
चितवनको नारायणगढ–मुग्लिन सडकमा भएको सवारी जाम । यहाँ दैनिक रुपमा भएको सडक जामले सास्ती व्यहोर्नु परेको यात्रु बताउँछन् । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
चितवन, २७ भदौ । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ ।
विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि रातका समयमा सडक रोकिँदै आएको छ । मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको छ ।
मौसममा सुधार आएसँगै चाडपर्वलाई ध्यानमा राखी रात समयमा पनि सडक खुला गर्ने निर्णय गरिएको प्रजिअ नारायणप्रसाद भट्टले बताउनुभयो । यात्रुवाहक सवारी साधनको चाप हुने समयमा मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई प्राथमिकताका साथ सडक पार गराइने पनि उहाँले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगर नजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबरटारमा रोकिने भएको छ ।
यसबाट यात्रुवाहक सवारी साधनलाई रातका समयमा सडक पार गर्न सहज हुने छ । राति पनि पहिरो खस्न सक्ने भएकाले तत्काल सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधिलाई तयारी अवस्थामा राखिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यावदका अनुसार सडकमा ग्रेडर लगाएर खाल्डाखुल्डी पुर्ने, धुलो उड्ने स्थानमा पानी छर्कने, गाडी बिग्रिएमा तत्काल हटाउने, पहिरो खसेमा पन्छाउने लगायत तयारी गरिएको छ । सोका लागि प्रहरीसमेत परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सो सडकमा मात्र तत्काल परिचालन हुनका लागि ५० नेपाल प्रहरी परिचालन गरिएको छ । मुग्लिनमा प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय तथा सिमलताल, जुगेडी र रामनगरमा प्रहरी चौकी छन् । सडक जाम हुँदा छिटो खुलाउनका लागि चार मोटरसाइकलमा आठ प्रहरी परिचालन गरिएको छ ।
समग्र सडकको अवस्थाबारे अनुगमन गर्न नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी सम्मिलित टोलीसमेत गठन गरिएको थापाले बताउनुभयो । कुरिनटारमा रहेको सशस्त्र प्रहरीले पनि सडकको सुरक्षाका साथै आवश्यक परेमा उद्धार गर्न तयारी हालतमा टोली राखेको छ । राजधानीबाट दशंै, तिहारसहितका चाडपर्वमा ३० लाख यात्रु बाहिरिने अनुमान छ । अधिकांशले यही बाटो प्रयोग गर्नुपर्ने हुन्छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार