रत्ननगर (चितवन), १७ साउन । चितवनको भरतपुर–१९ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्न जिल्लाका राजनीतिक दलहरु एकबद्ध भएका छन् ।
भरतपुर–१९ मा पुनः मतदानका लागि मिति तय गर्न आज बसेको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । नेकपा (एमाले)का अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले राजनीतिक तीक्तता नगरी शान्तिपूर्ण निर्वाचन गर्ने विषयमा दलहरुबीच सहमति भएको बताउनुभयो ।
सांसद पोखरेलले भन्नुभयो, ‘कुनै पनि राजनीतिक तीक्तता नगर्ने, चितवनले जो एउटा कलंक बेहोरयो फेरि त्यो कलंक नबेहोर्ने गरी शान्तिपूर्ण निर्वाचन गर्ने कुरामा राजनीतिक दल सबैको बीचमा सहमति भएको छ ।’
छलफलपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बुधबारदेखि प्रचारप्रसार गर्न नपाउने मौन अवधि शुरु हुने गरी साउन २० गते निर्वाचनको मिति तय गरेको जानकारी दिनुभयो ।
यस्तै, नेकपा (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज ईश्वरी भट्टाराईले सबै दलको सहमतिमा मिति तय गरी सौहार्दपूर्ण रुपमा मतदान सम्पन्न गर्ने सहमति भएको र सोही अनुसार अघि बढ्ने बताउनुभयो । उहाँले प्रचारप्रसार पहिले नै भइसकेकाले अब खासै प्रचार आवश्यक नभएकाले भोलिदेखि नै मौन अवधि शुरु गर्ने सहमति गरेको बताउनुभयो ।
आज नै दलीय सहमतिअनुसार यही साउन २० गते शुक्रबार पुनः मतदान गर्ने निर्णय भएको चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको सूचनामा २०७४ साल जेठ २० गतेको निर्वाचन आयोगको निर्णय र साउन १६ को निर्देशनअनुसार भरतपुर १९ को मतपत्र बदर घोषित गरी सो स्थानमा साउन २० गतेका दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुनः मतदान हुने उल्लेख गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय चितवनले दलसँगको बैठकपछि आजै भरतपुर–१९ को दुई हजार ८०७ बदर मतलाई दलीय प्रतिनिधिको सहभागितामा मतगणनास्थल भरतपुरको कभर्ड हलको परिसरमा जलाएर नष्ट गरेको थियो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मतदानस्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिनुभयो ।
पुनः मतदानमा ३६ कर्मचारी खटाइने
साउन २० गते पुन मतदान हुन लागेको चितवनको भरतपुर–१९ मा ३६ जना कर्मचारी खटाइने भएको छ । तीनवटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र रहेको भरतपुर–१९ मा ३६ जना कर्मचारी खटाइने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो ।
कर्मचारीको व्यवस्थापन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने र निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालय चितवनबाट हुने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालको भनाइ छ ।
वडा नम्बर १९ को किरण मावि किरणगञ्ज मतदान स्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् । जेठ १४ गते राति मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर–१९ को विषयमा सर्वाेच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएको थियो ।
निर्वाचन आयोगले पुनः मतगणनाको निर्णय गरेलगत्तै भरतपुर महानगरपालिका–१९ मा नेकपा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले पुनः मतदानको माग गर्दै सर्वाेच्चमा मुद्दा दर्ता गर्नुभएको थियो ।
सो मुद्दामा सर्वाेच्च अदालतले शनिबार फैसला सुनाउँदै आयोगको निर्णय सदर गरेको थियो । १९ वडाको मत बदर भएपछि प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली, रेणु दाहालभन्दा ७८४ मतले अघि हुनुहुन्छ ।
ज्ञवालीको ४० हजार ९८० र दाहालको ४० हजार १९६ मत छ । भरतपुर–२० मा तीन हजार ३०२ छ खसेको छ भने वडा नम्बर १९ मा तीन हजार ७९७ मतदाता छन् ।
यतिखेर नेपाललाई डायस्पोराको झन् बढी खाँचो : कार्यवाहक राजदूत दुवाडी
गायक राजु लामाको मंगोलियन हर्टले आगामी १३ डिसेम्बरमा बेलायतमा प्रस्तुति दिने
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित