राप्रपाभित्रको विवाद यथावत, मिलाउने प्रयास जारी

फाइल तस्विर

काठमाडौँ, ३ साउन । आन्तरिक विवाद मिल्न नसक्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि हुने केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्ष सहभागी नहुने स्थिति देखा परेको छ ।

पछिल्लोपटक पार्टी अध्यक्ष कमल थापाले ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेपछि विवाद चुलिएको हो । असन्तुष्ट पक्षको नेतृत्व गर्दै आउनुभएका वरिष्ठ नेता पशुपति शम्शेर राणाले सो निर्णय सच्चाउन माग गर्नुभएको तर त्यसलाई संस्थापन पक्षले नकारिदिएपछि विवाद बल्झिएको हो ।

नेता राणाले पार्टीमा आफूसँग परामर्श नगरी अध्यक्ष थापाले एकतर्फी रुपमा गरेको निर्णयले पार्टीलाई निरंकुश बनाउने बताउनुहुन्छ । संगठनलाई प्रजातान्त्रिक बनाउन आफ्नो पक्षले भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । पार्टी नेतृत्वले गलत निर्णयलाई नसच्चाएमा केन्द्रीय कार्यसमितिको बैठकमा आफू सहभागी हुन नसक्ने उहाँ बताउनुहुन्छ ।

पार्टीमा १६३ केन्द्रीय सदस्यको व्यवस्था गरिएकामा अहिलेसम्म चुनाव र मनोनयनमार्फत १५२ सदस्य पद पूर्ति गरिएको छ । पार्टीमा रिक्त रहेको ११ केन्द्रीय सदस्य भने असन्तुष्ट पक्षको सिफारिशमा मनोनयन गर्ने सम्भावना रहेको भए पनि असन्तुष्ट पक्षले त्यसलाई नकारेपछि नेतृत्व वर्गलाई चुनौती थपिएको हो ।

संस्थापन तथा असन्तुष्ट दुवै पक्ष आ–आफ्ना अडानबाट टसमस नभएपछि विवाद उत्कर्षतर्फ जाने खतरा बढेको छ । संस्थापन पक्षका अनुसार असन्तुष्ट पक्षले पार्टीले लिएका वैचारिक सिद्धान्तमा खासै फरक मत राखेको छैनन् तर चुनाव चिह्न गाईलाई परिवर्तन गरी हलो राख्नुपर्ने कुरा मात्र उठाएका छन् । संविधान संशोधनका विषयमा दुवै पक्ष मतैक्यता देखिएपनि सरकारमा सहभागी हुने विषयमा मतभेद कायमै छ । स्थानीय तहका छ प्रदेशमा भएका चुनावमा अपेक्षाकृत परिणाम प्राप्त गर्न नसकेपछि पार्टी नेतृत्वमाथि प्रश्न उठेको छ ।

आन्तरिक समस्यालाई समाधान गर्न विभिन्न तहमा छलफल जारी छ । त्यसका लागि पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द तथा वरिष्ठ नेता राणाका बीच पनि वार्ता भएको छ । केन्द्रीय कार्यसमितिको बैठकअगावै विवाद सुल्झाउन पार्टीको विभिन्न तहमा बैठक बसिरहेको र दुवै पक्षलाई मिलाएर बैठकमा सहभागी गराउन मध्यममार्गी नेताले प्रयास गरिरहेको पार्टी प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

केन्द्रीय समितिको बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यलाई समेत बोलाइएको छ । पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी अहिले १५२ सदस्य रहेकामा अब पूर्व नेतालाई सहभागी गराउँदा करिब २०० जना थपिन सक्ने अनुमान गरिएको छ ।

देशभरका नेता तथा कार्यकर्ता पार्टी एकताबद्ध भई बाँकी निर्वाचनमा सहभागी होस् र कुनै पनि हालतमा पार्टी नटुटोस् भन्ने हो भन्नुहुन्छ नेता किरण गिरीले बताउनुभयो । दुवै पक्षका त्रुटिको समीक्षा गरी नयाँ समझदारी कायम गराउन समय थोरै छ । पार्टीले सरकारमा सहभागिता जनाउने विषयमा बैठकमा सहभागी नेताले गम्भीरतापूर्वक छलफल गर्ने भएकाले यो बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा सहभागी हुन देशभरबाट नेताहरुको काठमाडौँ आउने क्रम शुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री