काठमाडौँ, २२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष स्थानीय तहको पहिलो र दोस्रो चरणमा भएको निर्वाचन तथा आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनको तयारीका बारेमा निर्वाचन आयोगका पदाधिकारीले अवगत गराउनुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको नेतृत्वमा गएको आयोग पदाधिकारी टोलीले निर्वाचन स्वच्छ र मर्यादित बनाउनका लागि आयोगले आचारसंहिता पालनामा जोड दिएको जानकारी गराउनुभएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएकामा सन्तोष व्यक्त गर्दै आगामी मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट नेपालको संविधानको भावना र जनताको चाहनाले मूर्तरुप लिने विश्वास व्यक्त गर्नुभयो ।
निर्वाचनको माध्यमबाट लोकतन्त्र सुदृढ हुने र मुलुकमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले दुई चरणको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा आयोगलाई धन्यवाद ज्ञापन गर्नुभएको आयोगले जनाएको छ । राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘आगामी असोजमा हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचन तथा आगामी मंसिरमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका साथसाथै राष्ट्रियसभा सदस्य, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्न आयोग सक्षम हुनेछ ।’
निर्वाचन क्षेत्र निर्धारण आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३३० निर्वाचन क्षेत्र निर्धारण भएको प्रतिवेदन प्राप्त भएको विषय पनि आयोगका तर्फबाट राष्ट्रपतिलाई जानकारी गराइएको थियो ।
सो अवसरमा राष्ट्रपतिसमक्ष व्यवस्थापिका–संसद्बाट प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४ पारित भइसकेकाले सोही आधारमा नियमावली, निर्देशिका तथा कार्यविधि निर्माण भइरहेकोबारे जानकारी गराइएको थियो ।
डा यादवले नेपाल सरकारले २०७४ मंसिर १० र २१ गते प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य हुने निर्वाचन हुने मिति तय गरेअनुसार आयोग तयारीका कार्यमा अगाडि बढेको अवगत गराउनुभएको थियो ।
स्थानीय तहको निर्वाचनप्रति युवा तथा राजनीतिक दलमा व्यापक उत्साह देखिएको, आचारसंहिताको पालना भएको, निर्वाचनको वातावरण बनेको तथा समग्र मुलुक निर्वाचनमय भइरहेको जानकारी गराउँदै आयोग पदाधिकारीले प्रदेश नं २ मा यातायात सञ्चालन र सर्वसाधारणलाई राहत उपलब्ध गराई पूर्ववत् अवस्थामा ल्याउन अनुरोध भएअनुरुप सरकारबाट आवश्यक प्रयास भइरहेकाबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।
आयोग टोलीमा आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद र तथा सुधीरकुमार शाह सहभागी हुनुहुन्थ्यो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा