आज फूलपाती, गोरखा दरबारबाट हनुमानढोका पठाइयो

गोरखा दरबारको दशैं घरबाट काठमाण्डौंको हनुमानढोका दरबारको दशैं घरमा पठाउन फूलपातीसहितको डोली बोक्दै गोरखा दरबारका सुसारेहरु । तस्वीर ः प्रशन्न पोखरेल, गोरखा, रासस

 गोरखा, ११ असोज (रासस) – गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातिसहितको डोली पठाइएको छ ।

विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले आज बिहान ९ बजे शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।

फूलपातीको डोली बा१झ ६५४८ नंको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाकी प्रमुख मञ्जुसिंङ भण्डारीले जानकारी दिनुभयो ।

गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पुरयाएपछि आज साँझ हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दशैँ घरमा पनि साँझ फूलपाती भित्र्यान्छ ।

गोरखाका राजा पृथ्वीनारायण शाहले राजधानीको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी गोरखाको दशैं घरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबार पुरयाएर भित्र्याउने चलन छ । गोरखा दरबारको दशैँ घरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली सुसारेहरुले बोकेर ल्याएका हुन् ।

गोरखा दरबार हेरचाह अड्डाले गोरखा पर्यटन विकास केन्द्र, सतिपिपलको एकता युथ क्लब र गोरखा मल्टिट्यालेन्ट गु्रपको संयोजनमा फूलपातीको डोली हनुमानढोका दरबार पठाएको हो । दरबारस्थित दशैँ घरबाट मालश्री धुनसहित सतिपिपलसम्म रयाली निकालिएको थियो ।

यस्तै गोरखा धिमे पुच (नेवार समूह) का युवाले दरबारबाट सतिपिपलसम्म बाजागाजासहित नृत्य प्रस्तुत गरेका थिए । सतिपिपलबाट १०० भन्दा बढी मोटरसाइकल चालक युवाले फूलपातीको डोली बोकेको गाडीलाई स्कर्टिङ गरेको एकता युथ क्लबका प्रवीण बस्नेतले जानकारी दिनुभयो ।

फूलपाती काठमाडौँ पठाउनुपूर्व सतिपिपलको फूलपाती चौतारामा आयोजित कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले गोरखाको इतिहास, परम्परा विश्वकै उत्कृष्ट र प्रशंसा गर्न लायक भएकाले संस्कृतिको जगेर्नाका लागि नगरपालिका कार्यालयबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री