कोसेलीको ३१ औं वार्षिकोत्सव लन्डनमा भव्य


लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले आफ्नो ३१ औं वार्षिकोत्सव लन्डन ग्रीनफोर्डमा भव्य समारोहबीच मनाएको छ । ग्रीनफोर्ड टाउनहलमा आयोजित समारोहमा ५ सय बढि सहभागी भए ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत बसे पनि नेपाली भाषा, साहित्य, कला – संस्कृति, चाडपर्व, भेषभुषा, रहनसहन र सभ्यता नेपालीले बिर्सेका छैनन् भन्ने प्रमाण कोसेलीले दिएको बताए । राजदूतले बेलायतवासी नेपालीले नेपालीपन र नेपालीमनको दियो बालिरहेका जनाउंदै यो दियो एकतावद्ध भएर सधैं बालिरहन आग्रह गरे ।

कार्यक्रमकी सभापति एवं कोसेली अध्यक्ष शर्मिला सिंहले विदेशी भूमिमा रहेर पनि नेपाली कला, संस्कृति र भाषा जगेर्ना गर्न संस्था अग्रसर भइरहेको बताइन् । सिंहले विशेष गरि 
नयां सन्ततिलाई मातृभाषा सिकाउन र नेपाली कला संस्कृतिबारे जानकार बनाउन संस्था प्रयासरत रहेको उल्लेख गरिन् ।

बेलायतमा तीन दशक बढि समयदेखि नेपाली कला संस्कृति तथा भाषा जगेर्नामा संस्था अग्रसर छ ।

कोसेलीका महासचिव खेमकाजी गौतमले सञ्चालन गरेको औपचारिक कार्यक्रममा विशेष अतिथीहरु इलिङ काउन्सिलका काउन्सिलर शरण शर्मा र व्यवसायी तथा समाजसेवी महन्त श्रेष्ठले पनि शुभकामना मन्तव्य दिंदै कोसेलीको 
अनवरत सामाजिक कार्यको प्रशंसा गरे ।

कार्यक्रममा लामो भाषण र खादा थिएन बरु सांस्कृतिक प्रस्तुति उल्लेख्य थियो । दर्जनौं कलाकारले १७ वटा आइटम ननस्टप प्रस्तुत गरे, त्यो पनि निर्धारित समय १० बजे अघि नै । अंग्रेजी समयमा शुरु गरेर निर्धारित समय भन्दा अगाडि नै कार्यक्रम समापन गर्ने कोसेली थोरैमध्ये एक संस्था हो ।

शशी थापा सुब्बाले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रम अन्तर्गत यो नेपाली शीर उचाली… गीतमा आकृति, अनुज, गौरव, गृष्मा, जुनी, निस्का, ओजल, रिमा, समृद्धि, सान र सिद्धार्थले सामूहिक नृत्य गरे । दोश्रो आइटम थियो सय थरि बाजा… बोलको गीत प्रस्तुति । गायिका सितु खरेलको मुख्य गायनमा उपासना, पुनम, अन्जु र शर्मिलाले संयुक्त गाए उक्त गीत । प्रमोद शर्मा र सितु खरेलको अर्को गीत नमान लाज…गीत पनि दर्शकले रुचाए ।

कार्यक्रममा अन्जु श्रेष्ठले फुलै फुलको, राज तामाङले कहिलेकाहीं, सुलभ लोहनीले आंगनै भरि, खेमकाजी गौतमले हरियो डलर, निश्चल दाहालले सुन साईंली… र प्रिसा पाठकले म चाहिं नेपाली… बोलको गीत गाए ।

कल्पना, भावना, अर्चना, दुर्गा, कृतिका, प्रिसा, रश्मी, सुजाता, उर्भी लगायतको कत्थक नृत्य पनि आकर्षक थियो । हिमालको काखैमा…बोलको गीतमा आकृति, गृष्मा, जुनी, निस्का, प्राची, प्रकृति, प्राप्ति, राजश्वी, रसिका, रिमा, समृद्धि बस्नेत, समृद्धि थापा, सन्जिवनी र सुविज्ञाले नृत्य प्रस्तुत गरेका थिए ।

त्यसैगरि, अनुज, गौरव, सान र सिद्धार्थले यो मेरो टोपी… गीतमा नाचे । हिजो राती सपनीमा… गीतमा अर्चना, कृतिका, मनिषा, प्रिसा र उर्भीले नृत्य प्रस्तुत गरे । रातो रातो गाला…मा निश्चल, रुबी, शंकर र सृजनाले नाच देखाए । सृजना र समिरको मिठो सारहै मिठो, ओ निर, ड्यांग डुंग गीतमा नृत्य गरेका थिए ।

तस्विरः शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री