काठमाडौँ, २ असोज (रासस) ः प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ ।
प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।
‘जनतामा केन्द्रितः दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवनका लागि प्रयास’ भन्ने मूल विषयका साथ हुने महासभाको उच्चस्तरीय छलफल यही १९ सेप्टेम्बरदेखि शुरु हँुदैछ । महासभाका क्रममा न्यूयोर्कमा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।
सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । मुलुकभित्र सबै दलको सहभागितामा सहमतिको वातावरण बनाई उत्साहपूर्वक स्थानीय तहका सबै चरणका निर्वाचन सम्पन्न गरी हुन लागेको प्रधानमन्त्री देउवाको यो विदेश भ्रमण महत्वपूर्ण मानिएको छ ।
साथै संघीय प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनको मिति घोषणा गरी निर्वाचनको तयारीमा जुटेको अवस्थामा र यसअघिका ७०औँ र ७१औँ महासभामा नेपालका तर्फबाट प्रधानमन्त्रीस्तरमा भ्रमण नभएकाले पनि प्रधानमन्त्री देउवाको यो भ्रमण निकै महत्वपूर्ण हुनेछ ।
प्रधानमन्त्री देउवा महासभामा भाग लिइसकेपछि २४ सेम्टेम्बरमा ओमनको मस्कटका लागि प्रस्थान गर्नुहुनेछ जहाँ उहाँले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिनुहुने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत उच्च सरकारी अधिकारी सहभागी हुनुहुनेछ । प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम छ
परराष्ट्रमन्त्री न्युयोर्कमा
परराष्ट्रमन्त्री महरा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा आज न्यूयोर्क पुग्नुभएको छ । महासभामा भाग लिन आवश्यक तयारीका लागि उहाँ आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
उहाँलाई त्यहाँस्थित महावाणिज्यदूत मधुकुमार मरासिनीले स्वागत गर्नुभयो । परराष्ट्रमन्त्री महराले सेप्टेम्बर २१ मा त्यहाँ आयोजना हुने सार्क मन्त्रिस्तरीय बैठकको अध्यक्षता गर्नुहुनेछ । उहाँले त्यहाँ रहँदा असंलग्न आन्दोलन, जि ७७ र चीन, अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलुकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुनाका साथै सम्बोधनसमेत गर्नुहुनेछ । उहाँले एसियाली सहयोग संवादको मन्त्रिस्तरीय बैठकमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री महरा राष्ट्रसंघको सुरक्षा परिषद्द्वारा आयोजित राष्ट्रसंघको शान्ति स्थापनामा सुधारसम्बन्धी उच्चस्तरीय खुला छलफल, राष्ट्र संघका महासचिवले आयोजना गर्ने यौन शोषण र दुव्र्यवहारबाट संरक्षण, दिगो विकासका लागि खानेपानी, मानव बेचबिखन, बालश्रम र बँधुवा मजदुरको अन्त्य विषयका उच्चस्तरीय बैठक तथा छलफलमा सहभागी हुनुहुनेछ । उपप्रधानमन्त्री महराले यस वर्ष जुलाइमा राष्ट्रसंघ सम्मेलनले स्वीकारेको परमाणु हतियार निषेधित सन्धिमा हस्ताक्षर गर्नुहुनेछ ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान