
प्रधानमन्त्री शेरबहादुर देउवा राजधानीमा आइतबार आयोजित नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ ।
‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगत्को अत्यन्त महत्वपूर्ण योगदान रहेको र अब देश निर्माणमा समेत सञ्चार क्षेत्रबाट अझ बढी योगदान हुनुपर्नेमा जोड दिनुभयो ।
एक प्रसङ्गमा उहाँले भन्नुभयो, ‘नेपालमा मिडिया धेरै छन्, ती आर्थिक रुपमा कमजोर छन्, पत्रकारितामा दुःख छ भन्ने मैले राम्ररी बुझेको छु ।’
अभिव्यक्ति र पूर्ण प्रेस स्वतन्त्रताको हक संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयनका लागि निर्धारित समयभित्रै सबै निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
उद्घाटन समारोहमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आमसञ्चार नीति र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतासँगसँगै मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख योगश भट्टराई, नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत र नेकपा (माओवादी) का प्रवक्ता पम्फा भुसालले मुलुकको वर्तमान समस्या समाधानका लागि दलहरू आपसमा मिलेर जानुपर्ने बताउनुभयो ।
पत्रकार पुरस्कृत
प्रधानमन्त्री देउवाले पत्रकार महासंघले स्थापना गरेको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार विजयकुमार पाण्डेलाई प्रदान गर्नुभयो । पुरस्कारको राशि रु एक लाख छ ।
त्यसैगरी ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भैरव रिसाल र कृष्ण सेन ‘इच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार कोमल बराललाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि जनही रु ५० हजार छ ।
त्यस्तै ‘उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार सीमा सिंह शर्मा र ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ स् पुष्कर थापा (मरणोपरान्त) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु २५ हजार छ ।
कार्यक्रममा ‘स्वतन्त्र सेनानी सम्मान’ हर्ष सुब्बा (सुनसरी), अशोक रौनियार (धनुषा), वसन्त पोखरेल (रूपन्देही) र रामबहादुर केसी (सिन्धुपाल्चोक) लगायत १२ जनालाई प्रदान गरिएको छ ।
सोही अवसरमा पत्रकार महासंघ भारत शाखाले रु ४० हजार र पत्रकार महासंघ काभ्रे शाखाले रु ५० हजार बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन् ।
नयाँ नेतृत्वका लागि प्रत्येक तीन-तीन वर्षमा हुने महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्ने छ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव १, सचिव ६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
यस पटकदेखि दलित र मधेशी सचिव पनि थपिएको महासंघका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो । सात प्रदेशसहित काठमाडौँ उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिने छ । प्रत्येकबाट दुई केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । । महाधिवेशनमा एक हजार ५१५ प्रतिनिधिको सहभागिता हुनेछ । महासंघमा करिब १० हजार पत्रकार आबद्ध छन् ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]