काठमाडौँ, १२ साउन । व्यवस्थापिका–संसद्का गतिविधिलाई सहज तवरले आम नागरिकमा पुरयाउने लक्ष्यका साथ संसद् सचिवालयले आजदेखि ‘व्यवस्थापिका–संसद् नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
यस्तै www.parliament.gov.np नयाँ वेबसाइट पनि आजैदेखि सञ्चालनमा आएको छ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज मोबाइल एप र वेबसाइटको शुभारम्भ गर्नुभयो ।
मोबाइल एप प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । एप डाउनलोड गरेपछि संसारको जुनसुकै स्थानबाट पनि सांसदलाई प्रश्न गर्न सकिनेछ । यस्तै अन्य विषयमा पनि सूचना लिन र संसदीय गतिविधिका बारेमा जानकारी लिनसमेत एप प्रभावकारी हुने संसद् सचिवालयले विश्वास लिएको छ ।
संसद् सचिवालयले यसअघि संसद्को गतिविधिलाई यु ट्युबाट प्रत्यक्ष प्रसारण गर्ने कार्य सुरु गरिसकेको छ ।
सभामुख घर्तीले संसद्का गतिविधिलाई कागजविहीन बनाउने लक्ष्यका साथ सूचना प्रविधिको अधिकतम उपयोग गर्ने नीति लिएको बताउनुभयो ।
संसद् सचिवालयले प्रत्येक सांसदलाई एक-एक वटा आइडी उपलब्ध गराउने र सोही आइडीमार्फत जनतासँग संवाद गर्नसक्ने व्यवस्था मिलाइएको सो अवसरमा जानकारी दिइयो ।
जननिर्वाचित संस्थालाई बढी भन्दाबढी पारदर्शी बनाउने, जनतासँग प्रत्यक्ष संवाद गराउने र सम्पर्कको माध्यमलाई क्रमशः विस्तार गर्दै लाने लक्ष्यका साथ अगाडि बढिरहेको सभामुख घर्तीले बताउनुभयो ।
उहाँले भन्नुभयो–’सांसदलाई पनि प्रविधिमैत्री बनाउन र त्यसको अधिकतम् उपयोग गर्ने लक्ष्यका साथ नयाँ मोबाइल एप र वेबसाइट सञ्चालनमा ल्याइएको छ ।’
सभामुख घर्तीले जनताको माग र गुनासो सुन्न तथा सरकारलाई समस्या समाधानका लागि सचेत गराउनसमेत यस्तो संयन्त्र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ एप र वेबसाइटमा संसद्का गतिविधिका अतिरिक्त संसदीय समितिका गतिविधि र नयाँ विधेयक पनि सहजैरुपमा हेर्न पाइने व्यवस्था गरिएको छ ।
उहाँले नेपालको संविधानको व्यवस्थाअनुसार आगामी माघ ७ गतेभित्र प्रदेश र संघीय संसद्को निर्वाचन गर्नैपर्ने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
सभामुख घर्तीले संसद्को यही कार्यकालमा संसद्को नयाँ भवन बन्ने सम्भावना नरहे पनि आगामी दिनमा व्यवस्थित र प्रविधिमैत्री संसद् भवनसमेत बन्ने अपेक्षा गर्नुभयो ।
‘संसद्को आफ्नै भवन नभएकाले भाडामा बस्नुपरेको छ’, उहाँले भन्नुभयो, ‘संसद्को आफ्नै भवन होस्, आफ्नै टेलिभिजन च्यानल होस्, सांसदलाई आवास सुविधा होस्, हाम्रो त्यो चाहना पूरा गर्ने पहल पनि भइरहेको छ ।’
सो अवसरमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत उच्च अधिकारीको सहभागिता थियो ।