काठमाडौँ, २ असोज – नेपाली जनताका प्रतिनिधिले पहिलोपटक जारी गरेको ‘नेपालको संविधान’ कार्यान्वयनको दुई वर्ष पुग्दा मुलुकको राजनीतिक संक्रमणकाल अन्त्यतर्फ उन्मुख हुँदैछ ।
संघीयतासहितको नयाँ संविधानको सन्दर्भमा सातै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय हुनुले मुलुक अब आर्थिक समृद्धिको मुद्दामा केन्द्रित हुने दिशामा अघि बढेको छ ।
संघीयताभित्रको सीमांकनका केही विषयमा तराई–मधेस केन्द्रीत दलले संविधान संशोधनको माग गर्दै आए पनि व्यवस्थापिका–संसद्मा त्यसका लागि दुईतिहाई नपुगेपछि ती दल पनि निर्वाचनमा होमिएका छन् । यद्यपि, सत्तारुढ दलले निर्वाचनपछि संशोधनको प्रस्ताव ल्याउने जनाइरहेका छन् ।
लामो समयदेखिको केन्द्रीकृत राज्य प्रणालीलाई विस्थापन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्ने संकल्प गरेको नेपालको संविधान, २०७२ ले मुलुकको दिगो शान्ति, विकास र समृद्धि हुँदै समाजवादको परिकल्पनासमेत गरेको छ ।
पहिलोपटकको संविधानसभा निर्वाचन (२०६४) बाट बन्न नसकेको संविधान दोस्रो संविधानसभा निर्वाचन (२०७०) पछिको संविधानसभाले प्रमुख तीन दलको सहमतिमा २०७२ असोज २ गते जारी गरेको थियो ।
तत्कालीन राष्ट्रपति डा रामवरण यादवले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संविधानसभाबाट उक्त संविधान जारी गर्नुभएको थियो ।
विगतको सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गराउन सबै तहको निर्वाचनपछिका सरकारले ल्याउने खाकामा संविधानको थप सफलता निर्भर रहनेछ ।
संविधान ल्याउन एकै ठाउँमा उभिएका प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच यसबीचमा फरक-फरक सत्ता गठबन्धनका अभ्यास भए पनि संविधान कार्यान्वयन र निर्वाचन गराउने सन्दर्भमा अहिले पनि एकै ठाउँमा छन् ।
नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशी भन्नुहुन्छ, ‘राजनीतिकरुपमा संविधान कार्यान्वयनका चरण पूरा हुँदैछन् । आगामी मंसिरमा संघ र प्रदेशको निर्वाचनपछि मुलुकले स्थायित्व प्राप्त गर्नेछ । यसले स्वदेश र विदेश सबैतिर संविधानप्रति आस्था र विश्वास जगाएको छ ।’
‘के निर्वाचनपछि संविधान संशोधन हुन्छ’ भन्ने प्रश्नमा पूर्वमन्त्री एवं सांसद जोशीले ‘त्यो आवश्यकताका आधारमा क्रमिकरुपमा हुँदै जाला तर मूलरुपमा तीन चरणको निर्वाचनले संविधान कार्यान्वयनको सुनिश्चितता गरेको मान्नुपर्छ ।’
नेकपा (एमाले)का सचिव योगेश भट्टराई संविधान मान्दिन भन्दै आएका मधेस केन्द्रित दल पनि निर्वाचनमा सामेल हुनु संविधानको सफलताका साथै आफ्नो् दलले उठाउँदै आएको मुद्दाको सार्थकता हो भन्नुहुन्छ । “लोकतन्त्रमा जनताको मत लिएर जनताका सेवा सुविधा दिन राज्य र दल केन्द्रित हुनुपर्छ, निर्वाचन हुने क्रमले जनतामा आशा पलाएको छ’ उहाँले भन्नुभयो ।
नेकपा(माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीका विचारमा ‘संविधान बन्न सक्दैन भन्ने आशंकाबीच संविधान जारी भयो । सबै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यो दिनको झझल्को बिहानीले दिए सरह भएको छ । अब बाँकी निर्वाचन पनि निर्वाधरुपमा हुन्छ ।’ अब मुलुक पूर्वाधार, आर्थिक विकास र समृद्धितर्फ उन्मुख हुने रायमाझीले जनाउनुभयो ।
संविधानबमोजिम २०७४ माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्ने छ । यसबीचमा राज्य पुनःसंरचना आयोग र निर्वाचन क्षेत्र निर्धारण आयोगका प्रतिवेदन आई कार्यान्वयन भइसकेका छन् । संघीयता अनुकूलका कानुन बन्ने क्रम शुरु भएको छ भने नयाँ संवैधानिक आयोगको गठन प्रक्रिया सुरु भएको छ ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी