
राष्ट्रपति विद्यादेवी भण्डारी बडादसैको अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुडिखेलमा आयोजित फूलपाती बढाइँ कार्यक्रमको अवलोकन गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ११ असोज (रासस) – नेपालीहरूको महान् चाड बडादशैँको खुशियालीमा आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको बढाइँका साथै मार्चपास गरेका थिए ।
त्यसैगरी, सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र राष्ट्रिय झण्डाको आकृतिसहितको बढाइँ प्रस्तुत गरिएको थियो ।
समारोहमा कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेसा व्यवसायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
बढाइँ अघि राष्ट्रपति भण्डारीको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

बडादसैको अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुडिखेलमा आयोजित फूलपाटी बढाइ कार्यक्रममा कवाज प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
दशैँ घरमा फूलपाती भित्र्याइयो
काठमाडौँ, ११ असोज (रासस) – प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइ मनाइयो ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, मान वृक्ष र अन्य नयाँ पालुवासमेत भित्र्याइएको छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पनि उहाँले बताउनुभयो ।

फूलपातिको दिन गोरखादरवारबाट विधिवत रुपमा ल्याइएको फूलपाति जमल, असन इन्द्रचोक हुँदै काठमाडौंको हनुमाढोका लैजाँदै । तस्बिर ः प्रदीपराज वन्त,रासस
फूलपाती भित्र्याएपछि उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रह्मायणी, धानको बाला लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोक रहिता, मान वृक्षमा चामुण्डा देवीको विशेष पूजा गरिन्छ ।
हनुमानढोका दरबारको दशैँ घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहेको हनुमानढोका हेरचाह अड्डाका मीठाराम पुडासैनीले जानकारी दिनुभयो ।
राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँ घरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख अरुणा नकर्मीले जानकारी दिनुभयो ।
आजैका दिनबाट सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस स–परिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कनेक्रम अझ तीव्र हुने गर्दछ ।
फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत