमा रहेर आफ्नो दुई वर्षको कार्यकालमा गर्न नभ्याएका थुप्रै कामहरु छन् । त्यसैले २०१७–२०१९ को आइसीसी कार्यसमितिमा फेरि महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । यदि मैले पूर्ववत् साथीहरुको विश्वास सहित मौका पाएको खण्डमा मेरा विगतका अनुभवलाई सदुपयोग गर्दै तुरुन्त कार्यान्वयनमा जुटने छु ।

मैले उक्तपदको जिम्मेवारी पाएको अवस्थामा मेरो प्राथमिक महत्वको कार्ययोजना यसप्रकार छ ।

१. गैर आवासीय नेपाली अभियानलाई समयसापेक्ष, सशक्त र व्यवस्थित तथा एक ढिक्का बनाउनका लागि सांगठनिक ढांचालाई समयसापेक्ष बनाउन सक्रिय भूमिका निर्वाह गर्नेछु । संघको सांगठनिक संरचना सामूहिक नेतृत्व प्रणालीको हुनुपर्छ भन्नेमा विश्वस्त छु ।

२. संघले अघि सारेका मेघा प्रोजेक्टहरुको 
निरन्तरताका लागि नेतृत्वदायी र सक्रिय भूमिका निर्वाह गर्ने छु । यस कार्यकालमा संघको अधुरा रहेका कामहरुलाई तदारुकताका साथ सम्पन्न गराउन विशेष भूमिका खेल्नेछु । लाप्राक पुनर्निर्माण प्रोजेक्ट, संघको केन्द्रिय कार्यलयको निर्माण तथा शंखमुलघाट निर्माण प्रोजेक्टलाई पुरा गर्न भरपुर प्रयास गर्नेछु ।

३. हाल हाम्रो संजाल व्यापक भएको छ । क्षेत्र अनुसार हाम्रा समस्याहरु, चुनौतिहरु र अपेक्षा फरक फरक छन्। ती सबै समस्या र चुनौतीहरु हल गर्न विभिन्न कार्यदल तथा समितिहरु गठन भएका छन् । ती सबै कार्यदलहरुलाई यथोचित महत्व एवं प्राथमिकता दिई कार्यन्वयन गराउने छु । देश र क्षेत्रसापेक्ष योजना बनाउन राष्ट्रिय समन्वय परिषदहरुसंग सहकार्य गर्नेछु।

४. हाल हाम्रो संघका ७८ राष्ट्रिय समन्वय परिषद र करिब ७० हजार पंजीकृत सदस्यहरु छन् । राष्ट्रिय समन्वय परिषदहरुलाई स्थानीय समस्याहरुमा बढी केन्द्रित हुन लगाई स्थानीय देशका सरकारसमक्ष गैरआवासीय नेपालीहरुको समस्या समाधानको ‘लबी’ गर्न उत्प्रेरित गराउंछु । भूकम्पले शिथिल भएको अवस्थामा नेपाललाई भारत सरकारले लगाएको नाकाबन्दीको प्रतिकार गर्न हामीले विश्वका ४० भन्दा बढि मुलुकमा रहेका भारतीय दूतावास तथा कुटनीतिक निकाय, संयुक्त राष्ट्रसंघको केन्द्रिय कार्यलय, यूरोपियन युनियनको केन्द्रिय कार्यलयमा प्रदर्शन गरी अन्तरास्ट्रिय समुदाय समक्ष हाम्रो समस्याको जानकारी गराई भारत सरकारलाई दबाब दियौं । साथ साथै नाकाबन्दीको समयमा अत्यावस्यक औषधि खरिदगरि नेपाल सरकारलाई हस्तान्तरण गर्न सफल भयौं । यसपटक झैं आगामी दिनहरुमा पनि रास्ट्रिय समन्वय परिषद्हरुबीच सहकार्य गरि रास्ट्रिय तथा अन्तरास्ट्रिय मामलाहरुमा एकजुट गराउने छु । राष्ट्रिय समन्वय परिषद्का कार्यक्रमहरु सर्वसाधारणसमक्ष पुग्नेखालका अन्तर्राष्ट्रिय नीति नियमको तर्जुमा गर्नेछु।

५. हालै मात्र संचालनमा आएको MIS SYSTEM (Information management system) लाई पूर्ण रुपमा प्रयोजनमा ल्याई हरेक देशको प्रत्येक साधारण सदस्यहरुको Authentic Record राख्ने परिकल्पनालाई पूर्ण रुपमा कार्यान्वन गराउने छु । उक्त प्रविधिको प्रयोगपछि १२ नै महिना चौबिसै घण्टा अनलाइनमार्फत सदस्यता नवीकरण तथा प्रमाणीकरण गरी राष्ट्रिय समन्वय समितिको निर्वाचन पारदर्शी तरिकाले हुने वातावरण तैयार गर्ने छु, साथै अन्तर्राष्ट्रिय समन्वय परिषदमा छुट्टै स्थायी चुनाव समितिको पहल गर्नेछु।

६.प्रत्येक राष्ट्रिय समन्वय परिषदका साधारण सदस्यहरुलाई केन्द्रबाटनै सदस्यता कार्ड वितरण गर्ने र उक्त कार्डको ‘भ्यालू एड’ गर्दै बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सहुलियतहरु प्राप्त हुने पहल 
गर्नेछु ।

