मंसिर पहिलो हप्ता प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न आग्रह

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव

काठमाडौँ, ३१ साउन । प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयोगका पदाधिकारीले आगामी मंसिर पहिलो हप्तामा प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न आग्रह गर्नुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव तथा आयुक्तहरु आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी आगामी मंसिर पहिलो हप्तामा निर्वाचन गर्ने गरी भदौ १ गतेभित्रै प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न आग्रह गर्नुभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

निर्वाचनको लागि आवश्यक पर्ने कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै आयोगलाई प्राप्त हुनुपर्नेमा पनि उनीहरुले प्रधानमन्त्री देउवालाई पुनः स्मरण गराउनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले बुधबार मुख्य तीन दलका शीर्ष नेताहरुसँग छलफल गरी सहमति गर्ने र सहमतिअनुसार अगाडि बढ्ने जानकारी दिनुभयो ।

निर्वाचन अधिकृतहरुको नियुक्ति 

यसैगरी आयोगले आगामी असोज २ गते सम्पन्न हुने प्रदेश नं. २ का स्थानीय तहहरुको निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत-निर्वाचन अधिकृतको नियुक्ति गर्ने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले प्रदेश नं. २ का आठ जिल्लाका जिल्ला न्यायाधीशलाई न्यायपरिषदको सिफारिसमा मुख्य निर्वाचन अधिकृतको रुपमा र रा.प. द्वितीय श्रेणीका न्याय सेवाका अधिकृतलाई न्याय सेवा आयोगको सिफारिसमा नियुक्ति गरिएको छ ।

बैठकले प्रशासन र शिक्षा सेवाका रा.प. द्वितीय श्रेणीका अधिकृतसमेत गरी जम्मा १३६ जनालाई आगामी भदौ १ गतेदेखि लागू हुनेगरी मुख्य-निर्वाचन अधिकृतको रुपमा नियुक्ति गरिएको छ ।

मतदाता नामावली संकलन अवधि तीन दिन थप 

यसैगरी आयोगले सबै क्षेत्रीय-जिल्ला निर्वाचन कार्यालय र ६६९ स्थानीय तहहरुमा मतदाता नामावली दर्ता-संकलन कार्यक्रम सञ्चालन गर्न तीन दिनको म्याद थप गरिएको छ ।

साउन ३२ गतेसम्म मात्र मतदाता नामावलीमा नाम दर्ता-संकलन गर्ने निर्णय भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेको संख्या कतिपय जिल्लामा अझैपनि धेरै बाँकी रहेको र नाम दर्ता गराउने मतदाताहरुको नाम दर्ता गर्ने चाहना समेत उच्च देखिएकाले आगामी भदौ १ देखि ३ गतेसम्म सबै क्षेत्रीय-जिल्ला निर्वाचन कार्यालय एवं ६६९ स्थानीय तहहरुमा मतदाता नामावली दर्ता-संकलन कार्यक्रम सञ्चालन हुने गरी तीन दिन समय बढाउने निर्णय गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री