काठमाडौँ, ९ साउन । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न धारामा विभक्त माओवादी समूहलाई एकतामा ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘जनताले पनि माओवादी मिल भन्ने जनादेश दिएका छन् । माओवादी आन्दोलनको मूल प्रवाह माओवादी केन्द्र नै भएको पुष्टि भएको छ । अब एकता गर्नुको विकल्प छैन ।’
उहाँले पुनःपार्टी एकतामा आउन मोहन वैद्य, नेत्रविक्रम चन्द र डा बाबुराम भट्टराईलाई आग्रह गर्नुभयो । माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकताका लागि विशेष प्रस्तावसमेत पारित गरेको छ । अध्यक्ष दाहालले भन्नुभयो, ‘अब छुट्टाछुट्टै बसेर जनता र राष्ट्रको चाहना पूरा हुन सक्दैन र क्रान्तिको उपलब्धिको समेत रक्षा हुन सक्दैन । आउनुस्, एउटै पार्टीमा बसेर नमिलेका कुरा मिलाउँला, एकता आजको प्रमुख आवश्यकता हो ।’ उहाँले केही समयभित्रै एकता प्रक्रियाले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
संस्थापक नेता कर्माचार्यप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गर्ने हो भने सच्चा क्रान्तिकारी मिल्नाको विकल्प नभएको उहाँको कथन थियो । उहाँले सबै शक्तिका बीचमा एकता गरेर जनतातिर फर्कने हो भने माओवादी पुनः पहिलो शक्तिका रुपमा स्थापित गर्न सकिने उहाँको दृढता थियो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘मेहनत गर्ने क्रान्तिकारी कार्यकर्ता पंक्ति छ, विगतमा हामी बिग्रिएका हाँै । केही सुधार गरेर जनपक्षीय एजेण्डाका साथ जाने हो भने हामी पुनःसफल हुन सक्छौँ ।’ ‘उज्यालो नेपाल अभियान’ मार्फत जनतामा परेको सकारात्मक प्रवाहले माओवादीले मात्रै मुलुकको आर्थिक समृद्धि गर्न सक्छ भन्ने स्पष्ट भएको अध्यक्ष दाहालको भनाइ थियो ।
आफ्नो नेतृत्वको सरकारले आर्थिक वृद्धि दर सात प्रतिशतको हाराहारीमा पुगेको, चीन र भारतसँगको सम्बन्ध नयाँस्तरमा विकास भएको, संविधान कार्यान्वयनले गति लिएको, मुलुक राजनीतिक स्थिरताको चरणमा प्रवेश गरेकाले जनतामा नयाँ विश्वास पैदा भएको उहाँले जिकिर गर्नुभयो । फरक एक प्रसंगमा उहाँले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनपछि अन्धराष्ट्रवादको बोलवाला बढेको तर त्यसले मुलुकको हित नगर्ने स्पष्ट पार्नुभयो ।
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता