प्रदेश नं. २ को मतदानमा व्यापक सहभागिता

प्रदेश नं २ को तेश्रो तरणको स्थानीय तह निर्वाचन सकिएपछि सप्तरीको हनुमानगर कंकालनी नगरपालिका-२ स्थित राप्राबि सकरदही मतदान केन्द्रको मतपेटिकामा सिल लगाउँदै । तस्बिर ः अरुण कुमार यादव, राजविराज, रासस

काठमाडौँ, २ असोज – निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा भएको स्थानीय तहका निर्वाचनको मतदान कार्य शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएकामा गौरवको महसुस भएको जानकारी दिएको छ ।

प्रदेश २ को आठ जिल्लामा तेस्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको आयोगले पत्रकारसम्मेलनमार्फत जानकारी गराएको हो ।

तेस्रो चरणमा १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको यस निर्वाचनबाट ६ हजार ६२७ जनप्रतिनिधि निर्वाचित हुनेछन् । यो निर्वाचनमा मतदाताले देखाउनुभएको व्यापक सहभागिताले लोकतन्त्रलाई सुदृढ गर्न तथा जनताको अधिकारलाई बलियो बनाउन सहयोग पुग्ने आयोगले विश्वास व्यक्त गरेको छ ।

“पटक पटक सरेर पनि राजनीतिक सहमति र समझदारीका साथ प्रदेश २ को स्थानीय तह निर्वाचन जुन शान्तिपूर्ण र सौहाद्र्रपूर्ण तरिकाले सम्पन्न हुनलाई सरकार, निर्वाचन आयोग तथा राजनीतिक दल र उम्मेदवारले ठूलै उपलब्धिका रुपमा लिएका छन् र यो निर्वाचनले समृद्ध भविष्यको सन्देशसमेत दिएको छ”, पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भन्नुभयो ।

सप्तरी जिल्लाको राजविराज नगरपालिका–१५ मा भने राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट वडाध्यक्षका उम्मेदवारको भदौ ३१ गते निधन भएकाले सो वडाका दुई मतदान केन्द्रमा बाहेक आज दुई हजार १६४ मतदानस्थलका तीन हजार ५७५ मतदान केन्द्रमा मतदान सम्पन्न भएको थियो ।

आठवटै जिल्लाका शहरदेखि गाउँ बस्तीमा रहेका मतदान केन्द्रमा मतदाता बिहान ७ बज्नुअघि देखि नै मतदान केन्द्रमा पङ्क्तिबद्ध भएर बस्नुभएको थियो ।

प्रमुख आयुक्त डा यादवले भन्नुभयो, “मतदानमा युवापुस्तादेखि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन समेतले निकै उत्सुकतापूर्वक सहभागिता जनाउनुभएको, चर्को गर्मीमा समेत मतदाता लामबद्ध भएर मतदानका लागि आतुर देखिनुहुन्थ्यो, यसले मतदाताहरु लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन दृढ र प्रतिबद्ध हुनुहुन्छ भन्ने पुष्टि गर्दछ ।

सबै राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दर्तामा देखिएको उत्साह र मतदातामा आएको जागरणले स्थानीय सरकारको गठन भई जनताको विकासप्रतिको उर्लंदो चाहनालाई साकार पार्न सहयोग पुग्ने आयोगले विश्वास लिएको छ ।

राजनीतिक दलका प्रतिनिधिको रोहवर वा उपस्थितिमा मतदाताले गोप्य मतदानमार्फत व्यक्त गर्नुभएको जनादेश अब मतपेटिकामा सङ्ग्रहित भएको छ, यसले समस्त राजनीतिक दल र उम्मेदवारले निर्वाचन परिणामलाई स्वीकार गर्नेछन् र मतदाताको मतादेशलाई सम्मान गर्र्नेछन् भन्नेमा पूर्ण विश्वस्त रहेको आयोगले जनाएको छ ।

