बेलायती विश्वविद्यालयको आकर्षण घट्दै

लन्डन । बेलायती विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिने विद्यार्थी संख्या घटेको छ । गत वर्षको तुलनामा यसपटक २५ हजार आवेदन (४ प्रतिशत) घटेको भर्ना लिने एउटा निकाय यूकासको तथ्यांकले देखाएको हो ।

बेलायतमा नर्सिङ पढ्न आउने विद्यार्थीको दर १९ प्रतिशतले घटेको 
छ । इंग्ल्याण्डमा सन् २०१२ मा विश्वविद्यालयको शुल्क बढाइएपछि पहिलोपटक यसरी विद्यार्थीका आवेदन घटेको बीबीसीले जनाएको छ । यसैवर्षदेखि इंग्ल्याण्डमा शुल्क बढाएर वार्षिक ९ हजार २ सय ५० पाउण्ड पुरयाइंदैछ भने आउंदो अटम सिजनबाट विद्यार्थीले लिएका ऋणको ब्याज ४ दशमलव ६ प्रतिशतबाट ६ दशमलव १ प्रतिशत वृद्धि गर्ने तयारी छ । युरोपेली युनियन (ईयू) देशबाट अध्ययनका लागि आउने विद्यार्थी पनि ५ प्रतिशतले घटेका छन् ।

यूकासको तथ्यांकमा बेलायतका चार राज्यमध्ये इंग्ल्याण्डमा गत वर्षको तुलनामा ५ प्रतिशत कम (४ लाख ३७ हजार ८६० आवेदन), स्कटल्याण्डमा १ प्रतिशत थोरै (४८ हजार ९४०), वेल्समा ५ प्रतिशत कम (२२ हजार ५३०) र उत्तरी आयरल्याण्डमा ४ प्रतिशत न्यून (२० हजार २९० आवेदन) परेको छ । यद्यपि, युरोपेली युनियन देशबाहेकका ओभरसिज विद्यार्थीको संख्या भने दुई प्रतिशतले बढेको देखिएको छ ।

विश्वविद्यालय विज्ञहरुले आवेदन घट्नुका पछाडि केही कारण औंल्याएका छन् । उनीहरुका भनाइमा बेलायत युरोपियन युनियन (ईयू) बाट छुट्टिने प्रक्रियामा रहनु, शुल्क वृद्धि र ट्रेनी नर्स अनि मिडवाइफहरुको फण्डिङमा परिवर्तन गरिनु आदि प्रमुख कारक हुन् । यही अगष्ट १ बाट नर्सिङ, मिडवाइफ्री र स्वास्थ्य विषयका नयां विद्यार्थीले एनएचएस ग्रान्ट नपाउने भएका छन् । बरु उनीहरुले अन्य विद्यार्थी जस्तै ऋण लिन भने सक्ने बताइएको छ ।

यूनिभर्सिटीज् यूकेकी अध्यक्ष डेमी जुलिया गुडफेलोले विश्वविद्यालयहरुले यसमा सम्वोधन गर्नुपर्ने विषय पहिचान गरेको बताइन् । उनले युरोपेली विद्यार्थीलाई स्वागत गर्दै बेलायती शिक्षा प्रणालीको महत्व बुझाउन जरुरी रहेको समेत बताइन् ।

२४ वटा बेलायती विश्वविद्यालयलाई प्रतिनिधित्व गर्ने रसेल ग्रुपको हेड अफ पोलिसी सारा स्टेभेन्सका भनाइमा ब्रेक्जिट (बेलायत ईयूबाट बहिर्गमन) को अन्योलका कारण विद्यार्थी घटेका हुन् भने त्यो चासोको विषय छ । यद्यपि, अन्तर्राष्ट्रिय विद्यार्थी संख्या थोरै भएपनि बढ्नु उनका दृष्टिकोणमा सकारात्मक पक्ष हो । ‘अन्तर्राष्ट्रिय विद्यार्थीले हाम्रा कलेजहरुमा सामाजिक तथा सांस्कृतिक विविधता ल्याएका छन् र यसबाट सबै विद्यार्थी लाभान्वित छन्’, साराले भनिन्, ‘ति विद्यार्थीले बेलायतको अर्थतन्त्रमा समेत २५ दशमलव ८ बिलियन पाउण्ड योगदान गरेका छन् ।’

मिलियन प्लसका प्रमुख कार्यकारी पाम टयाटलोले नयां 
तथ्यांक सुःखद संकेत नभएको बताए । उनले ब्रेक्जिटमा बेलायत सरकारको भूमिकाले बर्बादी र बेलायती विश्वविद्यालय तथा 
युरोपियन विद्यार्थी दुबैमा अन्योल थपेको दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री