बाढीका कारण १११ को मृत्यु

बाँकेको राप्तीपारी क्षेत्रमा नरैनापुरका बाढीपीडितलाई नेपालगन्जबाट हेलिकप्टरबाट पुरयाएको तयारी खाजा वितरण गरिँदै । तस्बिर ः राकेशकुमार मिश्र, खजुरा (बाँके), रासस

काठमाडौँ, ३१ साउन । गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई– मधेशका जिल्लामा हालैका बाढीले १११ को मृत्यु भएको जानकारी दिनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा उहाँले बाढीबाट ती जिल्लाका ८० प्रतिशत भूभागका साथ हजाराँै घर डुबानमा परेको, ३५ जना हराइरहेको र हजाराँै जनता विस्थापित भएको जानकारी दिँदै डुबान क्षेत्रमा हेलिकप्टरका माध्यमबाट राहत वितरण अगाडि बढेको छ भन्नुभयो ।

गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई रु दुई लाख र घर मर्मत गर्न रु दश हजार वितरणसमेत सुरु भएको भएको जानकारी दिँदै बाढीपीडितलाई बुधबारसम्म व्यवस्थापन गरिसकिने स्पष्ट गर्नुभयो । “सबै भूभाग जलमग्न भएका कारण शव व्यवस्थापन गर्न र अस्थायी पाल राख्ने स्थानसमेतको अभाव छ ।” उहाँले भन्नुभयो ।

मन्त्री शर्माले बाढीपीडित परिवारमा रोगको संक्रमण नफैलियोस् भन्नाका लागि जनसंख्याका आधारमा चिकित्सक परिचालन तथा क्षतिग्रस्त भौतिक संरचनाको विवरण लिन सुरु गरिएको बताउनुभयो ।

बढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन

गृहमन्त्री शर्माले राहत वितरण प्रक्रियाका बारेमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ ।

विमानस्थलबाट बाढी प्रभावित क्षेत्रमा पुरयाइने दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या पैदा भएको भनी गुनासो आएपछि गृहमन्त्री शर्माले के कसरी उपलब्ध गराइएको छ र थप भन्नेबारेमा स्थलगत निरीक्षण गर्नुभएको हो ।

रौतहट, पर्सा, सप्तरीलगायत बाढी, पहिरो तथा डुबान प्रभावित विभिन्न जिल्लामा राहत सामग्रीको समानुपातिक वितरण नभएको गुनासो आएपछि गृहमन्त्री शर्माले विमानस्थल भण्डारण कक्षमा पुगेर आवश्यक जानकारी लिनुभएको उहाँको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

सो अवसरमा गृहमन्त्री शर्माले राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन, दैनिक उपभोग्य वस्तुलाई विशेष प्राथमिकतामा राख्न तथा बढी प्रभावित क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

उहाँले राहत वितरणमा पक्षपात हुन नदिन तथा प्रभावित नागरिक छुट्ने र प्रभावित नभएकाले राहत पाउने अवस्था आउन नदिन समेत विशेष ख्याल गर्न आग्रह गर्नुभयो ।

गृहमन्त्री शर्मासँगै गृहसचिव लोकदर्शन रेग्मी, प्रवक्ता रामकृष्ण सुवेदी, विपद् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव कृष्ण राउत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेना, हवाई सेवा निर्देशनालय तथा निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिलगायतको सहभागिता थियो ।

आइतबार र सोमबार गृहमन्त्री शर्मालगायतको टोली पश्चिम, मध्य तथा पूर्वका बाढी, पहिरो, डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री