मध्याह्नसम्म करिब ३५ प्रतिशत मतदान

वीरगन्जको छपकैयामा सोमबार स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि मतदान गर्न लामबद्ध भएर बसेका महिला मतदाताहरु । तस्बिर ः विजयकुमार महतो, पर्सा, रासस

काठमाडौँ, २ असोज – स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा मध्याह्न १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र ‘जेइओसी’ बाट प्राप्त पछिल्लो जानकारीअनुसार सबै मतदान केन्द्रमा मतदाता ठूलो संख्यामा लामबद्ध भई शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदानमा सहभागी भइरहेका छन् ।

प्रदेश नं २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी छ हजार ६२७ प्रतिनिधि निर्वाचित हुने छन् ।

सप्तरी जिल्लाको प्रदेश नं २ अन्तर्गत तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सोमबार मतदान गर्न लामबद्ध मतदाताहरु । तबिर ः अरुणकुमार यादव,राजविराज,रासस

एकसय तीन वर्षीया वृद्धाद्वारा मतदान

राजविराज, २ असोज (रासस) – प्रदेश नं २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीमा १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ ।

राजविराज नगरपालिका वडा नं ७ निवासी सोमानीदेवी जोशीले जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रबाट मतदान गर्नुभएको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष एवं वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

जोशीले यसअघिका संविधानसभा निर्वाचनमा पनि मताधिकार प्रयोग गर्नुभएको थियो । सो मतदान केन्द्रमा जोशीले नै पहिलो मतदान गर्नुभएको बताइएको छ ।

राष्ट्रपतिद्वारा निर्वाचनमा सहभागी हुन आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधानप्रदत्त बालिग मताधिकारको प्रयोग गर्न आम मतदातालाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपाली जनताको लामो संघर्षको फलस्वरुप संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्चात् हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीलाई निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमय रुपमा सफल बनाउन आह्वान गर्नुभएको छ ।

नेपाल संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र उक्त संरचनाअन्तर्गतका सबै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचनको शृङ्खलाका रुपमा व्यापक जनसहभागितासहित विसं २०७४ वैशाख ३१ गते पहिलो चरणको निर्वाचन र २०७४ असार १४ गते दोस्रो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको सर्वविदितै छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको पनि उत्तिकै महत्व रहेको छ ।

साथै यस निर्वाचनले गाउँ तथा नगरमा नेतृत्व स्थापित गर्दै स्थानीय तहलाई अधिकार र दायित्वले सम्पन्न तुल्याइ सामाजिक र आर्थिक समृद्धिको ढोका खोल्नेछ विज्ञप्तिमा भनिएको छ ।

मतदाताको उत्साहपूर्ण उपस्थिति

काठमाडौँ, २ असोज -स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७ः०० बजेदेखि मतदान शुरु भएको थियो ।

प्रदेश नं २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा यो निर्वाचन भएको हो ।

मतदानका लागि निकै उत्साहका साथ मतदाता बिहान सबेरै मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसिसक्नुभएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो । अहिले अधिकांश मतदान केन्द्रमा मतदाताको घुइँचो लागिसकेको छ । तराई–मधेशमा दिउँसो गर्मी हुने भएकाले पनि मतदाताको बिहान उत्साहपूर्ण सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।

यस निर्वाचनबाट छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । गोप्य मतदानको प्रक्रियाद्वारा ‘एक पद एक मत’का आधारमा बहुमतीय निर्वाचन प्रणालीमा यो निर्वाचन हुँदैछ । तेस्रो चरणको निर्वाचनमा झण्डै छ गुणाभन्दा बढी कूल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

अपराह्न ५ः०० बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्नुभएका मतदाताले मात्रै मतदान गर्न पाउनुहुने हँुदा सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन निर्वाचन आयोगले आम मतदातालाई आह्वान गरेको छ ।

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि यो मतदान हुन लागेको हो ।

मतदाताले कुनै कारणबसः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न आयोगले वैकल्पिक व्यवस्थासमेत गरेको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र वा विसं २०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था आयोगले मिलाएको छ ।

स्थानीय तह निर्वाचनमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नं २ का जनकपुर, बर्दिवास, वीरगञ्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव सोमबार बिहान सप्तरी सदरमुकामस्थित आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुहुँदै । तबिर ः अरुणकुमार यादव, राजविराज, रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री