चितवन, १९ साउन । नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो । साँझ ७ः३५ बजे कालीखोला नजिकै तीनकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
सो ठाउँमा काठमाडौँबाट इलाम जान आउँदै गरेको ना६ख ७१२१ नंको यात्रुबाहक बस र बा१५च ९३८१ नंको स्करपियो पहिरोले पुरिएका थिए । बस त्रिशूलीमा खसेर बेपत्ता छ भने स्करपियो पहिरोमा पुरिएको छ । पहिरो खसेको देखेपछि चालकले गाडी रोकेर चालक र यात्रु भागेर बाँच्न सफल भएका थिए । घटनास्थल मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ कालीखोला नजिकै पर्छ ।
त्यसैगरी उक्त सडकखण्डको चेपाङडाँडामा गएराति रोकिराखेका दुई ट्रक माथिबाट झरेको लेदोले पुरिएका छन् । ट्रक चालक भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दुईकिलो, तीनकिलो, सेतीदोभान, घुमाउनेलगायतका १० भन्दा बढी ठाउँमा ठूला पहिरा खसेका छन् । अन्य ठाउँमा पनि सानातिना पहिरो खसेको भए पनि यकिन तथ्यांक भने आउन नसकेको उहाँले बताउनुभयो ।
पानी परिरहेकाले पहिरो खस्ने क्रम जारी रहेको छ । जसका कारण पहिरो पन्छाउनसमेत कठिन भएको खनालले बताउनुभयो ।
पहिरो पन्छाउन लोडर र एक्साभेटर गरी पाँचवटा साधन परिचालन गरिएको छ । ठाउँठाउँमा पहिरो खसेकाले बीचबीचमा सवारीसाधन अलपत्र परेका छन् । बुधबार साँझबाट पहिरो खसेर सडक रोकिएपछि यात्रु अलपत्र परेका छन् ।
स्तरोन्नति भइरहेको सो सडकमा वर्षा लागेसँगै पहिरो खसेपछि सरकारको समेत ध्यानाकृष्ट भएको छ । हिजोमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सडकखण्डको अवलोकन गर्दै निर्माण कार्य छिटो सक्न निर्देशन दिनुभएको थियो ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै