
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार कञ्चनपुरको महाकाली नदीमा निर्माण हुन लागेको चार लेनको पुलको शिलान्यास गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
भीमदत्तनगर, १५ भदौ । प्रधानमन्त्रीसभापति शेरबहादुर देउवाले महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको आज शिलान्यास गर्नुभएको छ ।
शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पुल बनेपछि सुदूरपश्चिमको मुहार फेरिनाका साथै मुलुककै अर्थतन्त्र विकासमा मद्दत पुग्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले महाकाली नदी पारि दोधारा चाँदनीमा पनि सुख्खा बन्दरगाह निर्माण थालिने बताउँदै आफू भारत भ्रमण गएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि बन्दरगाह बनाउने विषयमा कुराकानी भएको जानकारी दिनुभयो ।
“महाकाली पुलसँगै पश्चिमको आर्थिक नाकाका रुपमा कञ्चनपुर नाका विकास हुने छ, सुख्खा बन्दरगाह बने युरोप र अरबको सामान ढुवानीमा समेत सहज हुनेछ” उहाँले भन्नुभयो ।
पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन पनि एक महिनाभित्र तयार गरिने र छिट्टै पञ्चेश्वरको पनि शिलान्यास हुने उहाँले बताउनुभयो । पञ्चेश्वर बने मुलुकलाई नै फाइदा पुग्ने बताउँदै उहाँले उक्त परियोजना बने सुदूरपश्चिमलाई अझ बढी फाइदा पुग्ने भनाइ राख्नुभयो । दार्चुला, डडेल्धुराको पर्शुराममा पनि महाकाली नदीमा पुल निर्माण हुने बताउँदै प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा प्राविधिक शिक्षालय स्थापनाका लागि पहल भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । कैलालीको गेडामा रहेको विमानस्थललाई आगामी छ महिनाभित्र अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाइने उहाँको भनाइ थियो । साथै सुदूरपश्चिमसँग जोडिएको चीनका नाका सञ्चालन गराउने विषयमा आफूले चिनियाँ पक्षसित वार्ता गरिरहेको उहाँले बताउनुभयो । मेचीमा पनि छ लेनको पुल निर्माणका लागि भारतसँग सम्झौता भएको मन्त्री बलायरले जानकारी दिनुभयो ।
सडक सुधार आयोजनाका प्रमुख सुशीलबाबु ढकालले महाकाली नदीमा निर्माण हुने पुलका विषयमा प्रतिवेदन पेश गर्दै आगामी तीन वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको ८०० मि लम्बाइको पुलसँगै महाकाली नदी वारिपारि गरी झण्डै आठ किमी छ लेनको सडकसमेत निर्माण हुने जानकारी दिनुभयो । तेइस दशमलव आठ मि चौडाइको उक्त पुल निर्माणका लागि रु तीन अर्ब २७ करोडको ठेक्का सम्झौता भएको छ ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