राष्ट्रपति भण्डारी इन्द्र जात्रामा सरिक

इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्न वसन्तपुर पुग्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राका अवसरमा आज वसन्तपुर दरबार क्षेत्रस्थित ‘जीवित देवी’कुमारीको दर्शन गर्नुभएको छ ।

उहाँले कुमारीसँगै गणेश र भैरवको दर्शन गरी भेटी चढाउनुका साथै मुख्य पुजारीबाट प्रसाद पनि ग्रहण गर्नुभयो ।

वसन्तपुरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक झाँकीको अवलोकन गर्नुभयो । सो अवसरमा स्थानीय नेवारी समुदायले प्रस्तुत गरेको झाँकी, पहिरन र नृत्यसमेत उहाँले अवलोकन गर्नुभयो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा रथयात्रा, विभिन्न झाँकी तथा सांस्कृतिक बाजागाजाका साथमा नृत्य प्रस्तुत गरिएको थियो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गर्न हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन परम्परागत इन्द्रजात्रा पर्व मनाइन्छ ।

यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री