७. अन्तर्राष्ट्रिय समन्वय परिषद्को केन्द्रिय वेवसाइटलाई प्रयोग गरी हरेक राष्ट्रिय समन्वय परिषदले स्वायत्त वेवसाइट सञ्चालन गर्ने वातावरणसहित हरेक पदाधिकारीहरुको ‘कर्पोरेट इमेल ठेगाना’ हुने गरि 
’कर्पोरेट कल्चर’ को विकास गर्नेछु।

८. वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भोग्नुपरेका समस्याहरुको थप अध्ययन र अनुसन्धान गर्दै समस्या समाधानका लागि पहल गर्नेछु। त्यसका लागि देशको वैदेशिक रोजगार सम्बन्धी स्पस्ट नीति निर्माण र परिमार्जनमा सम्बन्धित निकायहरूसम्म समन्वय र सहकार्य गर्दछु। वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई संचय कोषको व्यवस्थापन गर्न तथा वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरुलाई सिप र अनुभव अनुसारको रोजगारी तथा व्यवसाय सिर्जना गर्ने कार्यक्रमहरुको पहल गर्न अग्रणी भूमिका खेल्नेछु।

९. वैदेशिक रोजगारको क्रममा महिला दिदीबहिनीहरुको समस्या समाधानको लागि नेतृत्वदायी भूमिका खेल्नेछु । साथै वैदेशिक रोजगार कल्याणकारी कोष परिचालनलाई थप प्रभावकारी बनाउन पहल गर्नेछु र वैदेशिक रोजगार तथा अध्यनको नाममा भइरहेको मानव बेचविखन कम गर्न सक्दो प्रयास गर्नेछु ।

१०. संघलाई नेपाली जनता र नेपाल सरकारसमक्ष चिनाउने मुख्य एजेण्डा सामूहिक लगानी र परोपकारका कामहरु हुन्। यी दुवै एजेन्डालाई प्रभावकारी ढंगले अगाडि बढाउने छु । देशमा भैपरि आउंदा, भूकम्प तथा बाढी–पहिरो जाँदा, आगलागी हुँदा हाम्रो प्रत्यक्ष्य संलग्नता अति प्रभावकारी रहयो । भविष्यमा यसको लागि संघमा आपतकालीन परोपकारी स्थायी समितिको व्यवस्था गर्न पहल गर्नेछु।

११. संघले धेरै वर्षदेखि उठाउंदै आएको एजेण्डा ‘नेपाली नागरिकताको निरन्तरता’ वर्तमान संविधानले सम्बोधन गरेको छ तर विदेशमा निवास परमिट लिएका, तर नेपाली नागरिकता परित्याग नगरेका नेपालीका नैसर्गिक अधिकार खोसेको छ। नेपाली नागरिकताको निरन्तरता ब्यबहारमा लागू गर्न तथा विदेशमा बस्ने नेपाली नागरिकको हक कायम गर्न प्रयत्नरत हुनेछु । नेपालमा हुने विभिन्न निर्वाचन प्रक्रियामा विदेशमा बस्ने नेपाली नागरिकको मताधिकारको हक सुनिश्चित गर्न परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगसंग समन्वयकारी भूमिका खेल्नेछु ।

१२. गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेका अनुभव, दक्षता र सीपको सदुपयोग गरी नेपालमा नै रोजगार सृजना गर्न पहल गर्ने छु । गैर आवासीय नेपालीको बौद्धिक लगानी नेपालमा भित्रयाउन पहल गरिएको खुल्ला विश्वविद्यालय सम्बन्धी विधेयक तैयार भैसकेको छ र हाम्रो अथक प्रयासले खुल्ला विश्वविद्यालयको बोर्डमा ३ जना गैर आवासीय नेपालीहरु रहने प्रावधान रहेको छ । विश्वविद्यालय 
सञ्चालनमा संस्थाको तर्फबाट अग्रणी भूमिका खेल्नेछु ।

१३. देश र क्षेत्रअनुसार गैर आवासीय नेपालीहरुले भोग्ने समस्या र चुनौतीमा विविधता छ । त्यसको पहिचान गरी देश र क्षेत्रसापेक्ष योजना बनाउन राष्ट्रिय समन्वय परीषदहरुसंग सहकार्य गर्नेछु ।

१४. नेपाली भाषा, साहित्य, संस्कृति, चलचित्र, खेलकूद तथा पर्यटन क्षेत्रलाई गैर आवासीय नेपाली एवं विदेशीहरुबीच प्रबर्धन गराउने योजना बनाउने छु । युवा, महिला तथा दोश्रो पुस्ताका नेपालीहरुलाई संघमा आवद्ध गराउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु।

प्रिय सहकर्मी साथीहरु,

हामी सबैको साझा प्रयत्नले हुर्किएको संस्थाले १४ वर्षको यात्रा पुरा गरिसकेको छ । यस संस्थालाई अब समय सापेक्ष परिवर्तन गर्दै अझ सवल, सशक्त र सुदृढ बनाई नयां उचाइमा पुरयाउनको लागि फेरि पनि महासचिवको पदमा रहेर सेवा गर्ने सु-अवसर प्रदान गर्न हार्दिक अनुरोध गर्दछु ।

तपाईंहरुको साथ, सहयोग र समर्थनको अपेक्षा सहित,

डा. बद्री केसी

महासचिवको उम्मेदवार, अन्तर्राष्ट्रिय समन्वय परिषद

तथा कार्यसमिति अध्यक्ष, नीति निर्माणसमिति,

अन्तर्राष्ट्रिय समन्वय परिषद

मस्को, रुस

सेप्टेम्बर २९,२०१७

प्रतिक्रिया

सम्बन्धित सामाग्री