आचारसंहिताको पालना, दलहरुबीच सौहाद्र्रता तथा असल लोकतान्त्रिक संस्कारको विकासका लागि राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताबाट जुन सुझबुझ तथा जिम्मेवारी प्रदर्शन भएको छ, यसले लोकतान्त्रिक अभ्यासमा नेपाल एक खुड्किलो अगाडि बढेको महसुस गरिएको छ, प्रमुख आयुक्त डा यादवले भन्नुभयो ।

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पनि अझ राम्रो व्यवहार र समझदारीको विकास हुनेमा आयोग आशावादी रहेको आयोगले जनाएको छ ।

मतदान कार्य सम्पन्न भई मतपेटिका सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइने र मतगणना कार्य शुरु भएको पाँच दिनभित्र सक्ने गरी आवश्यक व्यवस्थापकीय र प्राविधिक तयारी गरिएको आयोगले जनाएको छ ।

नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि भएको निर्वाचनमा विशेषगरी महिला तथा दलित समुदायको सहभागिता निकै उत्साहप्रद रहेकामा आयोगले खुशी प्रकट गरेको छ ।

आयोगको राम्रो तयारी र निर्वाचन व्यवस्थापनमा जिल्लास्तरमा खटिनुभएका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको अथक प्रयासका कारण कुनै मतदान केन्द्रमा कुनै पनि किसिमको समस्या उत्पन्न भएन र सहज ढङ्गले मतदान कार्यअगाडि बढाउन आयोग सफल भएको सो अवसरमा जानकारी दिइयो ।

आजको निर्वाचनमा नक्कली मतदाता भई मत दिन प्रयास गर्ने ३८ र कानुनको उल्लङ्घन गर्ने अन्य १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनमा जस्तै प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा पनि सबै क्षेत्रबाट अहिलेको जस्तै सहयोगका लागि आयोगले हार्दिक अनुरोध गरेको छ ।

निर्वाचनमा तीन तहको भरपर्दो सुरक्षा व्यवस्था गर्ने नेपाल सरकार तथा त्यसलाई कार्यान्वयन गरेर निर्वाचनलाई मतदाताले महसुस गर्ने गरी शान्तिपूर्ण बनाउन सबै सुरक्षा अङ्गले जनताको प्रहरीका रुपमा खेलेको भूमिकाप्रति आयोग आभार व्यक्त गरेको छ ।

तेस्रो चरणको आज सम्पन्न भएको मतदान तथा यसअघि सम्पन्न भएका दुवै चरणका मतदान कार्यलाई सफल बनाउन सहयोग पुरयाउने नेपाल सरकार, मित्रराष्ट्र, दातृ निकाय तथा विकास साझेदार संस्था र अन्तर्राष्ट्रिय समुदायको सहयोग एंव सद्भावप्रति आयोगले धन्यवादज्ञापन गरेको छ ।

उत्साह रुपमा निर्वाचन सम्पन्न भएकामा प्रधानमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ, २ असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको अन्तिम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न सहयोग पुरयाउने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको हो ।

नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरेबमोजिम जनताले दैनिक रूपमा देख्ने र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन गत वैशाख ३१ र असार १४ गते सम्पन्न भइसकेको छ ।

प्रधानमन्त्री देउवाले तेस्रो चरणको निर्वाचन आज असोज २ गते प्रदेश नं २ अन्तर्गत आठ जिल्लाका सबै स्थानीय तहमा उत्साहपूर्वक रूपमा सम्पन्न भएको उल्लेख गर्नुभएको छ ।

‘पहिलो पटक नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको छ । लोकतन्त्रमा जनताले मूलतः आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने भनेको निर्वाचनका माध्यमबाट नै हो’, विज्ञप्तिमा उल्लेख छ ।

आगामी मंसिरमा हुने प्रादेशिक र संघीय तहको निर्वाचन तोकिएको समयमै स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री देउवाले तीनै तहको निर्वाचन सम्पन्न भइसकेपछि देश राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री