काठमाडौँ, ९ साउन । चितवनको भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ आज पनि नसकिएपछि साउन १२ गते बिहिबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो ।
निर्वाचन आयोगकोतर्फबाट महान्यायधिवक्ता रमण श्रेष्ठ, उपमहान्यायधिवक्ता घनश्याम ओझा, सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीलगायतले मुद्दाको विपक्षबाट बहस गर्दै पुनःनिर्वाचन गराउनुपर्ने तर्क प्रस्तुत गर्नुभएको थियो ।
निवेदकका पक्षबाट आइतबार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र हरि उप्रेती, अधिवक्ता हरि फुयाँल, बाबुराम दाहाल, डा चन्द्रकान्त ज्ञवाली, विजयकान्त मैनाली, गोविन्द बन्दी, ईश्वरीप्रसाद भट्टराई र खिमलाल देवकोटाले निर्वाचन आयोगका् प्रतिवेदनमा त्रुटि रहेको भन्दै च्यातिए ९० मतपत्रलाई बदर गरेर पुनः मतगणना गर्नुपर्ने तर्क प्रस्तुत गर्नुभएको थियो ।
निर्वाचन आयोगको कानुनको दफा ५१ (ग) ले च्यातिएको मतपत्रलाई बदर हुने व्यवस्था गरेको छ । सोही अनुसार च्यातिएका ९० मतलाई बदर गर्नुपर्ने तर्क उनीहरुले प्रस्तुत गरेका थिए ।
यसअघि यही साउन २ गते आजका लागि सारिएको थियो । भरतपुर मतगणनासम्बन्धी विवाद आजसम्म आइपुग्दा छैटौँ पटक सुनुवाइ भएको हो ।
यसअघि गत असार २६ गते सुनुवाइका लागि इजलास तोकिए पनि सुनुवाइ हुन नसकी सुनुवाइ साउन २ का लागि तोकिएको थियो । त्यसअघि गत असार २३ गते सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा सुनुवाइ शुरु भए पनि नभ्याएर असार २६ गते पेसी तोकिएको थियो ।
त्यसअघि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो । सोहीअनुसार अदालतमा च्यातिएका मतपत्रसहित अरू कागजपत्र गत असार १३ गते अदालतमा पेश गरिएको थियो ।
मतगणना अन्तिममा पुगेका बेला माओवादी केन्द्रका कार्यकर्ताले ९० मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नं १९ मा पुनःमतदान गर्ने निर्णय गरेको थियो । सो निर्णयका विरुद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नं १९ का नेकपा (एमाले)का उम्मेदवार गुञ्जमान विकले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । मतगणनामा भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रका रेणु दाहालबीच तीव्र प्रतिस्पर्धा थियो ।
रिट निवेदन माथिको पहिलो चरणको सुनुवाइमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा