सगुनको ब्यानरमा एनआरएनए यूकेको बुझबुझारथ कार्यक्रम

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को बुझबुझारथ कार्यक्रम आइतबार अल्डरसटमा सम्पन्न भएको छ । नयां नेतृत्व आएको १५ दिनपछि एक समारोहबीच निवर्तमान कार्यसमितिले नयां कार्यसमितिलाई बुझबुझारथ गरेको हो । निवर्तमान अध्यक्ष, महासचिव र कोषाध्यक्ष क्रमशः मुछेत्र गुरुङ, विजयविक्रम लिङदेन र दीपक श्रेष्ठले नवनिर्वाचित अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी र कोषाध्यक्ष सचिन श्रेष्ठलाई कागजात हस्तान्तरण गरे । एनआरएनए यूकेले आफ्नो ब्यानरको सट्टा खाना प्रायोजन 
गर्ने सगुनको ब्यानर राखेर बुझबुझारथ तथा सम्मान कार्यक्रम गरेको थियो ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रीय अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा एनआरएन यूकेका निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र र खादासहित विदाई गरियो भने नयां कार्यसमितिलाई शुभकामनासहित स्वागत गरिएको थियो । त्यस्तै, सातौं अधिवेशन तथा निर्वाचन सफल बनाउन उल्लेख्य भूमिका निर्वाह गर्ने निर्वाचन समिति, विधान संशोधन समिति र अध्यक्ष मण्डलका सदस्यहरुलाई खादा र प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा एनआरएन यूकेका सबै पूर्व अध्यक्षहरु महन्त श्रेष्ठ, अशोक श्रेष्ठ, मेजर रिटायर्ड डमर घले, सूर्य गुरुङ, कुल आचार्य, योगेन क्षेत्री, महेन्द्र कंडेल र मुछेत्र गुरुङलाई संरक्षक 
र डमर घलेलाई प्रमुख संरक्षक बनाइएको घोषणा गरियो । महन्त श्रेष्ठ र अशोक श्रेष्ठबाहेक अरु संरक्षकहरुलाई आइसीसी अध्यक्ष घले तथा एनआरएनए यूके अध्यक्ष फगामीले खादा ओढाएर बधाइ दिए ।

सोही कार्यक्रममा अध्यक्ष फगामीले निर्वाचनमा पराजित अध्यक्षका दुई प्रत्यासीहरु कृष्ण तिमल्सेना र हिराधन राईलाई संस्थाको सल्लाहकारमा मनोनित गरेको घोषणा गरिएको थियो । त्यसैगरी एनआरएनए यूकेको प्रवक्तामा रमेश सराङकोटीलाई नियुक्त गरिएको छ । केन्द्रीय अध्यक्ष घले र फगामीले नवनियुक्त सल्लाहकारहरु र प्रवक्तालाई खादा ओढाएर स्वागत गरेका थिए । निकट भविष्यमै बांकी सल्लाहकारहरु चयन गर्ने योजना छ ।

एनआरएनए यूके महासचिव राजकुमार त्रिपाठीले सञ्चालन गरेको उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष घले, उनकी श्रीमति जमुना घले, उपस्थित सबै संरक्षकहरु, आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए युरोप संयोजक कुल आचार्य, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, दयानिधि सापकोटा, शिवजी श्रेष्ठ, आइसीसीको नयां नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवार दिन लागेका आधा दर्जन बढि आकांक्षीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा उपाध्यक्ष शेरबहादुर सुनारले स्वागत तथा अर्का उपाध्यक्ष प्रेम गाहामगरले धन्यवाद मन्तव्य दिएका थिए भने उपमहासचिव विनय अधिकारीले हेल्थ एण्ड सेफ्टीबारे अवगत गराएका थिए ।

कार्यक्रममा घले दम्पत्ति हल प्रवेश गर्दा शाही सम्मान जस्तो पञ्चेबाजाले स्वागत गरिएको थियो ।

कार्यक्रममा ब्रिटिश आर्मीमा कार्यरत निर्मल पुर्जालाई संघको तर्फबाट विशेष सम्मान गरियो । पुर्जा सगरमाथासहित अन्य हिम शिखरहरुको छिटो आरोहण गरेर गिनिज वल्ड बुकमा नाम लेखाउन प्रयासरत छन् । कार्यक्रममा सोसियल इ-कमर्स प्लेटफर्म ‘सगुन डटकम’ को प्रिजेन्टेसन पनि दिइएको थियो ।

घलेलाई दिइयो ३९ हजार १८ पाउण्ड ९७ पेन्स

कार्यक्रममा एनआरएनए यूके निवर्तमान कार्यसमितिले घलेलाई ३९ हजार १८ पाउण्ड ९७ पेन्स (करिब ५२ लाख रुपैंया) को चेक हस्तान्तरण गरेको छ ।

एनआरएन यूके निवर्तमान कार्यसमितिका तर्फबाट अध्यक्ष मुछेत्र गुरुङ र कोषाध्यक्ष दीपक श्रेष्ठले उक्त चेक घलेलाई हस्तान्तरण गरेका हुन् ।

सदस्यता शुल्कवापत आइसीसीलाई बुझाउनुपर्ने लेबी ५ पाउण्ड र काठमाडौंमा निर्माणाधिन एनआरएनए भवनका लागि प्रत्येक सदस्यहरुबाट संकलित १० डलर गरि उक्त रकम जम्मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री