आठ जिल्लाका १३६ वटै स्थानीय तहमा बुधबार उम्मेदवारी मनोनयन दर्ता

निर्वाचन आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव प्रदेशनं. २ को निर्वाचन सम्बन्धमा जानकारी दिंदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २० भदौ । निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लाका १३६ वटै स्थानीय तहमा बुधबार हुने उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक, उम्मेदवार र आम जनसमुदायलाई अपिल गरेको छ ।

तेस्रो चरणको स्थानीय तह निर्वाचन तयारीका विषयमा जानकारी दिन निर्वाचन आयोगमा आज आयोजित पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भन्नुभयो, ‘असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पूरा भएको समस्त मतदाता, आमजनता, राजनीतिक दल र सरोकारवालालाई अवगत गराउन चाहन्छु ।’

तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई जनप्रतिनिधि चयन गर्ने उत्सवका रूपमा लिन सबै मतदातासँग आग्रह गर्दै उहाँले अघिल्ला दुईवटा निर्वाचन जस्तै शान्ति र सौहाद्र्रपूर्ण वातावरणमा व्यापक सहभागिता रहने अपेक्षा गरिएको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, ‘सबै राजनीतिक दलले निर्वाचनमा सहभागी हुने अठोट व्यक्त गर्नुभएको छ, यो आयोगका लागि अत्यन्तै हर्षको विषय भएको छ । सहज राजनीतिक वातावरण सिर्जना भएबाट वैशाख ३१ मा एकै चरणमा गर्ने भनिएको निर्वाचन चरणबद्धरुपमा गर्नुको उद्देश्यसेमत पूरा भएको छ ।’

संविधानसभाबाट बनेको नेपालको संविधानलाई कार्यान्वयनका क्रममा हुन लागेको ऐतिहासिक निर्वाचन सम्पूर्ण राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई उत्साहपूर्वक विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न पनि सो अवसरमा उहाँले आह्वान गर्नुभयो ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाका २६ लाख ६४ हजार ७९२ मतदातालाई उक्त मतदानको अधिकार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री